दल फुट्ने प्रवृत्ति हितकर होइन

दलीय व्यवस्थामा राजनीतिक दलको संख्या बढी हुनु खुसीको कुरा हो तर सत्ता स्वार्थका लागि भइरहेको दल फुटाएर संख्या बढाउने परम्परा भने दुःखको विषय हो । केपी ओली र माधव नेपालको सत्ता संघर्षले अन्ततः नेकपा एमाले टुक्रिन पुगेको छ । त्यसैगरी महन्त ठाकुर र उपेन्द्र यादवको सत्ता मोहको परिणाम क्षेत्रीय राजनीतिको पगरी भिरेर शक्तिशाली दल गनिएको जनता समाजवादी पनि टुक्रन पुगेको छ । यी दुई दलको विभाजनले नेपालको संसदीय दलीय पद्धतिमा नराम्ररी झट्का दिएको छ । यस झड्काले भविष्यसम्म राजनीतिक दल टुटफुट हुने र अस्थिर राजनीतिक चक्र सवल हुने प्रष्ट हुन्छ । जसको परिणाम नेपाली राजनीतिले स्थीर सरकार दिन नसक्ने तथा दिगो विकासको अवधारणा असफल हुने पीडादायी अनुभूति रहिरहने छ ।

बहुदलीय प्रजातान्त्रिक पुनस्थापनपछि २०५४ यता सत्ता लिप्सामा दलका नेताहरू तल्लिन हुँदा पार्टी फुट्ने लहर चल्यो । जसको दीर्घकालिन असर व्यवस्थामाथि पर्न जाँदा राजतन्त्रले नागरिक अधिकार खोसेर सत्तामाथि हस्तक्षेप गर्न पुगेको इतिहाँस ताजै छ । आज बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको परिमार्जित स्वरूप लिएर संघीय गणतन्त्र स्थापित छ । यस व्यवस्थाको पहिलो जन निर्वाचित सरकारको अकर्मन्यताले संसद समेत पटक पटक विघटनको आक्रमणमा पर्न गयो । जसको पछिल्लो असरका रूपमा जनताले विश्वास दिएको नेकपा गठबन्धन टुक्रा टुक्रा हुन गयो । टुक्रा भित्र पनि टुक्रने क्रम जारी रहँदा नेकपा एमाले विभिन्न झुण्डमा विभक्त भएको अवस्था छ । यस्ताखाले दृष्यले बहुदलीय प्रजातान्त्रिक काल खण्डको विकृति दोहोरिने संकेत देखिदै छ । आज संघीयता, धर्म निरपेक्षता र राजतन्त्र जस्ता विषयमा पक्ष विपक्षका दृष्य देखिन थालेका छन् । परिवर्तनका पक्षधर दलहरू टुक्रन थाल्दा परिवर्तनका विरोधीहरू प्रतिगामी शिर उठाउन सक्छन् भन्ने हेक्का नरहँदा फुटको राजनीति सवल हुन थालेको हो ।

राजनीति गर्नु भनेको देश र जनताको लागि हो । मन्त्री, प्रधानमन्त्री हुनु भनेको परिवारका लागि हैन, देश र जनताको हितका लागि हो भन्ने भावना नेताहरूले नलिएसम्म देशको राजनीतिले विकृति मुक्त हुन नपाउने अवस्था छ । देशको विकासमा राजनीति स्थीरताले ठूलो भूमिका खेल्दछ । तसर्थ देशले स्थायी सरकार खोजेको थियो । जसले विकास गरोस् । जसले जनताको भावना बुझोस् । रोगसंग त लडिएला तर राजनैतिक अस्थीरतासंग लडेको धेरै भयो । न्यायको पक्ष र अन्यायको विरुद्धमा लड्न सक्नुपर्छ । सबैलाई समान व्यवहार गर्न सक्नुपर्छ भन्ने चाहना नेपाली नागरिकको हो तर समानताको भाषण गर्ने गरेका हाम्रा नेताहरूले भाषणमै मात्रै सिमित राखेर दलीय सद्भाव जोगाउन सकेका छैनन् । अन्तर दलीय द्वन्द्वलाई राजनीतिक प्रतिष्पर्धाका रूपमा हेर्ने गरिन्छ तर स्वदलीय द्वन्द्वलाई विनास वा विघटन मान्नु पर्ने हुन्छ । देश र जनताका लागि नभएर पदीय लालच लिएर आफ्नै दल भित्र द्वन्द्व गर्ने कार्यले दल बलियो हुन सक्दैन । परिणाममा त्यो द्वन्द्वमा फसेको दल विना वा विघटनको बाटोमा जाने छ । यसैले दलीय प्रणालीमा दल फुट्नु देश र जनताका लागि शासकीय रूपमा हितकर हुँदैन । देश र जनताका लागि राजनीति गर्ने व्यक्तिहरूले दल फुटाएर होइन जुटाएर शुसासनका लागि योगदान दिन्छन् भन्ने भावना नेपाली नेतामा कहिले पलाउँला ?