भद्रपुर स्थित मेची घाटमा भव्य छठ पूजा गरिने

द्रोण अधिकारी

भद्रपुर । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा भव्य रूपमा छठ पूजा गरिने भएको छ ।
तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गरिने भएको हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाउने गरेका छन् । दशकौंदेखिको पूजा स्थलको पहिचान बनाएको मेची घाटमा गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण गतिविधि रोकिएका थिए ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गर्ने छन् भने विगत वर्षहरूमा जस्तै नेत्र ज्योति समाज लगायत सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गर्ने छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न एक लाख हाराहारी सहभागि हुने गरेको इतिहास छ ।

सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई एक साता अघिदेखि नै आयोजकले तिव्रता दिइरहेको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रुपमा रहेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरु सहयोगी निकायका रूपमा रहेका छन् ।