मेलम्चीको पानीको जस कसलाई ?

काठमाण्डौको काकाकुल स्वरूप परिवर्तित गर्ने सपना पालेर मेलम्चीको पानी राजधानी झार्ने योजनाको शुत्रपात गर्ने सन्त नेता कृष्णप्रसाद भट्टराईको निस्वार्थी सेवामाथि हिलो छरेर चर्चा बटुल्न लागेका प्रधानमन्त्री केपी ओली यस बेला आलोचनाको घेराबन्दीमा परेका छन् । सस्तो प्रचारका लागि पटकपटक मेलम्ची उद्घाटन गरेका वर्तमान प्रधानमन्त्रीले २०४७ सालमा अन्तरिम प्रधानमन्त्रीकै रूपमा मेलम्ची परियोजनाको गुरुयोजना तयार गर्ने भट्टराईको नामसम्म लिन जरुरी ठानेन् । काठमाडौंका जनताको मस्तिष्कमा भट्टराई र मेलम्ची एकअर्काबाट छुट्टिनै नसक्ने गरी अन्योन्याश्रित छन् । सामाजिक सञ्जाल र सार्वजनिक स्थलहरूमा ओली सरकारको कपट पूर्ण प्रचारमुखी अभियानको कटु आलोचना र सन्तनेताको प्रशंसा भइरहेबाट प्रस्ट हुन्छ— आम जनता र किसुनजीबीच जोडिएको मेलम्चीको सम्बन्ध वर्तमान सरकारले तोड्न सक्दैन । भट्टराईको राजनीतिक इमान र नैतिकताको तुलना प्रधानमन्त्री ओली र उनका पछाडि अन्धभक्त भएर लाग्ने नेताहरूसँग हुन नसक्ने यथार्थ छ । भट्टराईले ३० वर्षअगाडि काठमाडौं बासीमा जबर्जस्ती बीजांकुरित गरेको मेलम्चीको सपना साकार भएको बेला विकृति र विसंगतिलाई सवैथोक मानेर नैतिकहीन राजनीतिमा अलमलिरहेका प्रधानमन्त्रीले सन्त नेताको योगदान छायामा पारेर जस लिन हतारिनु नैतिकता समाप्तितिर लैजानु हो । मूल्य, मान्यता र इमानको राजनीति अघि बढाउन जिम्मेवार हुनु पर्ने प्रधानमन्त्री विकृतिको उद्गम बन्न हौसनु बिडम्वना निम्तनु हो ।

‘निर्वाचित प्रधानमन्त्रीले शासन गर्ने तौरतरिका मनोनित वा भुइफुट्टा शासकहरूको भन्दा फरक हुन्छ । बहुदलीय पद्धतिबाट निर्वाचित प्रधानमन्त्रीले जनता र राष्ट्रियतालाई केन्द्रमा राख्छ र लोकतान्त्रिक आचरणलाई आफ्नो जीवनपद्धति बनाउँछ र, जनतालाई फरकपनको अनुभव दिलाउँछ ।’ भन्ने विश्वव्यापी मान्यता बिर्सदै गएका ओलीले विगतका राम्रा प्रयासलाई पनि वर्तमानमा आफ्नै योगदान बनाएर प्रचारगरी शासन सत्ता नियन्त्रणको कुटनीति अपनाइरहेका छन् । तत्काललाई फाइदाजनक देखिए पनि ओली रणनीति दीर्घ कालमा उनलाई पतन गराउने प्रमुख कारक हुने छ । २०५० सालबाट भट्टराईको सपना जोडिएको मेलम्ची परियोजना सुरु र सम्पन्न गर्न सबैभन्दा बढी काम उनकै दलको सरकारले गरेको छ । बितेको २२ वर्षमा हरेक सरकार मेलम्चीसँग जोडिएका राम्रा र नराम्रा कामको हिस्सेदार बनेका छन् । त्यसैले हुन सक्छ इतिहासमा नाम लेख्नकै लागि पूर्वनिर्धारित समयअगावै उद्घाटन गर्न र आयोजनाको जस प्रधानमन्त्री ओली एक्लैले लिन खोज्नु नैतिक आदर्श विर्सेर असहिष्णुता प्रस्तुत गर्नु बाहेक केही होइन । राजनीतिमा इमान र आदर्श नराख्ने हो भने राज्यनै अराजकताको बन्दी बन्न सक्छ । यसैले योगदान दिनेलाई जस लिने अवसरबाट रोकिनु हुँदैन । मेलम्चीको पानी राजधानीमा ल्याउने कामको जस सन्त नेता कृष्णप्रसादभट्टराईमाथि नै रहनु पर्दछ प्रधानमन्त्री ओलीको भागमा उद्घाटन गर्ने अवसर मात्र जुटेको सत्य बिर्सनु हुँदैन ।