नयाँ सरकार गठनको खेल सुरु

काठमाडौं । संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि नयाँ सरकार गठनको खेल सुरु भएको छ । सत्ता समीकरणका लागि नेताहरूले जोड घटाउ थालिसकेका छन् । संसद विघटनपछि विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिपक्षी दलसँग सत्ता सहकार्यको प्रस्ताव अघि बढाएका हुन् ।

प्रचण्ड(माधवले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले त्यही बिषयमा छलफल गर्नका लागि बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । यता, प्रचण्ड(माधव पक्षले जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई पेरीसडाँडामा बोलाएर बिहीबारै छलफल गरेका छन् । प्रचण्ड(माधव पक्षले दुवै पार्टीसँगको छलफल सकारात्मक भएको दाबी गर्दै आएको छ ।

संसद पुनःस्थापना भएपछि कांग्रेसमा तीन धार देखिएको छ । सभापति देउवा पक्ष प्रचण्ड(माधव पक्ष वा प्रधानमन्त्री ओलीसँग आफ्नो फाइदा पुग्ने गरि सरकारमा जान खोजेका उनी निकट स्रोत बताउँछ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा गएपनि प्रचण्ड(माधव पक्षसँग मात्रै जानुपर्ने मत राखिरहेका छन् । यता, अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले सरकारमा जानै नहुने मत जाहेर गरिरहेका छन् । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महत तत्कालै सत्ता सहकार्य हुनसक्ने ठाउँ देख्दैनन् । ‘उहाँहरु अहिलेसम्म एउटै पार्टीमा हुनुहुन्छ । पार्टी विभाजन नै भएको छैन’ उनले भने, ‘सरकार सञ्चालनमा उहाँहरुको आफ्नै मत पुग्नसक्छ । त्यसैले हामीले अहिल्यै औपचारिक निर्णय गरेर सरकारमा जान्छौँ भन्दैनौँ ।’ नेकपाको दुवै पक्षबाट प्रस्ताव आएको भएपनि सरकार सञ्चालनमा काँग्रेस कतैपनि नजाने उनको तर्क छ । ‘अब पार्टीको बैठक बस्दै छ । त्यसले के निर्णय गर्छ हेर्न बाँकी छ’ उनले भने ।

प्रचण्ड–माधव पक्षले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग बिहीबार छलफल गरेका छन्। छलफलमा जसपाका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । छलफलको सुरुमै प्रचण्ड–माधवलाई कुन पार्टीको हो भन्दै प्रश्न गरेको बरिष्ठ नेता राजेन्द्र महतोले बताए । ‘संविधान जारी गर्ने बेलामा प्रतिगमन भएको थियो । उहाँहरुले कांग्रेससँग मिलेर मधेशी दललाई एकल पार्नुभएको थियो’ उनले भने, संविधान संशोधन र हाम्रा बन्दी साथीहरुलाई फुकुवा गर्नुपर्छ । त्यसपछि मात्रै सत्ता सहकार्यको प्रस्तावमा छलफल गर्न सकिन्छ ।’ प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो अंगालेको हुनाले अब सत्ता सहकार्यबारे त्यता नसोचेको जसपा नेता रामबाबु यादव बताउँछन् । ‘प्रचण्ड–माधव पक्षबाट सत्ता सहकार्य प्रस्ताव आएको छ । ओली पक्षबाट पनि आउला’ उनले भने, ‘अर्को पक्षसँग सत्ता सहकार्यको सम्भावना रहे पनि ओली पक्षसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुन्न ।’ ओलीसँग पहिले पनि सहकार्य गर्दा आफ्नो स्वार्थको लागि मात्रै प्रयोग गरेको उनको तर्क छ । ‘उहाँले संविधान संशोधनको शर्तसहित सरकारमा हाम्रो पार्टी गएको थियो । तर, सरकारमा गएपछि उहाँले कहिल्यै हाम्रो एजेण्डा सोच्नुभएन’ उनले भने । प्रचण्ड–माधव पक्षले आफ्नो पार्टीको एजेण्डा पुरा गर्ने शर्त राखे सरकारमा जान सकिने उनले बताए ।