स्वास्थ्य मापदण्ड पालना र सिमा व्यवस्थापनमा किन ढिलो ?
नेपाल भारत आवागमनका लागि झापाका औपचारिक नाकाको परिचय बोकेका काँकरभिट्टा र भद्रपुर नाकामा कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलदा पनि व्यवस्थित हेल्थ डेस्क स्थापना नहुँदा भारतबाट स्वदेश फर्किनेले कोरोना फैलाउने जोखिम बढेको छ । सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको भए पनि विरामी भए नभएको एकिन गर्न सक्ने अवस्था छैन ।
सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य उपकरणसहितका स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयंम स्थानीयबासीहरू बताइरहेका छन् । पहिलो लहरको कोरोनापछि भद्रपुर गलगलिया सीमा नाका १९ महिना बन्द गरिएको थियो । गत असोज १५ गतेदेखि भद्रपुर नाका पुनः सञ्चालनमा आएको भए पनि स्वास्थ्य सुरक्षाका लागि यस नाकामा नेपाल तथा भारत दुवैतिर सावधानी अपनाइएको छैन ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र भद्रपुर नाकाबाट आवतजावत गर्न समय तोकिएको भए पनि रात्रीकालिन व्यापारमा संलग्न व्यापारीहरू निर्वाध आवागमनमा रहने गरेका छन् । सीमा नाका सञ्चालन भएपछि नगरपालिकाले केही समयका लागि मात्रै एक जना स्वास्थ्यकर्मी खटाएको थियो । स्वास्थ्यकर्मी बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र बस्ने गर्थे । स्वास्थ्यकर्मीको सेवा प्रभावकारी नभए पनि स्वास्थ्य सेवामा राज्य जिम्मेवार रहेको महसुस हुन्थ्यो । त्यस्तो अवस्था पनि नरहँदा महामारीका रूपमा बढ्दै गएको कोरोना कालको तेस्रो चरणमा सीमा क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन नगरिनु स्वास्थ्य क्षेत्रमा सरकारी पक्षको उदासिनता त होइन ? प्रश्न उठेको छ ।
पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै नाका उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने हो तर, यहिबेला नाकामा स्वास्थ्यकर्मी छैनन् तैनाथ सुरक्षाकर्मीले बिना मास्क आवतजावतमा भने रोक लगाएको अवस्था छ । मास्क, खोप कार्ड र पिसिआर रिपोर्टले मात्र कोरोना छेक्दैन ।
त्यसका लागि सीमा नाकामा ज्वरो नाप्ने थर्मल गन, कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी परिचालन हुनु पर्ने हो तर त्यस कार्यमा सरकारी पक्षको ध्यान पुगेको देखिदैन । काँकडभिट्टा नाकामा कडाइसँगै भीडभाड बढ्न थालेपछि भारतीय नम्बर प्लेटका टुरिस्ट गाडी भद्रपुर नाकाबाट आउन थालेका छन् । ती भारतीय गाडीमा आउने सर्वसाधारण बागडोगरा विमानस्थल र न्यु जलपाइगुडी रेल्वे स्टेसनबाट सोजै आउने गरेका छन् ।
विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गन मात्र हुन्थ्यो तर, अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्री डेस्कमा राखिएको हुनु पर्छ । डबल डोज खोप कार्ड भएपछि नाकामा सहज आवतजावत भइरहेको छ । जसका कारण सीमा नजिकै भारतीय बजार पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्ने नेपालीहरूको भीड समेत बढेको छ । यस भीडबाट पनि कोरोना संक्रमणको माध्यम हुन सक्छ ।
कोरोनाको तेस्रो लहर माहामारी बन्नबाट जोगाउने हो भने नेपाल भारतको खुल्ला सीमा तत्काल बन्द गर्नु पर्दछ । संक्रमण दर कम हुँदै गएपछि क्रमशः सीमा खुल्ला गर्ने गरी बन्द नगरेसम्म कोरोनाको नयाँ प्रजातिको संक्रमण माहामारी घट्ने छैन । यसैगरी देश भित्रका भीड भाड घट्ने वातावरण निर्माणमा सरकार निर्मम भएर लाग्नु पर्दछ । सार्वजनिक स्थल र पद ग्रहण गर्ने व्यक्तिले स्वास्थ्य मापदण्ड मिच्ने प्रवृत्ति अन्त्य हुनै पर्छ । अनि मात्र कोरोनाको तेस्रो लहरबाट बच्न सकिने अवस्था बन्न सक्छ ।