कचनकवल गाउँपालिकासित काँग्रेसले ५ वर्षे खर्च विवरण माग्यो

भद्रपुर । नेपाली काँग्रेस कचनकवल गाउँ समितिले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहर सहित ५ वर्षे अवधिमा गरिएका सवै कामको तथ्यगत खर्च विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरण सहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको माग पत्र बुझाएको हो ।

९ वटा बुँदामा राखिएको माग पत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारी लगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सवै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।

गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटक पटक सचेत गराउँदा समेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा शिक्षासेवी भूमिप्रसाद राजवंशीले जानकारी दिए ।

गाउँ सभापति तुराराम अधिकारी हस्ताक्षर गरिएको माग पत्रमा भनिएको छ —“ ाष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रो पार्टी नेपाली काँग्रेसको आदर्श हो । यहि आदर्श प्राप्तिका लागि नेपाली काँग्रेस पार्टीले स्थापना कालदेखि नै अनवरत रुपमा संघर्षशिल रहेको सर्वविदितै छ । नेपाली जनताको अधिकार प्राप्तिको निमित्त विभिन्न कालखण्डमा भएको राजनितिक क्रान्ती र आन्दोलनको परिणाम स्वरुप प्राप्त भएको लोकतन्त्रको प्रतिफल सबै नेपालीको घरदैलोमा पु¥याउने विषयमा हाम्रो पार्टी सदैव क्रियाशील र चिन्तनशील रहेको छ । पछिल्लो समयमा २०६२/०६३ को आन्दोलन पश्चात सो आन्दोलनले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै नेपाली जनताले अपनत्व महसुस गर्ने संविधान सभाबाट संविधान निर्माणमा सहयात्री विभिन्न राजनैतिक दलको साथ लिँदै उक्त संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका नेपाली काँग्रेसले नै निर्वाह गरेको स्मरण गराउँदछौं । संघियता सहितको संविधान र सो संविधानले प्रदान गरेको हक र अधिकारको रक्षा गर्नु नेपाली काँग्रेसले आफ्नो प्रमुख कर्तव्य ठान्दछ । यसै पृष्ठभूमिमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था सुनिश्चित गर्दै वर्तमान संविधान निर्माण पश्चात् भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनुभएको स्थानीय जनप्रतिनिधिको कार्यकाल पनि ५ वर्ष पूरा हुन गइरहेकोे छ । निर्वाचित जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकाल हुन लाग्दा पनि नेतृत्व तहले यस कचनकवल गाउँपालिकामा पालिकाको सर्वाङ्गीण विकासका लागि अपेक्षाकृत काम गर्न नसक्दा हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो । नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनबाट हासिल भएको वर्तमान संबैधानिक व्यवस्थालाई संस्थागत गर्न प्रतिपक्षमा रहेका बखत समेत जिम्मेवार, शालिन र रचनात्मक ढंगले प्रस्तुत हुने पार्टीको मान्यता र संस्कारबाट हामी दिक्षित छौं । यसैबाट प्रेरित भई यस गाउँपालिकामा भएका व्यापक जनगुनासामा समेत हामीले विरोधको स्वरलाई धिमा बनाएका हौं । तर अत्यन्तै सम्मानजनक मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेको हाम्रो पार्टीको सदासयतालाई सम्भवत ः कमजोरी ठानी वडाको बजेट विनियोजन एबं विकास निर्माण लयागतको कार्यमा समेत आफ्नो आवधिक जिम्मेवारी पूरा नगरी यस स्थानीय सरकारले दलगत स्वार्थबाट प्रेरित भई गम्भिर त्रुटी गरेकोले एक प्रमुख प्रतिपक्षको जिम्मेवारीलाई रचनात्मक तर सशक्त ढंगले निर्वाह गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौं । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक, धारा २७ को सुचनाको हक “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सुचना माग्ने र पाउने हक हुनेछ ।’ भन्ने व्यवस्था सुरक्षित भए बमोजिम एक जिम्मेवार प्रतिपक्षको हैसियतले हामीले नेपाली काँग्रेस पार्टीको तर्फबाट यस पालिकाले आफ्नो कार्यकालमा भए गरेका निम्न लिखित कार्यहरुको विवरण र बजेट विनियोजनको पूर्ण विवरण माग गर्दछौं ।

(१) कृषि ः यस गाउँपालिकाको अधिकांश मानिसको जिविकोपार्जनको मूल आधार कृषि पेशा नै हो । किसानको समस्या समाधानको मूख्य निकाय गाउँपालिका नै भएको हुँदा भोक र रोगबाट ग्रसित यस गाउँपालिकामा कुन–कुन वडामा कृषि प्रयोजनका लागि कृषिऔजार, मल, विउ, विजन, सिचाईको लागि ट्युववेल, मोटर, वोर्डिङ्ग आदि कति कृषकहरुलाई कुन–कुन कार्यक्रम अन्तरगत कति रकम विनियोजन भयो ? सो को पूर्ण विवरण माग गर्दछौं ।

(२) मठ, मन्दिर, गुम्बा, मस्जिद ः धार्मिक सहिष्णुता रहेको यस गाउँपालिकामा धर्म संस्कृति संरक्षण हेतु कुन–कुन गुरुकुल, मदरसा, गुम्बा र मठमन्दिरमा कति बजेट विनियोजन भयो? सो को विवरण माग गर्दछौं ।

(३) नेपालको होचो स्थान कचनकवल यस गाउँपालिकाको सौभाग्य हो । उक्त स्थानमा बर्षेनी डोजरले खनेको मात्र देख्न पाइन्छ तर प्रगति शुन्य देखिन्छ । उक्त स्थानमा यस ५ वर्षमा कुन–कुन निकायबाट कति बजेट लगानी भयो ? सो को पूर्ण विवरण माग गर्दछौं ।

(४) कोभिड–१९ राहत सम्बन्धमा ः केहि समय अघि कोरोनाको महामारीबाट विश्व आतङ्कित बन्यो, त्यसैको प्रभाव नेपाल र नेपालीमा पनि देखियो । जोखिम उच्च बन्दै गएपछि राज्यले क्वारेन्टाइन व्यवस्थापन गाउँपालिकालाई सुम्पियो । उक्त समयदेखि विभिन्न कालखण्डमा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष करवाट अथवा राज्यको अनुदानबाट प्राप्त रकम मध्ये राहत वापत उक्त क्षेत्रमा जम्मा कति खर्च भयो ? सो को पूर्ण विवरण माग गर्दछौं ।

(५) कचनकवल गाउँपालिकामार्फत कचनकवलबासीलाई ग्यास र चुलो वितरण हुन्छ भन्ने बेला बेला सुन्ने गरिन्छ, यो कति सत्य हो ? प्रष्ट गरिपाउँ । यदि हो भने उक्त शीर्षकमा यस वर्ष कति घरधुरीमा कति संख्यामा वितरणको लक्ष्य लिइएको छ ? लक्षित वर्गको छनौट प्रक्रिया के कस्तो हुनेछ ? यो शीर्षकमा कति बजेट विनियोजन गर्ने वा भएको छ ? यसको आधिकारिक जवाफ माग गर्दछौं ।

(६) नयाँ रोजगारी सिर्जना गर्नुभन्दा पनि भएका संघसंस्थामा आवश्यकता भन्दा बढी गाउँपालिकाको श्रोत र साधनको दुरुपयोग हुने गरी दलगत स्वार्थबाट गाउँपालिकाको व्ययभार बढ्ने गरी गरिएका नियुक्तिहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी गरिएका नियुक्तिहरु यस गाउँपालिका भित्र के कति भएका छन् ? सो वापत उपलब्ध गराइदै आएको पारिश्रमिक कुन मापदण्डमा कुन कुन स्रोतबाट उपलब्ध गराईदै छ ? सो को पूर्ण र स्पष्ट विवरण माग गर्दछौं ।

(७) विकास निर्माणका कार्यक्रमहरु छनौटमा वडास्तरबाट छनौट भई आएका विकास निर्माणका कार्यहरुलाई प्राथमिकता दिनुको साटो पालिकाले वडालाई उपेक्षा गरी पालिकाबाटै इच्छाएको व्यक्ति तथा समुहलाई सोझै वितरण गरिएको भन्ने व्यापक जनगुनासाहरु प्राप्त भएका छन् । विधि र प्रक्रिया मिचेर गरिने यस्ता खालका क्रियाकलाप जिम्मेवार पक्षबाट किन भइरहेको छ ? यसप्रति जिम्मेवार हुन आग्रह गर्दै यस ५ वर्षमा कुनकुन वडामा कृषि, पर्यटन, शिक्षा, विद्युत, स्वास्थ्य, संचार, यातायात, खानेपानीजस्ता महत्वपूर्ण योजनाका पूर्वाधारहरु कति सुरुवात वा सम्पन्न भए ? यस ५ वर्षमा कचनकवलवासीले गर्व गर्न योग्य उदाहरणीय कार्य के–के भए ? सो को स्पष्ट विवरण माग गर्दछौं ।

(८) गाउँपालिकाको केन्द्रको विषयमा विभिन्न राजनैतिक दलहरुले फरक मत राखी गाउँपालिकाको ध्यानाकर्षण गराउँदा गराउँदै पनि गाउँपालिकाको एकल निर्णयबाट व्यक्तिगत स्वार्थ तथा पारिवारिक आर्थिक उन्नतीलाई मात्र ध्यानमा राखी कचनकवलको सातवटै वडाहरुलाई अनुकुल पर्ने स्थानलाई छोडी राय, सल्लाह र सहमति बेगर नै स्थान तय गरी सुरुवात गरिएको संरचनाको स्रोत, ठेक्का प्रकिया, लागत, कार्यसम्पन्न हुने समयको बारेमा कचनकवल गाउँपालिकाका बाशिन्दाहरु पूर्ण अनविज्ञ रहेको हुँदा सो को विस्तृत जानकारी माग गर्दछौं ।

(९) बडोझोडा पुलबाट पूर्वझोडा जोडिएको सडकको कालोपत्र एकवर्ष पनि नपुग्दै भत्किएको देखिन्छ । सो सडकमा कुन श्रोतबाट, कति लागतमा, कुन ठेकेदार मार्फत कार्यसम्पन्न भयो ? उक्त सडकप्रति गाउँपालिकाको ध्यान किन नपुगेको हो ? सो सडकको यस्तो दुरावस्था बनाउने ठेकेदार तथा अनुगमन पक्षलाई गाउँपालिकामार्फत के कस्तो कारवाही प्रक्रिया अघि बढाइयो ? सो को स्पष्ट विवरण माग गर्दछौं ।

अन्तमा माथी उल्लेखित मागहरुप्रति एक जिम्मेवार स्थानीय तहको जिम्मेवार जनप्रतिनिधिको तर्फबाट एक नागरिकले पाउने सुचनाको हकलाई आलटाल गर्न नखोजी, नजर अन्दाज नगरी आवश्यक सत्य–तथ्य सुचना यथाशीघ्र जनतासमक्ष राखिदिन समेत जोडदार माग गर्दछौं ।”

पछिल्लो समय गाउँपालिका नेतृत्वले विकासमा समेत विभेद सिर्जना गरी कार्यकर्ता भर्तिकेन्द्र बनाएर गउँपालिकाको आर्थिक दोहन गरिरहेको काँग्रेसको आरोप छ । विभन्न लोभ र लालचमा पार्दै स्थानीयलाई भोट बैंक बनाउन गाउँपालिका नेतृत्व लागिरहेको भन्दै विपक्षी काँग्रेस लगायतका दलहरू विरोध गरिरहेका छन् ।