यस निर्वाचनमा पनि झापाका उम्मेदवारले हात्ती समस्या समाधान मुद्दा बनाउने भए

भद्रपुर । मंसीर ४ को निर्वाचनमा एउटा मुख्य मुद्दा बन्दै गएको हात्ती समस्या झापा क्षेत्र नम्वर १, २ र ३ का बासिन्दाका लागि मूल समस्याका रूमा देखिएको छ ।

केही वर्षयता हात्ती मानव द्वन्द्व तीव्र हुँदै गएका यी क्षेत्रका अधिकाम्स बस्तीमा हात्ती उपद्रो त्यहाँका बासिन्दाको नियतिझैं बनेपछि निर्वाचनका बेला समस्या हल होला कि भनेर मतदाताले नै मुख्य मुद्दाका रूपमा हात्ती समस्या उठान गर्न थालेका हुन् ।

निर्वाचनका लागि जनमत बटुल्न गाउँ गाउँ पुगेका उम्मेदवारसित मतदाताले हात्ती समस्या कसरी हल गर्ने ? भन्दै धारणा समेत मागिरहेका छन् ।

पूर्वी काँकडभिट्टाबाट उत्तरी नाका नकलबन्दा र त्यसमास्तिरका बाहुनडाँगी, आलडाँगी, भोर्लेनीलगायत झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिकाको उपल्लो भेगका बासिन्दाका निम्ति जंगली हात्तीको समस्या आजीवन जस्तै बनेको छ । त्यसैगरी दक्षिणमा ज्यामिरगढी, दुवागढी, धाइजन, चन्द्रगढी पनि झापा १ को हात्ती प्रताडित क्षेत्रमा पर्दछन् ।

त्यस्तै झापा २ अन्र्तगत साविका खुदुनावारी, बुधवारे, शनिश्चरे, अर्जुनधारा, गरामनीका ग्रामिण बस्ती हात्ती प्रताडित क्षेत्र हुन् । यी क्षेत्रमा पूर्वी उत्तरी झापामा भारतीय नक्सालवाडी क्षेत्रबाट प्रवेश गरेका फिरङ्गे हात्तीका कारण नै समस्या सिर्जना भइरहेको छ ।

यसैगरी झापा क्षेत्र नम्वर ३ मा पनि पछिल्लो १० वर्षयता वर्षैभरी कुनै न कुनै रूपमा हात्तीको उपद्रो भोग्नु पर्ने बाध्यता बढ्दो रूपमा छ । यस क्षेत्रमा फिरङ्गे हात्तीको हुल भन्दा रैथाने हात्तीको समूह नै बढी सकृय देखिने गरेको छ । यसक्षेत्रमा साविकका महेशपुर, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी पथरिया, घेरावारी, राजगढ बढी मात्रामा हात्तीको उपद्रोमा परेर समस्या भोग्नु पर्ने स्थानमा पर्दछन् । अधिकाम्स कृषि क्षेत्र भएकै कारण आहाराका लागि हात्तीले अन्न बाली फलेको समयमा बढी मात्रामा आक्रमण गर्ने गरेको छ ।

पहिले पहिले झापामा निरङ्कुशताका बिरूद्ध क्रान्तिकारी योद्धा पस्ने गाउँ गाउँको बाटोबाट अहिले हूलका हूल हात्ती आउने गरेका दृष्यले हात्ती प्रभावित बस्तीका मानिसहरू भोक र निन्द्रा हराउँदै घरमा बस्न पाउँदैनन् । साँझ पर्नासाथ तैनाथमा रहँदा समेत हात्तीका कारण मान्छे मर्ने दुर्घटना र क्षति रोकिएको छैन । डिभिजन वन कार्यालयको विवरण अनुसार हालसम्म झापामा हात्तीबाट मारिएका ५५ जनाको आर्थिक अवस्था हेर्दा अधिकांश निमुखा तथा विपन्न समुदाय नै परेको पाइन्छ ।

बाहिरबाट आहाराकै लागि हूलमा आउने हात्तीले बालीनाली खाइदिएर तहसनहस पार्छन् भने केही रैथाने हात्ती पनि रहेको झापामा घरभित्र पसेर अन्नपात राखेको ठाउँसम्म पुगेर खाइ दिने काम ती रैथाने हात्तीबाटै बढी हुनेगरेको स्थानीयको अनुभव छ । घरमा जाँड–रक्सी बनाउने गरेको छ भने त हात्तीका निम्ति त्यो प्रिय पदार्थ हुनेगरेको छ । हात्ती–प्रकोपको सामना कसरी गर्ने ? विषयमा एउटै विचार लिएर कोही पनि विज्ञ आउन सकेका छैनन्  । एकथरी हात्तीसँग प्रतिशोध लिनुपर्ने ठान्छन्, अर्कोथरी सहअस्तित्वका उपाय खोज्नुपर्ने मत राख्छन् । झापामा एकिन विवरण नभए पनि २०५१–५२ सालतिरबाट हात्तीको प्रकोप तीव्र गतिमा बढ्न थालेको हो । यसको रफ्तार २०६४–६५ बाट स्थिति नियन्त्रण बाहिर जाने को कि भन्ने अवस्थामा पुगेको छ ।

हात्तीको आक्रमण बढेपछि गाउँलेहरूमा हात्तीसित वैमनस्य उत्पन्न हुँदा हात्ती देख्नासाथ पिट्ने, खेदाउने, सके मार्न खोज्ने प्रवृत्ति बढ्दो छ ।

पूर्वी उत्तरी क्षेत्रका लागि विश्व बैंकले हात्तीलाई रोक्न मेचीको सीमा क्षेत्रमा तारबार लगाउन सघायो । तारबारको सोच स्थानीयस्तरमै जन्मेको भए पनि विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले १७.१४ किमि तारबार लगाउने कार्य २०७२ सालमा पूरा गरो । जो मेचीनगर–६ देखि इलामको रोङ गाउँपालिकासम्म फैलिएको तारबारका पोल र तार भारतपट्टि ढल्काएर निर्माण गरिएको छ, ताकि हात्ती उताबाट आउन नसकून्, यताबाट चाहिँ सजिलै नाघेर जान सकून् । सुरुवाती वर्षहरूमा फेन्सिङले राम्रै काम गरेको थियो । हूलमा हात्ती आउने क्रम घट्यो पनि, तापनि रैथाने हात्तीचाहिँ छिर्दै थिए तर, यस वर्षबाट सयौं हात्तीहरू उत्तरी झापा भित्रिएपछि त्यहाँको तारबारले अब काम नगर्नेजस्तो देखिन थालेको छ । मान्छे र हात्ती दुवै बाँच्ने सहअस्तित्वकै उपायहरू नखोजिएको कारण यस्तो भएको हो कि भन्ने प्रश्न पनि उठेको छ ।

यस्तै पूर्वी दक्षिणी क्षेत्रको हात्ती नियन्त्रणका लागि वि सं २०७४ को निर्वाचन अगाडि नै तत्कालिन सरकारले हात्ती आतङ्क नियन्त्रण गर्न जैविक मार्ग निर्माण तथा विद्युतीय तारबार बनाउने योजना सहित ८ करोड ९० लाख रुपैयाको कार्योजना तयार पारेर चारआलीदेखि जलथलसम्म हात्ती हिड्ने जैविक मार्ग देउनिया खोलाको आडबाट बन्ने गरी सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य उर्जाको विद्युतीय तारवार निर्माण हुने छ । ९ किलोमिटर जैविक मार्गका रुपमा रहने चारआली जलथल वन क्षेत्रलाई जोड्ने ७५ किलो मिटर तार बारको घेराबारा रहने गरी चौतर्फी घेराबाराको तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालिन समाधान हुने कार्य योजनाको लक्ष्य राखेर काम अगाडि बढाइएको थियो । तर जलथल वनमा केही काम भए पनि त्यस उत्तर काम नहुँदा समस्या जस्ताकोत्यस्तै छन् । योजना ल्याउने तत्कालिन काँग्रे सांसद कृष्णप्रसाद सिटौलाले सो निर्वाचनमा पराजय भोग्नु परेपछि विजयी सांसद राजेन्द्र लिङ्देनले हात्ती नियन्त्रणको कामको जिम्मेवारी नलिएपछि समस्या समाधान हुन सकेको छैन ।

समस्याका रूपमा बढ्दो हात्ती उपद्रो नियन्त्रण यस निर्वाचनमा पनि झापाली नेताले मुद्दा बनाउन पाउँने भए पनि समस्या हलचाँहि कहिले हुने हो ? पीडितका पीडा छट्पटाइरहेका छन् ।