सगरमाथाको नाम “माउन्ट सिकदर” हुनुपर्छ ः जी न्युज

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको छ । प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्, जी न्यूजका सम्पादक सुधीर चौधरी । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन् । मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन् त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं । उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ । भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ ।

“माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौंं हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,” उनी भन्छन् ,“संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन । अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ ।” उनले दर्शकहरूलाई जी(न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान गरे ।

चिनियाँ राजदूत र आफूलाई जोडेर अशिष्ट सामग्री प्रसारण गर्ने जी(न्यूजलाई प्रधानमन्त्रीले किन रोजे ?

छ महिनाअघि एक भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भनिएको एउटा वार्ता सार्वजनिक गर्यो ।

“यान्छी कफी लिनुहुन्छ ?”

“म पनि त्यस्तै सोचिरहेकी थिएँ । साँच्चै भन्दा नेपालमा तपाईंजस्तो विद्वान र समझदार नेता अरू छैन ।”

“धन्यवाद यान्छी । म तपाईंका लागि जेसुकै गर्न सक्छु । तपाईं एकचोटि भनेर त हेर्नुस्।्”

“मैले मजाक गरेको होइन, म साँच्चै तपाईंको बारेमा सोच्छु । त्यसो त तपाईंलाई सत्तामा बलियोसँग टिकाउने एउटा प्लान मसँग छ ।”

“म तपाईंको हरेक कुरा मान्न तयार छु । के हामी यो बातचित अझै अगाडि बढाउन सक्छौं ? मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौं ?”

“हा हा हा, म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ताकि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस्।् ।”

यो वार्तामा प्रयोग भएका एक–एक शब्द कपोलकल्पित छन् । यसलाई यहाँ प्रकाशन गरेकामा हामी सुरूमै माफी माग्न चाहन्छौं । तर, संवाद लेख्नु र भिडिओ प्रकाशन गर्नु जरूरी भयो । किनकि, नेपाल र नेपालका प्रधानमन्त्रीबारे यस्तो अमर्यादित, अशिष्ट र एउटा जिम्मेवार मिडियाले कल्पना पनि गर्न नसक्ने तुच्छ सामग्री प्रसारण गर्ने भारतीय च्यानल अरू कोही होइन, त्यही जी–न्यूज हो, जसलाई स्वयम्ं प्रधानमन्त्री ओलीले सरकारी निवासमा बोलाएर लामो अन्तर्वार्ता दिए ।

भारतीय समयअनुसार सोमबार राति ९ बजेको प्राइम टाइममा दुई मिडियाले प्रधानमन्त्री ओलीको रेकर्डेड अन्तर्वार्ता एकै समय प्रसारण गरेका थिए । ओलीले जी–न्यूजका प्रधान–सम्पादक सुधीर चौधरीलाई हिन्दी भाषामा अन्तर्वार्ता दिए, जुन ४० मिनेटभन्दा लामो थियो । त्यस्तै, अंग्रेजी भाषाको डब्लुआइओएन (पूरा नामः वल्र्ड इज वन न्यूज) का कार्यकारी सम्पादक पालकी शर्मासँग उनले अंग्रेजीमा कुराकानी गरे ।

फरक भाषाका यी दुई च्यानल एउटै कम्पनीका हुन् । दुवैको वेबसाइटमा जी मिडिया कर्पोरेसन लिमिटेड (एसेल वल्र्ड कम्पनी) द्वारा सञ्चालित भनी उल्लेख छ । डब्लुआइओएनको प्रधान–सम्पादकमा पनि सुधीर चौधरीकै नाम छ । सुधीर आफैंले निलो चिनो लागेको आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट यसको पुष्टि गरेका छन्, जसमा उनले आफ्नो नामको पछाडि लेखेका छन्ः प्रधान–सम्पादक (जी न्यूज, जी बिजनेस, डब्लुआइओएन)।

प्रधानमन्त्रीले अन्तर्वार्तामा के भने भन्ने कुराले पक्कै महत्व राख्छ, त्यतिकै महत्व र अर्थ कुन सञ्चारमाध्यमसँग बोलेका हुन् भन्नेले राख्छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेयता भारतसँग ओलीको सम्बन्ध चिस्सिएको छ । यस्तो बेला संसद विघटन गरी मध्यावधि चुनावको तयारीमा देश दौडाहा गरिरहेका ओलीले सीमासम्बन्धी तिनै पेचिला विषयमा आफ्नो उत्तर दिन भारतको जुन मिडिया छाने, त्यो कस्तो मिडिया हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

जी न्यूज र यही पत्रकार टिम हो, जसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएपछि ओली चिनियाँ राजदूत यान्छीको “प्रेमजाल” मा परेको भन्दै १७ मिनेट लामो बुलेटिन देखाएको थियो । “ओलीकी इश्कियाँ” नाम दिइएको उक्त बुलेटिनमा जी–न्यूजले शिष्टताको सामान्य सीमासमेत नाघ्दै ओली चिनियाँ राजदूतसँगको “प्रेम सम्बन्ध” का कारण प्रायोजित रूपले भारतविरुद्ध लागेको आरोप लगाएको थियो ।

उक्त बुलेटिनमा जी–न्यूजका कार्यक्रम प्रस्तोता ओली र चिनियाँ राजदूत यान्छीको सम्बन्धबारे भन्छिन, “बुजुर्ग प्रधानमन्त्री खड्गप्रसाद ओली इस उम्रमे दिल दे बैठे”

यति मात्र होइन, उनी चिनियाँ राजदूतलाई नेपालसँग मिलेर भारतविरुद्ध षड्यन्त्र गरिरहेकी “जासुस्” को संज्ञा दिन्छिन् । “विषकन्या” भन्नसमेत पछि पर्दैनन् । विषकन्याको अर्थ यस्तो महिला, जसले आफ्नो अभीष्ट पूरा गर्न पुरूषलाई मोहजालमा पार्छ । अर्थात्, चिनियाँ राजदूतले ओलीलाई “हनी ट्रयाप” मा पारेर भारतविरुद्ध उक्साइरहेकी छन् भन्ने जी–न्यूजको आरोप थियो ।

यान्छीको राजनीतिक तथा सामाजिक सक्रियता र उनी विभिन्न कार्यक्रममा सहभागी हुनुलाई पनि जी–न्यूजले चीनको षड्यन्त्रका रूपमा प्रस्तुत गरेको थियो । कार्यक्रम प्रस्तोता भन्छन्–“ुचीनसँग ओलीका केही व्यक्तिगत फोटा र भिडिओ छन्, जसको बलमा ऊ ओलीलाई नचाइरहेको छ ।”

ओली र यान्छीबीच भएको भनिएको उक्त वार्तामा यस्तो पनि सुनिन्छः—

“मिस्टर ओली, केही पाउन केही गुमाउनुपर्छ । यदि भारतसँग तपाईंको सम्बन्ध बिग्रियो भने चीनको आँखामा पर्नुहुन्छ ।”

“त्यो कसरी ? चीन भारतको अगाडि नेपाललाई किन प्राथमिकता देला ?”

“त्यो तपाईं मेरो जिम्मा छाड्दिनू । जस्तो म भन्छु, त्यस्तै गर्दै जानू ।”

“हस्, त्यसै पनि मैले तपाईंसँग बाचा गरिसकेँ ।”

“नेपाल भारतलाई जवाफ दिन सक्षम छ भनेर उसलाई देखाउनुछ । तीन इलाकामा तपाईं आफ्नो दाबी गर्नुस्। बाँकी चीनको साथ त छँदैछ ।”

“ठिक छ, म तपाईंको सबै कुरा मान्छु । चीन साथ भए हामीलाई भारतको खाँचो छैन ।”

यस्तो कपोलकल्पित र अमर्यादित आरोप कुनै पनि लोकतान्त्रिक मुलुकको मिडियाले अर्को मुलुकको सरकार प्रमुखलाई लगाउन सक्दैन। एउटा मित्रराष्ट्रको राजदूतसँग प्रधानमन्त्रीको अमर्यादित र काल्पनिक कथा बुनेर अक्षम्य सामग्री प्रसारण गर्ने र नेपाल र चीन दुवै मुलुकको एकसाथ मानमर्दन गर्ने जी न्यूजलाई प्रधानमन्त्री ओलीले यति चाँडै कसरी खतमाफ दिए ? किन यति चाँडै बालुवाटारमा उनीहरूका लागि रातो कार्पेट ओछ्याउन उनी तयार भए ?

भारतमा विश्वसनीयता कमाएका एकसेएक मिडिया र पत्रकार छन् । तर, त्यति झूटो र अमर्यादित समाचार प्रसारण गरेर नेपाल र भारतमै पनि आफ्नो विश्वसनीयता गुमाएको मिडियालाई प्रधानमन्त्री ओलीले किन रोजे ? त्यो मिडियामार्फत् प्रसारित प्रधानमन्त्री ओलीको अन्तर्वार्ता भारतमै कति विश्वसनीयताका साथ हेरियो होला ? आवश्यक ठाने यी पेचिला प्रश्नको जवाफ प्रधानमन्त्री र उनको टिमले देलान् ।

जी–न्यूजले प्रसारण गरेको उक्त सामग्रीलाई लिएर त्यति बेला व्यापक विरोध भएको थियो । सर्वसाधारणको दबाबपछि नेपाली केबल टिभी सञ्चालकहरूले जी–न्यूजसहित अन्य भारतीय समाचार च्यानलहरूको प्रसारण बन्द गरिदिएका थिए । केबल अपरेटरहरूको यो निर्णयलाई धेरैले धन्यवाद दिए । सामाजिक सञ्जालमा स्वागत भयो ।

जी–न्यूजको गलत समाचारका कारण सबै भारतीय सञ्चारमाध्यममा रोक लगाउनु अर्को गलत कदम भएको टिप्पणी पनि गरिएको थियो । एउटा भारतीय च्यानलले अमर्यादित सामग्री प्रसारण गर्नेबित्तिकै सबै बन्द गरेर हामी अनावश्यक रूपले तरंगित भएको कतिपयले प्रतिक्रिया दिएका थिए । ९हेर्नुहोस्स् ुजी न्युजुले गलत गर्‍यो, सबै भारतीय समाचार च्यानल बन्द गरेर हामीले ठीक गर्‍यौं?

पक्ष–विपक्षको यस्तो तर्क–बितर्कबीच केबल अपरेटरहरूको निर्णयलाई सरकारले भने स्वागत गरेको थियो ।

प्रधानमन्त्रीको अन्तर्वार्तामाथि प्रश्न उठ्नुको अर्को कारण भारतीय पत्रकारितामा जी–न्यूजले समातेको धार पनि हो ।

नेपालसँग जोडिएका र नजोडिएका यी सबै पृष्ठभूमि बिर्सेर प्रधानमन्त्री ओलीले अहिलेको संवेदनशील समयमा आफ्नो अन्तर्वार्ता लिन योग्य पात्र उनैलाई ठाने । उनले यो पनि बिर्से, ुगोदी मिडियाु भनी आरोपित जी–न्यूज सामान्यतया भारतीय संस्थापन पक्षको हित हुने सामग्री मात्र प्रसारण गर्छ। यो कुरा हामीले भनेको होइन। जी–न्यूजजस्ता मिडिया विपक्षीका एजेन्डा बेवास्ता गर्छन् र मोदीको राष्ट्रवादी धारको वकालत गर्छन् भनेर विभिन्न भारतीय वेबसाइट र ब्लगहरूमा प्रशस्तै आलोचना पढ्न पाइन्छ ।

नेपाल लगायत अन्तर्राष्ट्रिय मामिलामा पनि यी मिडियाले मोदीको राष्ट्रवादी धारकै पक्ष लिने हो । उनीहरूले मोदीको स्वार्थ र इसारामै काम गर्छन्। प्रधानमन्त्री ओली चीनको समर्थन पाएर भारतसँग टाढिएका हुन् भन्ने राजनीतिक“ुन्यारेटिभ” बनाउने पनि यिनै मिडिया हुन् ।

नेपालका प्रधानमन्त्रीले चाहने हो भने भारतमा अन्तर्वार्ता दिन कैयन प्रतिष्ठित सञ्चारमाध्यमका विकल्प उपलब्ध छन् । आफ्नै र मुलुकको मर्यादाका लागि पनि प्रधानमन्त्री ओलीले जी(न्यूजलाई पन्छाउन सक्थे, पन्छाउनुपथ्र्यो ।

तर दुर्भाग्य, उनले त्यसैलाई छाने ।

(प्रमको जी न्युजले लिएको अन्तरबार्ताको बिषयमा सेतोपाटीमा प्रकाशित बिचारको सम्पमदित अंश)