बडादशैं शुभ होस् कामना

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकुल हरेक सरकार हुँदा खानेको पक्षमा उभिन सकेनन् । परम्परादेखि नै हुनेखानेको बोलवाला बनिएका सरकार कम्युनिस्ट हुन् या काँग्रेस जनपक्षीय रहेनन् । चार्डवाड मनाउन बहुमत श्रमजीवि नागरिक ऋणको बोझमा हराउनु पर्ने विडम्बना जीवित छ । विगतदेखिनै जनमत पाएका दलका सरकारले जनपक्षीय काम गर्न चुकेकै कारण व्यवस्थामाथि नै प्रश्न खडाहुँदै गएको अहिलेको सरकार समेतले बिर्सदै जानु अर्को बिडम्बना हो । अघिल्लो पटक नेतृत्व लिएको बलियो जनमत पाएको स्थीर भनिएको सरकारले पनि विकृति, विसंगति अन्त्य नगरी संरक्षक बनिने परम्परा कायम राखेर जनघात गरिरहेको थियो । भ्रष्टाचार, दुराचार र अन्यायका शृङ्खला एकपछि कर्को छोडेर विदा भएको अघिल्लो सरकारले परिवर्तित राजनीतिक संरचनामाथि नकारात्मक प्रहार छाडेर गएको छ । वर्तमान सरकारले पनि संघीयताले जनताका समस्या घरदैलोबाटै समाधान गर्दछ भन्ने मान्यताको अनुभूति नागरिकलाई दिन सकिरहेको छैन । विगतका सरकारले गरे जस्तै काम मात्र वर्तमान सरकारले पनि गर्ने हो भने नागरिकका भावनामाथि घात हुने छ । नागरिकलाई निरास पार्ने हर्कत अन्त्य गरी सरकार सकारात्मक अभियानमा लाग्नु नै परिवर्तित व्यवस्थामाथि न्याय हुने छ ।

सरकारको नेतृत्व गरेको भण्डै चार वर्षे अवधिमा जनताका पक्षमा उल्लेखनीय काम गर्न नसकेको ओली सरकार आफ्नै कारणले विदा हुने अवस्था आयो । सरकार स्थापनादेखि आफ्ना भनाइहरूलाई व्यवहारमा स्थापित गर्न नसकेर असफतातिर हिडेको ओली सरकार आफ्नै अहमले सडकमा ढल्नु पर्यो । ओली प्रवृत्तिले अहिलेको सरकारलाई पनि छोडेको छैन । कोभिड १९ को भूत देखाएर रगत पसिना चुस्नेहरूको संरक्षक भएर विगतको परम्परा धानिरहेको सरकार संघीय लोकतान्त्रिक शासन व्यवस्था भित्रको मर्म बुझ्न सक्ने अवस्थामा देखिएको छैन । विगत जस्तै वर्तमान सरकारले पनि श्रमजीवि वर्गको संरक्षण गर्न सकेको छैन । श्रम पसिनाको खोलो बगाएर मालिक पोस्न बाध्य श्रमिकहरूको जीवन भने कष्टकर बन्दै गइरहेको तथ्य सरकारले बुझेको छैन । मालिकका लागि सहुलियत दिन तयार सरकार श्रमिकका लागि राहत दिन तयार नहुँनु सामन्तवादी शैलीको पराकाष्ठा हो । कम्युनिस्ट होस् या काँग्रेस सरकारको नेतृत्वमा रहँदा श्रमजीविको पक्षमा आउन नसक्नुले समाजवाद उन्मूख राज्य व्यवस्था भन्ने संविधानको मर्ममाथि प्रहार भएको ठहर्दछ ।

बडादशैं–२०७८ को शुभोपलक्ष्य आरम्भ भइसकेको छ । यस वर्ष यो पर्वले ‘हुँदा खाने’–हरूका लागि आशा कम निराशा बढी छोडेर ‘दशा’ नै सावित हुने लक्षण देखिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयनको झण्डै चार वर्ष कम्यूनिस्ट शासित नेपालीहरूले नेपालमा कम्यूनिस्टको गुरू–सिद्धान्तप्रति व्यंग्य मात्र अनुभव गरे । पछिल्लो केही महिनायता काँग्रेस नेतृत्वमा गठित सरकारले समेत अघिल्लो सरकारको छायाँ पछ्याइ रहेको झलक दिइरहेको छ । हाम्रो मनसाय यही चाहिँ पटक्कै होइन, यथार्थको भावभूमिमाथि उभिंदाको सत्यको अविकृत प्रस्तुति मात्र हो जो अहिलेको परिप्रेक्ष्यमा कटु हुन सक्तछ ! बेथिति, अन्याय, अत्याचार र अस्तव्यस्तताबाट पीडित–प्रताडित छन्, जो पक्षपात र नातावाद–कृपावादको माहोलमा लाञ्छित–तिरस्कृत छन्, जो महंगी र अभावबाट कुण्ठित छन्—उनीहरूको मनले सोही गीतको अन्तरभाव गुन्गुनाइरहेर सुने पनि हाम्रो शुभकामना उनैको उत्थान–प्रवद्र्धनलक्षित छ । यही संवेदनशील भावले आप्लावित हुँदै संभ्रान्त–विपन्न, सुखी–दुःखी, पीडक खेतीको सम्बलमा रमाइरहेकादेखि पीडाको नियति भोगिरहेका सबै कित्ताका नेपालीमा निरपेक्ष रूपमा ‘बडादशैं–२०७८’–को स्निग्ध शुभकामना टक्र्याउँछौं । हाम्रो प्रश्न यो पनि छ, हुँदा खानेले पनि चार्ड पर्व रमाएर मनाउन पाउने दिन कहिले आउला ? हुने खानेको तडकभडक कहिले अन्त्य होला ? यस विभेद पूर्ण सामाजिक संरचनाको अन्त्य नभएसम्म समाजवाद उन्मूख राज्य व्यवस्था बन्न सक्दैन । त्यसैले यस वर्षको विजयादशमी, दिपावली तथा छठ पर्वले समाजवाद उन्मूख राज्य व्यवस्थाको वातावरण निर्माणमा सवै राजनीतिक शक्तिका केन्द्रहरूमा सद वुद्धि प्रदान होस् हार्दिक मंगलमय शुभकामना छ ।