ओलीवादले निर्वाचनको वातावरण बन्ला त ?
प्रधानमन्त्री केपी ओलीको अहमको परिणाम देश अस्थिर राजनीतिक बाटोतिर हिड्ने संकेत देखिदैछ । दलीय व्यवस्थामा दलहरू बीच सहमतीको वातावरण नभई निर्वाचन संभव देखिदैन । नेपालको राजनीतिले अहिलेकै अवस्थामा सुधार नगर्ने हो भने तोकिएको मितिमा चुनाव हुन नसक्ने निश्चित छ । विगतमा शाह राजाले घोषणा गरेजस्तो शैलीमा ओली सरकारको घोषणाले मात्र निर्वाचनको वातावरण बन्न सक्दैन । पशुपतिमा भाकल गरेर निर्वाचनको माहौल बन्ने भए सडकमा तमासा देखाउनु पर्ने थिएन होला । चीनले कानुन व्यवस्था कायम गर्न गोलीगट्ठा, भारतले चुनाव गराउने कर्मचारीका लागि गाडी एवं मत खसाल्ने बाकस तथा पश्चिमाहरूले सरकारका साथै सबै खाले उम्मेदवारलाई मनग्गे आर्थिक सहायता उपलब्ध गराइदिने वचन दिँदैमा निर्वाचनको माहौल बन्न सक्दैन । निर्वाचन हुन दलहरू एक मत भएर मैदानमा जाने वातावरण बनिनु पर्दछ । देशको कार्यकारी अधिकार लिएका प्रधानमन्त्रीले निर्वाचनको वातावरण तयार पार्न अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता देखाउनु पर्छ । तर, अहिलेसम्म प्रधानमन्त्री सडक कब्जा गर्न र आफ्ना विरोधी दबाउन व्यस्त देखिन्छन् । यस कार्यले आफैँले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गर्न ओली इमान्दार छैनन् भन्ने संकेत गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न ओली नेतृत्वको नेकपाले सकिरहेको छैन । चुनाव त इराकमा सद्दाम हुसैनले पनि गराउँथे र तीनचौथाइभन्दा बढी मतले आफ्नो निरन्तरता सुनिश्चित गराउने गर्थे । मूल कुरा निर्वाचन केका लागि गराउने भन्ने अहिलेको प्रश्न हो । संकटग्रस्त राजनीतिमा निर्वाचन द्वन्द्व निरूपणको प्रक्रिया हुनु पर्छ तर, अहिले सहमतिलाई अस्वीकार गरेर आफ्नो सनकलाई जवरजस्ती वैधानिकता प्रदान गर्ने माध्यम बनाउन ओली लागि पर्नुले निर्वाचनको नाटक भन्ने अवस्था आएको छ । वर्चस्ववादी समूहको सत्तालाई स्वीकार्यताको आवरण प्रदान गर्ने चुनाव अहिलेको आवश्यकता होइन । पञ्चायतको चुनाव आवधिक नियमितताका साथ भइरहन्थ्यो । त्यस्तो प्रयोग पुनः गर्ने सपना ओली सरकारको हो कि ? उनले पराजयको मुख च्यातेर आफ्नो जित सुनिश्चित गर्न सक्ने राजनीतिक बाजिगर हुन चाहेका त होइनन् ? ओलीले ‘पञ्च ¥याली’ प्रकृतिको आयोजनका लागि दरबार मार्गलाई नै छनोट गरेको अकारण थिएन । संग्रहालय भइसकेको नारायणहिटी दरबारसँग प्रतीकात्मक आकर्षण गाँसिएको छ । ‘नव–पञ्च ¥याली’ आयोजन उनको शक्ति प्रदर्शनसँगसँगै आफ्ना वैचारिक समर्थकहरूप्रति दर्साइएको कृतज्ञता भाव पनि थियो । यसखाले प्रपञ्चले निर्वाचनको वातावरण बन्छ त ? जनताले ५ वर्षका लागि स्थीर राजनीतिक वातावरणका लागि नेकपा नामक गठबन्धनलाई अपूर्व मत जाहेर गरेका थिए । जुन गठबनधनको नेतृत्व स्वयम ओलीले लिएका थिए तर ३ वर्ष पूरा हुँदा नहुँदै संसद विघटन गर्ने काम नेकपाका लागि आत्मघाती कदम हो । परिणाम स्वरूप नेकपा तीन टुक्रामा छरिएको छ । ओली, माधव—प्रचण्ड र वामदेवको टुक्रे राजनीति नै नेकपाको परिचय बनेको अवस्था छ । यस्तो रून्चे हाँसोमा रहेको नेकपा सरकारको प्राथमिकता निर्वाचन हुन सक्ने पक्कै होइन । ओलीले निर्वाचनको भूत देखाएर सत्तारोहणमा समयावधी बढाउन चाहेको बाहना हुन सक्छ । त्यसैकारण होला ओली सडकबाट आफ्नो शक्ति देखाउँदै सत्ता बिरोधी तर्साउन लागेका हुन् । निर्वाचनका लागि दलीय अस्तित्व स्वीकार्न उनलाई फुर्सद छैन किनकी आफैँले तोकेको समयमा निर्वाचन गर्नु नै छैन ।