नाचगानलाई होइन नीति र कार्यक्रमलाई भोट दिनु पर्छ है

विचारको राजनीति शून्य हुँदै गएको हो कि भन्ने आभाष स्थानीय तहका उम्मेदवारहरूको घरदैलोले सावित गर्दै छ । मतदाताका घर आँगन पुगेका अधिकाम्स उम्मेदवार गीतको भाकामा नाच देखाएर फर्किरहेका छन् । संघीयतामा नागरिकको पहिलो र दरिलो भरोषा बोक्ने सरकार भनेको स्थानीय सरकार हो । यसको नेतृत्व दावी गर्ने दल तथा उम्मेदवारसित समृद्धिको खाका सहित वैचारिक धारणाहरू हुनु पर्ने हो तर चुनावी मैदानमा रहेका दल तथा स्वतन्त्र उम्मेदवारहरूले विचारलाई बिर्सिएर खेलवाड शैलीमा तमासाका रूपमा नाच देखाइरहेका छन् ।

भोट माग्दै नाच देखाउनेहरूले नेतृत्व लिएपछि सरकारका रूपमा अभिभावक भएर समृद्धिका बाटाहरू कसरी निर्माण गर्लान ? नागरिकका इच्छा चाहना बिर्सिएर सत्ता रोहणलाई मोजमस्ती बनाउन नौटंकीवाला नेतृत्व लागेमा हाम्रो ५ वर्षे समयावधि त्यसै खेर जाने छ । समृद्ध स्थानीय सरकारको सपना खेर गएमा दल होइन हामी मतदाता नै दोषी बन्नु पर्ने छ । मतदान गर्नु अगाडि ३ पटक सोचौं विचार र नीति कार्यक्रम नभएका बाजागाजामा विश्वास गर्ने दल तथा उम्मेदवार स्थानीय सरकारको नेतृत्वका लागि आवश्यक छैनन् । जसले नीति र सिद्धान्तलाई चुनावी मुद्धा बनाएको छ त्यसले स्थानीय सरकारलाई सहि गतिमा लैजान सक्छ ।

विज्ञापन र बाजागाजा घन्काएर आसेपासे अगाडि पछाडि लैजादैमा स्थानीय सरकारलाई सवल बनाउन सक्ने क्षमता हुँदैन । झापा जस्तो चेतनशील जिल्लाका पालिकाहरूमा नेतृत्व गर्न दावी गर्ने दल तथा उम्मेदवारहरूले मानव संसाधन विकास, प्रविधिको उपयोग, प्राकृतिक श्रोत परिचालनमा वैज्ञानिकता, रोजगारी सिर्जनामा कृषि तथा घरेलु उद्योगको परिचालन, शिक्षा, स्वास्थ्य, पिउने पानी जस्ता आधारभूत आवश्यकतामा सहज पहुँच, ग्रामीण जीवन स्तर उकास्न सडक सञ्जालको विकास, विस्तार र स्तरीकरणका लागि विस्तृत अध्ययन सहित श्रोत निर्माण र परिचालन गर्न सक्ने नीति तथा कार्यक्रम लिएर मतदाताका घरदैलोमा पुग्नु पर्ने अधिकाम्स उम्मेदवार भड्किलो गीत संगीतका साहारा लिएर घुमिरहेको अवस्था छ ।

कतीपय उम्मेदवारहरू जात, धर्म र रङका कुरा गरेर आफ्नो उम्मेदवारी अनुमोदनको प्रयास गरिरहेका छन् । यी र यस्ता खाले प्रचारवाजीमाथि सचेत मतदाताले विश्वास गर्नु हुँदैन । स्थानीय सरकार कुनै जात, धर्म, रङ वा संप्रदायको प्यावा स्थाल होइन । सवै, जात, वर्ग, धर्म र संप्रदायको साझा घर नै स्थानीय सरकारको परिचय बन्न सक्ने उम्मेदवार छान्न चुक्नु हुँदैन ।

हामीले एक दिनका लागि होइन ५ वर्षका लागि स्थायी सरकार बनाउन मतदान गर्दैछौं । पटक पटक अवसर पाएर पनि स्थानीय निकायको समृद्धिमा भूमिका निर्वाह गर्न नसकिरहेका दल वा तिनका प्रतिनिधि फेरि अनुमोदित हुने वातावरण बन्न दिनु हुँदैन किनकी अधिल्ला अवसर सदुपयोग गर्न नसकेकाहरू फेरि मौका पाए भने दुरूपयोगको बाटो रोजेर जनघात गर्न पछाडि पर्दैनन् । निर्वाचनका बेला जन सेवाका कुरा गर्ने विपत्तिको समयमा जिम्मेवारीबाट भाग्ने दलका प्रतिनिधि जनताका प्रतिनिधि बन्न सक्दैनन् । विगतमा मतदाताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिहरू कि त आसेपासेका पोषक भए या त आफ्नै पेट भर्न बढी समय खर्चिए । यस्ता जनघाती लाचार नेताहरू अवको निर्वाचनले सधैंका लागि बढारेर फाल्नु पर्दछ ।

गीत र बाजाले एक छिन मनोरञ्जन देला तर जीवनको गति तथा भविष्यको उन्नतिको मार्ग चित्र कोर्न सक्दैन । त्यसैकारण हरेक मतदाताले बैचारिकताको बलशाली नेतृत्व छान्न हिम्मत गर्दै नीति र कार्यक्रमले भरिपूर्ण उम्मेदवारको विजय यात्रा तय गरिदिनु पर्दछ । विगतका निर्वाचनले सिकाएको ज्ञान के हो भने हाम्रा होइन राम्रा उम्मेदवारचाहिँ छान्नु पर्दछ । अनि मात्र हाम्रो घर आँगनको पहिलो सरकार स्थानीय विकासको सारथी बन्न सक्छ ।