नयाँ वर्षले हामीलाई असल नेतृत्व छान्ने बुद्धि दिओस्

वर्ष २०७८ ले कोरोनाको माध्यमबाट हामीलाई अर्को एउटा अवसर छोडिदिएको थियो । आफ्ना लागि आफैं उत्पादन गर्ने, स्वदेशमै रहेर पेशा व्यवसाय गरी राष्ट्रिय उन्नति बढाउने मौका बनेर फेरि कोरोनाको दोश्रो लहर अवसरका रूपमा आएको थियो । मानव जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन दिएको अवसर सही रूपले प्रयोग हुन सकेन । यही वर्षको सुरूवातसितै केपी शर्मा ओली नेतृत्वको सरकार त राजनीतिक स्थिरता भन्ने नाराको बेसार छर्किएर अस्थिर राजनीतिक गन्तव्य निर्माण गर्दै शेरबहादुर देउवाको पोल्टामा सरकारको भारी छोडेर गयो । अधिल्लो प्रधानमन्त्रीले होस् या पछिल्लो प्रधानमन्त्री कुनैले पनि प्रकृतिको नयाँ अवसरलाई सदुपयोग गर्न सकेनन् । श्रमजीवि सर्वहारा भुइँमान्छेहरूका सुसेली ओझेलमा पारे र सर्वआहारामा सरकार रमाइरह्यो । आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने जस्ता अराजक गतिविधिमा रमाएको राजनीतिले देशलाई सही दिशा देखाउन सकेन । राजनीतिका नाममा कृत्रिम राष्ट्रियताको उभारले हामीलाई कतै पनि पुग्न नदिने नै हो त ? यहाँं राजनीतिको इमानलाई नयाँ ढंगले बुझ्नुपर्छ । विपतबाट लाभ लिने कुनियत भएकाहरूले राजनीतिमा नेतृत्व गरिरहँदा देश र जनताको भलाई हुने रहेन छ । मान्छे तब मात्र जोगिन्छ, जब ऊ सग्लो सत्यसँग परिचित हुन्छ । अर्थात्, उसले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तरिकाबाट हुनै सक्दैन । बिडम्बना नेपाली राजनीतिमा नेतृत्वकर्ताले चटक देखाइ रहेका छन् । यस्तै चटकका बीच २०७८ले विदा लिएर गयो अनि नयाँ वर्षका रूपमा २०७९ ले उदाउने अवसर पाइसकेको छ । नयाँ वर्षसँगै स्थानीय सरकार छान्ने नयाँ निर्वाचनको राप र ताप पनि घरघरमा मडारिन थालिसकेको छ ।

संघीयतापछि पहिलो स्थानीय तह निर्वाचन २०७४ मा सम्पन्न भएपछि नागरिकको घर आँगनमा सरकार आएको उद्घोष समेत गरिएको थियो । केन्द्रमा रहेको राजनीतिक अधिकार स्थानीय स्तरमा प्रेषित भएको ठानिरहेका आम नागरिकले आफ्नासामु रहेका शासकहरूबाट ढाँट छलभन्दा फरक अनुभूति समेत पाएनन् । आज तिनै ढँटुवाहरू नयाँ खरानी घसेर नयाँ वर्षमा भोटका लागि धाइरहेका छन् । ५ वर्ष नेतृत्व लिँदा टिफर, स्काइभेटर, घर घरेडी कमाइसकेकाहरू नै फेरि लाज पचाएर सर्वहाराका असली प्रतिनिधि हुँ भन्दै घर आँगन धाइरहेका छन् ।

आज स्थिति फेरि जटिल हुँदै छ । मुलुक बाहिर रोजगारीका लागि गएकाहरूको लर्को सीमानाकाहरूमा देखिँदै छ । संकटका माझ जोखिम मोल्दै कसैले किन सीमा नाघ्यो ? के उसको थातथलोमा अवसरहरू खडा थिए ? सोझो कुरा भन्ने हो भने गाउँ, शहर र बस्तीले अवसर नदिएकाले अधिकाम्स नागरिक कामका लागि देश बाहिर पलायन भए । यसपटक आर्थिक मन्दीका कारण रोजगारी गुमाएर फर्कनेहरूले आफ्नो माटोमा बाँच्ने आधर पाउलान् त ? गाउँ शहरी क्षेत्रको मनोविज्ञान कस्तो छ ? समस्या गहिरिँदै गयो भने भय, भोक र गरिबीले अनेकौं विसंगति खडा गर्न सक्छ । नेपाल असन्तुलित परिस्थितितर्फ लम्किँदै छ  भन्ने तथ्य तीन तहका सरकारहरूसित छ त ?

ग्रामीण अर्थव्यवस्थाको कुरा चल्दा केवल खेत र खेतीको चित्र खडा हुन्छ । जब कि गाउँमा ठूला उद्योगहरूका तुलनामा ज्यादै विकल्प र विविधताहरू पनि छन् । स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ ? त्यसतर्फ राजनीतिले गम्भीरता देखाएन । जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै छ, त्यसले श्रम र क्षमता प्रयोग गर्ने अवसर पाउँछ त ? मञ्चमा उभिएर राष्ट्रवादको नारा घन्काउँदैमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन । राष्ट्रको चौघेरामा रहेकाहरूले यहीँ रहेर पेट भर्ने अवसर सिर्जना गर्ने मौका निर्माणको आधार खडा गर्न नसक्नेले भाषणवाजी बाहेक के नै गर्न सक्छ ? यस निर्वाचनमा कमसेकम विकासको गति लिन अवधारणा मात्र पेश गर्ने भए पनि नेतृत्व छनौट गर्न सकौं । विगतमा जस्तो भाषण र आश्वासनका भारी बोकाएर टिफर, स्काइभेटर, घरघरेडी जोड्ने आसेपासे पोस्न ठेक्कापट्टामा स्वामित्व कायम गर्दै सत्ता दुरूपयोग गर्नेहरू निर्वाचित हुनु हुँदैन । यही नै सवैलाई नयाँ वर्ष २०७९ को शुभकामना ।