स्थानीय तह निर्वाचनको सन्देश घमण्ड त्यागेर आफ्नो ठाउँ बनाऊ
भद्रपुर । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक भइरहादा प्रमुख ३ दल नै जनताका अभिभावक भएको प्रष्ट देखिन्छ । पहिलो स्थानीय तह निर्वाचनमा पहिलो दल र बहुमत जुटाउने कार्यपालिकाको बलियो नेतृत्व पाएको नेकपा एमाले यस पटक विगत भन्दा निकै तल झरेको अवस्था छ । ५ वर्षे अवधिमा यस दलबाट निर्वाचन जितेर प्रभाव जमाइएका अधिकाम्स स्थानीय तह यस पटक गुमेको अवस्था छ । त्यस्तै अघिल्लो निर्वाचनमा दोश्रो दलका रूपमा रहेको नेपाली काँग्रेस यस पटक पहिलो दल बन्न सफल भएको छ । यस दलबाट विगतमा स्थानीय तह जित्ने धेरै उम्मेदवारले यस पटक दोहोरिदा हारेको घटनाले कार्य सम्पादनमा काँग्रेसका नेता पनि चुकेको प्रष्ट देखिएको छ । विगतमा नेतृत्व पाएर जनचाहना अनुसार काम गर्न नसकेको परिणाम यस पटकको निर्वाचनमा मतदाताले देखाइ दिएका हुन् । त्यस्तै नेकपा माओवादी विगत र यस निर्वाचनमा तेस्रो दल बन्न सकेको छ । समग्र परिणाममा माओवादीले विजयी स्थान बढाएको देखिन्छ तर विगतमा जीत निकालेका धेरै स्थानमा यस पार्टीले पनि पराजय भोग्नु परेको घटनाले दलका नेता जनताबाट पाएको अवसर सही सदुपयोग गर्दा रहेनछन् भन्ने सत्य उजागर गरिदिएको छ । यस निर्वाचन परिणामले मधेशवादी दललाई खुम्च्याइ दिएको छ भने जात, धर्म र सम्प्रदाय विशेष राजनीति गर्ने दलहरूलाई मतदाताले बन्देज गर्ने प्रयास गरेको देखिन्छ । अझ स्पष्ट भाषमा भन्ने हो भने यस निर्वाचन मार्फत नेपाली मतदाताले देश र जनताको भलाई सोचेर विकासको गतिमा सवै दल समान सोचका साथ अगाडि बढ्न अभिमत प्रदान गरिएको छ । ठूलो दल या सानु दल भनेर घमण्ड पाल्ने होइन जनताबाट प्राप्त सदभाव जोगाएर निष्पक्ष कार्य सम्पादन गर्न सक्नु आजको आवश्यकता हो ।
स्थानीय सरकारको नेतृत्व लिएका जनप्रतिनिधिहरूले आफूले सेवा प्रवाह गर्ने कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरी कार्यालयबाट सम्पादन भएका सेवा र कार्यहरूको सम्बन्धमा नागरिक एवम् सेवाग्राहीहरूबाट पृष्ठपोषण लिने प्रणालीलाई संस्थागत विकासको वातावरण निर्माण गर्नुृ पर्दछ । गम्भीर प्रकृतिका रोगहरू लागेका बिरामीका लागि उपचारमा सहजताका लागि प्रदेश र संघीय सरकारसित समन्वय गरी निशुल्क उपचारको वातावरण निर्माण गरिदिनु पर्दछ । बालबालिका, जेष्ठ नागरिक, अशाह्य नागरिकको सुरक्षाका लागि नीतिगत व्यवस्था निर्माण हुनु पर्दछ । शासक होइन सेवक हुँ भन्ने भावना पालेर नागरिकमैत्री शासनको वातारण निर्मित हुनु पर्दछ अनि मात्र संघीय राज्य व्यवस्थाको अनुभूति नागरिक स्तरमा आइपुग्छ । विगतमा निर्वाचन जितेर स्थानीय सरकार हाँक्नेहरूले नागरिकका सामान्य अपेक्षा समेत पूरा गर्न नसक्दा यस पटक हार व्यहोर्नु परेको सत्य बिर्सनु हुँदैन । निर्वाचनमा हार जीत भयो होला तर सेवा प्रवाहमा दलका प्रतिनिधिहरूले विभेद र अहम देखाउने वातावरण रहनु हुँदैन । हार्नेले जित्नेलाई र जित्नेले हार्नेलाई दुस्मन मानेर स्थानीय तहको समृद्धिमा बाधा सिर्जना गर्नु हुँदैन । सवै दलको साझा अवधारणा नै स्थानीय तहको समृद्धि हो । हिजो जितेका दल आज हारेका हुन सक्छन् भने हिजो हारेका दलले आज जितेका पनि हुन सक्छन् तर हार्नेले आफू कमजोर भएको स्वीकार गर्नु पर्दछ भने जित्नेले विकल्पमा आएको सोचेर अझ राम्रो सेवा प्रवाहमा लाग्नु पर्दछ । अहम वा घमण्ड पालेर जनमतको अपमान गरे आउने दिनमा फेरि मतदाताले धुलो चटाउने छन् भन्ने सत्य बिर्सनु हुँदैन । यसैले यस निर्वाचनको सन्देश सवै विजेतालाई घमण्ड त्यागेर आफ्नो ठाउँ बनाऊ ।