ओलीको कदम नयाँ तानाशाहको उदय

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विगठन गरेको घटना अहिले सर्वत्र चर्चाको विषय बनेको छ । प्रधानमन्त्रीले संसद विघटनले मुलुकमा नयाँ राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्रीले चालेको कदमपछि कांग्रेसले थालेको सडक संघर्ष र पुस १३ गते झापामा हुने विरोध प्रदर्शनका सम्बन्धित रहेर नेपाली कांग्रेस झापाका सभापति उद्धव थापासंग गरिएको कुराकानीको सारसंक्षेप ।

प्रधानमन्त्रीले मुलुकलाई संवैधानिक संकटमा जबरजस्त धकेलेको घटनालाई कसरी हेर्नुभएको छ ?

–अहिले विश्वभरको नजर नेपालतर्फ तानिएको छ । संविधानको धज्जी उडाउँदै त्यहाँ भएको व्यवस्था मिचेर प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले गर्नुभएको छ, यो असंवैधानिक र अलोकतान्त्रिक छ । यसको विरुद्धमा अहिले सडकमा कांग्रेस ओर्लिएको छ । प्रधानमन्त्री केपी ओलीले जुन कदम चाल्नु भएको छ, यसले संविधानको धज्जी उडाएको छ, ध्वस्त बनाएको छ । निर्वाचनका नाममा निर्वाचन अधिनायकवाद स्थापना गर्ने जुन सोच, उद्देश्य र लक्ष्य राखेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ, त्यसको नेपाली कांग्रेसले सशक्त रुपबाट प्रतिकार गर्छ । त्यही अनुसार आन्दोलनका कार्यक्रम तय भइसकेको छ । भोली देशभरबाट यो असंवैधानिक कामको विरोध हुँर्दैछ ।

संसद विघटन निकासको कुनै विकल्प हो ?

– होइन, यो मात्र विकल्प नै थिएन । उहाँको पार्टीले उहाँलाई सहयोग नगरेको हो भने सहयोग खोज्ने बाटो खुल्ला थियो । आधारहरु थुप्रै थिए संसदभित्र । त्यो ओलीले बिर्सिनु भो । अस्थिर सरकार हुँदा नेपालको विकास र प्रगतिमा सधैं अवरोध भयो भनेर जनताले चाहेजस्तो सरकारका लागि मत दिएका हुन् । त्यो ओलीले बिर्सिभो । जनमतको बर्खिलाप गरियो । संविधानले स्पष्ट व्यवस्था गरेको छ । निर्वाचित प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नपाइने । जति नै गल्ती गरेपनि, जति नै कमजोरी गरेपनि त्यो व्यवस्था संविधानमै छ । तर, त्यसलाई बिर्सेर ओलीले बेइमानी गर्नुभो । संसद विघटन बाहेकको विकल्प खोज्नै चाहनु भएन । आफू नेतृत्वको सरकार राम्ररी चलाउन नसकेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने जुन काम भयो त्यो संविधानको मर्म र भावना विपरितको काम हो । संविधानमा संसद विघटनको प्रावधान नै छैन । संविधानलाई लत्याएर उहाँले अगाडि बढ्न खोज्नु भयो, त्यो गम्भीर गल्ती हो ।

प्रधानमन्त्रीले व्यवस्था नै ‘कू’ गर्न लागेका हुन् ?

– केपी ओलीले जुन प्रकारले संसद विघटन गर्नुभएको छ, यो कोही कसैलाई चित्त बुझ्ने विषय नै होइन र कसैलाई पनि चित्त बुझेको छैन । उहाँ निकटका बाहेक देशभरीका आम नागरिक यसलाई गलत काम भनिरहेका छन् –र सत्य पनि त्यही हो । अहिले सबैको विश्वास सर्वोच्च अदालतमाथि छ । सर्वोच्चको आदेश पर्खिनुबाहेक हामीसंग अर्को विकल्प छैन । केपी ओलीले चालेको कदम गलत छ । हामीलाई विश्वास छ, सर्वोच्च अदालतले यसमा उचित न्याय दिन्छ । मुलुकको अहिलेको संकट टार्ने एकमात्र आशाको केन्द्र सर्वोच्च अदालत बनेको छ । मुलुकलाई सहज ढंगबाट अगाडि बढाउने दिशामा सर्वोच्च अदालतले फैसला गर्छ त्यो आम नागरिकको अपेक्षा हो ।

संसद विघटन प्रधानमन्त्रीले गरेको अराजक कार्य हो कि होइन ?

–यो अराजक मात्र होइन, विधि, प्रक्रिया, विधान र संविधान विपरितको काम हो । कानूनी राज्यको मूल्य–मान्यता विपरितको काम प्रधानमन्त्रीले गर्नुभएको छ । जो काम विश्वका तानाशाहहरुले विभिन्न कालखण्डमा गरेको इतिहास छ । केपी ओली अराजक ढंगबाट नयाँ तानाशाहका रुपमा उदाउन खोजेको आशंका उब्जिएको छ । संविधानले ग्यारेन्टी गरेका सबै हक र अधिकार कुल्चेर केपी ओलीले अगाडि बढ्ने जुन धृष्टता गर्नुभएको छ, त्यो नयाँ तानाशाह उदयको प्रारुप हो । तर, यो उहाँको सपना हो, कदापी पूरा हुँदैन । देशमा तानाशाह र अधिनायकवाद लाद्न खोज्नेहरु परास्त भएको इतिहास छ । यस पटक पनि त्यो हुन्छ । नेपाली जनताले गर्ने सडक आन्दोलनले परिवर्तन संभव भएको छ । प्रधानमन्त्रीले गरेको गल्तीको नागरिकलाई सुसुचित गराउन कांग्रेसले थालेको छ । त्यही भएर सडक संघर्ष शुरु गरिएको हो । कांग्रेस चुप लागेर बस्दैन । जनताका माझ कांग्रेस जान्छ र विषम परिस्थितिको अन्त्य गर्छ ।

कांग्रेसको स्पष्ट धारणा नै देखिएन नि ?

– नेतृत्वले स्पष्ट धारणा बनाउन सकेन भन्ने कुरा बाहिर आएको छ, यो आंशिक सत्य हो । तर, कांग्रेस विधि, प्रक्रिया र पद्धतिमा चल्ने पार्टी भएकाले आन्दोलन केही कमजोर जस्तो देखिएको हो । तर, कांग्रेसमा प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमलाई लिएर कुनै अलमल छैन । हामीले अदालतको फैसला पर्खेर बसेका हौं । अदालतले गरेको निर्णय कांग्रेसले स्विकार्छ । निर्वाचनबाट कांग्रेस पछि हट्दैन । र संघर्षको मैदानमा ओर्लन कांग्रेस डराउँदैन पनि । अदालतको फैसला नआउञ्जेल कांग्रेस सडकमा बसेर गलत काम कारवाहीको खबरदारी गरिरहन्छ । प्रतिनिधिसभा विघटनमात्र होइन, ओली सरकारले गर्दै आएका सबैखाले गतिविधिको शुक्ष्म निरीक्षण कांग्रेसले गरिरहेको छ । कांग्रेसले भोली देशैभर गर्ने प्रदर्शन पनि त्यही शिलशिलाको पहिलो चरण हो । मुलुकमा परेको संकटको निकास दिन काम कांग्रेसले सडकबाट गर्छ । सर्वोच्च अदालतको फैसलापछि कांग्रेसले आफ्नो स्पष्ट धारणा बनाएर अघि बढ्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई आक्रमक नहुनु भन्नुको रहस्य चाहिं के हो ?

–पार्टी सभापतिले भन्ने कुरा त्यही हो, किनकि कांग्रेस संविधानको गलत प्रयोग नहोस् भन्ने चाहन्छ । हामीलाई सर्वोच्च अदालतप्रति विश्वास छ । त्यही भएर पार्टी सभापतिले संयमित हुन भन्नु भएको हो । पार्टी सभापति देउवाले केपी ओलीको कदमलाई समर्थन गरेको भन्ने कुरा होइन, हुनै सक्दैन । सर्वोच्चको फैसला नआउञ्जेल पर्ख र हेरको अवस्थामा पार्टी रहेको छ । निर्वाचन वा आन्दोलन के मा जानुपर्ने हो त्यो सर्वोच्चको फैसलापछि निक्र्यौंल हुन्छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले चाहिं पर्खेर हेरौं भन्दा पनि सडक अरुले कब्जा गर्छन् भनेर आन्दोलनको कुरा गर्नुभएको हो । अरुको हातमा सडक जान्छ भनेर बरिष्ठ नेता पौडेलले त्यस्तो कुरा गर्नु भएको हो । अलमल र दुविधा छैन । उहाँको कुरा सडक पनि छोड्नु भएन भन्ने हो, सर्वोच्चको फैसला पनि पर्खनु पर्छ भन्ने कुरा हो ।

भोलीको प्रदर्शनमा झापामा कति मान्छे सडकमा आउँछन् ?

–यो देशव्यापी कार्यक्रम हो । झापाका पाँच क्षेत्रमा कार्यक्रम हुन्छ । ती सबै कार्यक्रम क्षेत्रीय समितिको अगुवाईमा हुने हो । धुलावारी, शनिश्चरे, बनियानी, दुधे र दमकमा कार्यक्रम हुन्छ । त्यहाँ जिल्लामा रहनु भएका पाँचजना केन्द्रीय सदस्यले सम्बोधन गर्नुहुन्छ । दमकको कार्यक्रम प्रधानमन्त्रीको गृहनगरमा हुने भएकाले त्यहाँ डा। मिनेन्द्र रिजाल आउनु हुन्छ । सबै ठाउँमा गरेर २५ हजार बढी मानिस सडकमा आउने छन् । हरेक क्षेत्रमा ५÷५ हजार मानिस सडकमा उतार्ने तयारी छ । दमकको कार्यक्रम अझै सशक्त र प्रभावकारी बनाउन पार्टी पंक्ति लागेको छ । झापाको कार्यक्रम लक्ष्य अनुरुपकै हुनेमा म विश्वस्त छु । जनता अहिले उकुस–मुकुस भएका छन् । सडकमा उत्रेर प्रधानमन्त्री ओलीको कदमको प्रतिकार गर्नेमा कुनै शंका छैन । कांग्रेस त्यसमा विश्वस्त छ ।

तपाई त संवैधानिक ‘कू’ गर्न उद्दत रहेका प्रधानमन्त्री ओलीको गृह जिल्लाको नेपाली कांग्रेसको सभापति हो, तपाईले चाहिं ओलीको कदमलाई कसरी लिनु भएको छ ?

– ओली र हामो पार्टी अलग भएपनि जिल्लाको व्यक्ति प्रधानमन्त्री हुँदा गौरव लागेको थियो । उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा झापाबासी सबैलाई गर्व महसुस भएको थियो । उहाँ धेरै संघर्ष गरेको र लामो समय जेल बसेको व्यक्ति पनि हो । त्यस्तो व्यक्ति प्रधानमन्त्री बन्दा बेखुशी हुनुपर्ने कुनै कारण थिएन । तर, आज उहाँले जुन कदम चाल्नु त्यसबाट उहाँ नेपालको कलंकित प्रधानमन्त्री सावित हुनुभएको छ । र शायदै अरु व्यक्ति यस्तो कलंकित पनि हुँदैनन् । जुन परिवर्तन र व्यवस्थाका लागि उहाँले रगत पसिना बगाउनु भयो । अहिले त्यही व्यवस्था खत्तम पार्न उहाँ लागि गर्नुभएको छ । उहाँले इतिहास नै गलत बनाउनु भयो । आफूले जुन बाटो बनायो, त्यही बाटोमा फोहोर गर्ने प्रधानमन्त्रीका रुपमा उहाँ चित्रित हुनु भएको छ । नेपालको राजनैतिक इतिहासमा नै उहाँ कलंक लागेको एउटा प्रधानमन्त्री बनिसक्नु भएको छ । अझै समय छ उहाँले चालेको कदम सुधारेर इतिहासमै कलंकित नहुनुस् भन्ने मेरो सुभेक्षा हो ।

उसोभए प्रधानमन्त्री बेइमान मान्छे हुन् ?

– २०६२र०६३ को जनआन्दोलनको बेला उहाँले सडकमा निस्केको नागरिक आन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुगिन्छ ? भनेर कटाक्ष गरेकै हो । उहाँले नेपालमा गणतन्त्र आउँछ भनेर विश्वास गर्नुनै भएको थिएन । अहिले त्यही सावित गरेर देखाउनु भयो । उहाँलाई गलत व्यक्ति भनेर हामीले सोचेका थिएनौं । तर संसद विघटन गरेपछि उहाँ गलत भन्ने प्रमाणित भयो । उहाँ बाँदरे प्रबृतिको नेता हुनुहुँदोरहेछ । उहाँ गणतन्त्र र परिवर्तन चाहनु हुन्न भन्ने कुरा अब चाहिं पूर्ण रुपमा पुष्टि भयो । केपी ओलीले राजा पनि त्याउन सक्नुहुन्छ कि भन्ने भय मुलुकबासीमा छ । उहाँ प्रदेशसभा पनि विगठन गरेर थप गलत काम गर्न उद्दत हुनुभएको छ । यसले उहाँको चरित्र र नियत पर्दाफास गरिदिएको छ । उहाँ मुखुण्डो ओडेर राजनीति गर्ने व्यक्ति हो भन्नेमा अब शंका रहेन् । जनताको रगत, पसिना र सहिदको बलिदानमाथि खेलवाड गर्ने व्यक्ति हो भन्ने अब कुनै भ्रम छैन ।

कांग्रेस कमजोर भएको हो ?

– कांग्रेस कमजोर जस्तो देखिएको छ । हरेक परिवर्तनमा शान्तिपूर्ण ढंगले भूमिका निर्वाह गर्ने पार्टी भएकाले त्यस्तो भएको हो । अमुक व्यक्तिले भने जस्तो निम्छरो र कमजोर चाहिं होइन । हिंसा आतंक र अराजकतामा कांग्रेस विश्वास गर्दैन । कम्युनिष्ट र कांग्रेसको स्कुलिङ फरक भएर पनि अहिलेको घटनामा कांग्रेस कमजोरजस्तो देखिएको हो । तोडफोड गर्नु टायर बाल्नु, सडक अवरुद्ध गर्नु मात्रै आन्दोलन होइन । शालिन ढंगले रुपान्तरण गर्न सक्नु चाहिं साँचो अर्थमा आन्दोलन हो । झगडा गरेर र तोडफोडले मात्रै कोही शक्तिशाली सावित हुने होइन् ।