कोरोना महामारीभन्दा ठूलोे नेकपा विवाद

काठमाडौं । ‘मिल्दा छाला उक्किनेगरी चाट्ने, फुटेपछि दुइतिर धार भएको तरबारले झैं काट्ने’ कम्युनिष्ट चरीत्र यतिबेला छरपस्ट भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आजभोलि समाचारको शीर्षस्थानमा छ । ठूलो जनमत पाएर सरकार चलाईरहेको यो पार्टीका शीर्ष नेताहरुको घोषित–अघोषित सत्तासाझेदारीको अदृश्य सहमति पालना नभएको भनी सुरु भएको विवाद अन्ततः फुटमा परिणत भएको छ ।

तत्कालिन माओवादी केन्द्र र तत्कालिन नेकपा एमाले मिलेर बनेको नेकपाको शीर्ष स्थानमा दुइजना अध्यक्ष रहने भनिएपछि नै एकताको भविष्यप्रति आशंका गरिएको थियो । एमालेका केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुइवटा समानान्तर कुर्सीमा बसेर बैठकको अध्यक्षता गर्दै आएका थिए । उनीहरु एउटै जहाजका दुइ पाईलट भनिन्थे । ‘पुल काटेर आएको’ भन्दै प्रचण्ड त ‘अब फर्किने बाटो बाँकी नरहेको’ बताउँथे । प्रचण्डले नयाँदिल्ली दौडाहामा प्रधानमन्त्री ओलीसँग सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको भनेर गोपनियता चुहाएपछि ओली उनीसँग हच्किएका थिए । त्यसपछि सुरु भएको खटपटी लामो समय देशलाई बन्धकमा पारेर फुटमा परिणत हुनपुगेको छ । कोरोना महामारीभन्दा ठूलो महत्व पाएको नेकपा विवादले देशको कति समय वर्वाद गर्यो भन्ने कुराको लेखाजोखा हुन बाँकी नै छ ।

नेकपाको सत्ता किचलोले केवल उ मात्र फुटेन जननिर्वाचित प्रतिनिधिसभालाई नै बन्धक झैं बनायो । प्रधानमन्त्री ओलीले कसैलाई दिनैपर्ने जानकारी पनि नदिकन प्रतिनिधसभाको चलिरहेको अधिवेशन अन्त्य गराएका थिए । उनको लामो तयारी रहेछ, अहिले त बिघठन नै गराएका छन् । राष्ट्रपति विद्यादेबी भण्डारीले ओलीका सबै राजनीतिकररणनीतिक कदमहरुलाई सहजता प्रदान गरेपछि राष्ट्रिय राजनीतिमा संकट उत्पन्न भएको छ । बिघठनको मुद्दा सर्र्बाेच्च अदालतको संवैधानिक इजलाशमा बिचाराधीन छ । अदालत नै अवरुध्द भएको राजनीतिको निकास दिने एकमात्र संस्था बाँकी छ ।

यता आएर ओली र उनका विपक्षी कमरेडहरु एकआपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् । प्रचण्ड दुइजना पूर्व एमाले नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पछि लगाएर सडक तताउने प्रयाशमा छन् भने, ओली सरकारको नेतृत्वमा बसेको फाईदा भरपूर उठाईरहेका छन् । साथै दुबै पक्ष निम्नकोटीको लान्छना लाउन पनि पछि परेका छैनन् ।

प्रचण्डको जुलुशबाट राष्ट्रपति विरुध्द अपमानजनक आरोप र निन्दा भैरहेको छ भने विभिन्न विशेषण लाएर प्रधानमन्त्रीलाई समेत ताछ्ने काम उनका नेताहरुले गरिरहेका देखिन्छ । प्रचण्डका दाहिने हात मानिने जनार्दन शर्माले मोरङमा पुगेर ओलीलाई सर्पको उपमा दिएर आलोचना गरेका छन् । शर्माले भनेका छन्– ‘पार्टीभित्र गोमन सर्प बनेर हुर्किएका ओलीले कम्युनिष्टलाई नै डसे ।’

कुनैबेला ओलीले पनि माओवादीको चर्र्काे निन्दा गर्दा सर्पकै उपमा दिएका थिए । उनले माओवादीलाई हरियो घाँसमा लुकेको हरेउ सर्प भनेका थिए । अहिले फुटेको पार्टीलाई निर्वाचन आयोगमा वैधानिकता दावी गर्ने होड चलिरहँदा ओलीले आफू नै असली अध्यक्ष भएको दावी गरेका छन् । उनले सप्तरीको बरमझियाका चर्चित पेडा पसलको उदाहरण पेश गर्दै आफू नै ‘असली बूढो’ भएको बताएका छन् । हुन त अनुचरहरुले ओलीलाई ‘बा’ भनेर स्वस्ति प्रशस्ति गरिसकेकै छन् ।

त्यसो त नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई उतिबेलै ‘गद्दार’ भनेर चर्र्को निन्दा गरेको इतिहास छ । लामो समयपछि उनै पुष्पलाल उनीमाथि कटु वचन प्रहार गर्ने उत्तराधिकारीका पूज्य नेता बने र कैयौं ठाउँमा शालीक पनि बनिसकेका छन् । बामदेब गौतमले एमाले फुटाएर निस्केपछि दुइ गुटमा विभाजित नेताहरुले एकअर्कामाथि बर्षाएको निम्नकोटीको आक्षेप र टिप्पणी समकालिन पुस्ताले बिर्सिहालेको छैन । कम्युनिस्ट पार्टीमा मिल्दा चाट्ने र फुटेपछि काट्ने प्रवृत्तिले संस्कार कै रुप लिएको पछिल्लो घटनाले पनि पुष्टि गरिरहेको छ ।

अरु पार्टी पनि नफुटेका होइनन् । नेपाली कांग्रेस पनि फुट्यो । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी कैयौं पटक फुट्दै जुट्दै गरिरहेको छ । मधेशवादी दलहरुको पनि यस्तै छ इतिहास । तर यी दलहरुका नेताले राजनीतिक आरोप प्रत्यारोप गरे पनि व्यक्तिगत तहमै उत्रिएर नेताहरुमाथि निम्नकोटीको निन्दा र लान्छना गरेको पाईंदैन ।

प्रतिनिधिसभा बिघठनको मुद्दा अदालतको बिचाराधीन छ । यो पुनस्थापना हुन्छ या सदर भएर निर्वाचनतिर बढ्नुपर्ने हुन्छ । यसको छिनोफानो फैसला आएपछि मात्र टुंगो लाग्ने छ । दुबै अवस्थामा के फुटेको नेकपा राजनीतिमा पहिलो नम्बरमा रहीरहला त ? यसमा शंका छ । किनभने विभाजित नेकपा भन्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ठूलो दलको हैसियतमा उभिने निश्चित छ । यसमा मधेशवादी दलहरु कांग्रेससँग उभिने सम्भावना देखिन्छ । प्रतिनिधिसभामा एक नम्बर हैसियत गुमाएको नेकपा के फेरि मिल्न सक्ला ? नेकपाका शीर्ष तहकै नेताका अभिव्यक्ति र निम्नकोटीको आरोपप्रत्यारोप हेर्दा मिल्ने सम्भावना कमजोर देखिन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनिन्छ । सबै कुरा सम्भव हुने राजनीतिमा यी दुइ समूह मिले नै भने पनि आजका मतदाताले के उनीहरुलाई पुरानै हैसियतमा पुर्याईदेलान् त ? यो पनि आजको जल्दोबल्दो प्रश्न हो ।

—सरल टिप्पणी