झड्का मेसिन जोडियो प्रभावकारी नहुँदा समस्या यथावत

जंगली हात्तीलाई बस्तीमा पस्न नदिन झापामा पहिलो पल्ट विद्युतीय झड्का मेसिनको प्रयोग गरिएको छ । उत्तरी झापाको बाहुण्डाँगी क्षेत्रबाट दक्षिण सरेका सदरमुकाम भद्रपुुर नगरपालिकाका विभिन्न वडाहरूमा हात्तीले उपद्रो गर्न थालेपछि ९ नम्बर वडामा पहिलोपटक झट्का मेसिनको प्रयोग गरिएको हो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको चन्द्रगढी गाविस क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलो मिटर दुरीमा विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको छ । भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युतको ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने विश्वास गरिएको छ ।

पछिल्लो समय झड्का मेसिनको विद्युतीय प्रवाह जडित घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्ने गरेपछि जङ्गली हात्तीबाट दिनहुँ भोग्नुपर्ने आतङ्क घटिरहेको अवस्था भने छैन । स्थानीय बासीले हात्ती उपद्रोबाट मुक्ति पाउने विश्वास घट्दै गएको छ । झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश नं–१ सरकारले रू १४ लाख र सङ्घीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट रू २० लाख प्राप्त भएर काम गरिएको भए पनि प्रभावकारी बन्न नसकेपछि स्थानीयलाई पाक्न लागेको धान जोगाउन चिन्ता थपिएको छ । उज्यालोका लागि जडित सौर्य बत्ती समेत सो क्षेत्रमा बल्न छोडेपछि स्थानीयलाई रातविरात हात्ती आक्रमणमा परिने त्रासले सताइरहेको छ ।

झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन । हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ । बाँकी काम धमाधम भइरहेको अवस्था छ । काम भएको स्थलबाट समेत सहज रूपमा हात्ती आवतजावत गरिरहेको अवस्था हेर्दा लक्ष्य अनुरूप हात्ती रोकथाम नहुने निश्चित जस्तै छ ।

चन्द्रगढी वन क्षेत्रमा १३ वटाको संख्यामा रहेका विभिन्न झुण्ड रैथाने भएका जङ्गली हात्ती बाह्रै महिना बस्दै आएका छन् । जङ्गलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने जस्ता उपद्रो गर्दै आएका छन् । यी हात्तीका झुण्डले दक्षिणी झापाका अधिकाम्स ग्रामीण बस्तीमा समेत दुःख दिने गरेका छन् । यसका लागि जैविक मार्ग सहितको प्राकृतिक चिडियाघरका रूपमा उत्तर दक्षिण झापाको वन क्षेत्र जोड्न र हात्ती समस्या हल गर्न ९ करोडको जैविक मार्ग योजना स्वीकृत भएर काम थालिएको तीन वर्ष पूरा भए पनि चारकोशे झाडी रहेको जलथल वन क्षेत्रबाट चन्द्रगढी वनसम्म जैविक मार्ग जोडिएको छैन । जैविक मार्ग बन्न नसक्नुको विकल्पमा रोजिएको झड्का मेसिनले पनि प्रभावकारी काम गर्न नसकेपछि स्थानीयमा हात्तीबाट सिर्जित पीडा घट्न सकेको छैन ।