‘जसको जोत, उसकै पोत’ बि.पि.

आज नेपाली प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म जयन्ती । यी नै बिपीले राणा, पञ्चायत शासनको विरुद्धमा विद्रोह गरे । नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि बने । ‘जसको जोत, उसकै पोत’ वा खेत जोत्नेकै हुनुपर्छ घर पोत्नेकै हुनुपर्छ भन्ने सिद्धान्त बोकेर हिँडे । उनी नेपाली कांग्रेसका संस्थापक पनि हुन् । तर, उनलाई कांग्रेसले मात्रै हैन अन्य थुप्रै राजनीतिक विचार बोक्नेले पनि आदर्शको रुपमा मान्ने गरेका छन् । उनै बिपीको १०७ औँ जन्मजयन्तीको अवसरमा बिपीसँग संगत गरेका केही नेताहरूको भनाई यहाँ राखिएको छ । केहीले सामाजिक सञ्जालमा लेखेर पनि बिपीलाई सम्झना गरिरहेका छन् ।

गोपालमान श्रेष्ठ भन्छन् , बिपी सबैको आदर्श पुरुष हो, हाम्रो त महामानव नै हो हाम्रो नेपालको इतिहासमा एउटा यस्तो व्यक्ति हो नि नेपाल भूमि रहेसम्म उहाँको नाम रहिरहन्छ । उहाँले ठूलो परिवर्तन गराउनु भो । १०४ वर्षे राणा शासन अन्त्य गरेर । हामी नेपाली जनता पहिले कमाराकमारी जस्ता थियौँ । त्यसपछि हामी रैती भयौँ । त्यसपछि त्योबाट पनि उन्मुक्ति दिएर बिपीले नै प्रजा बनाउनु भो र त हामी अहिले नागरिक भयौँ। उहाँको नीति, उहाँको कामकारबाही, उहाँले राजनीतिमा गरेको योगदान, समाजमा गरेको योगदान, समाजमा गरेको साहित्यको योगदान, हामीले सम्झँदा उहाँबाहेक त्यस्तो व्यक्ति अर्को यो भूमिमा जन्मिनुभएकै छैन । देशमा बीचमा बिपीको सिद्धान्त विचलित भएको पनि छ । अहिले पनि उहाँले लिएको नीति प्रजातन्त्र र समाजवादसँगै राष्ट्र र राष्ट्रियता अवलम्बन गर्नुपर्छ । उहाँले त्यो बेलामा यत्तिकै दुईतिहाइ मत ल्याउनुभएको होइन । जनतालाई अधिकार दिने कुरा उहाँको प्रष्ट थियो । उहाँले धेरै कुराको सुधार गर्नुभएको थियो । उहाँले त खेत हुन्छ जोत्नेको, घर हुन्छ पोत्नेको सम्म पनि भन्नुहुन्थ्यो । जमिनदारीहरूको उन्मूलनदेखि सारा कार्य गरेर विकृति हटाएर यो मुलुकका फरक(फरक जातजाति भाषाभाषीलाई साथमा लिएर जाने मान्छे हुनुहुन्थ्यो । अब पनि हामीहरूले त्यहीअनुसार अगाडि बढ्नुपर्छ । मुलुकमा प्रजातान्त्रिक समाजवाद भन्नुहुन्थ्यो उहाँले । प्रजातन्त्र बिग्रियो भने साम्यवाद हुन्छ, समाजवाद मात्रै भएर पनि भएन । त्यसैले प्रजातान्त्रिक समाजवाद भन्नुहुन्थ्यो । उहाँको त्यो बेलाको सोच कति दीर्घकालीन रहेछ र अहिले हाम्रो सोच कति क्षणिक रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ । नेपालमा विकास गर्न, हामी नेताहरूले भनेजस्तो समृद्ध नेपाल बनाउन बिपीले दिएको बाटोबाट मात्रै सम्भव छ ।

कुलबहादुर गुरुङः — सबैभन्दा पहिले बिपीलाई मैले मेरो नेताको रूपमा मान्छु यसका अलवा पनि उहाँ नेपालीको लागि आदर्श व्यक्तित्व हो । बिपीले नेपालमा प्रजातन्त्रको लागि लडे, राणा शासनविरुद्ध लडे, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि लडे । प्रजातन्त्र र समाजवादको स्थापनाको लागि लड्दा राजा महेन्द्रले त जेल नै राखे । उनले जेलमा रहँदा पनि आफ्नो संघर्ष जारी नै राखे । मैले कयौँपटक उहाँको संगत गरेको छु भेट गरेको छु उहाँ जस्तो प्रष्ट मान्छे नै अहिले नेपालमा छैन । बिपीले सुकिला,मुकिलाहरू फेरि एकपटक रजाइँ गर्न पुग्छन् त्यो पछाडि पनि एकपटक ठूलो आन्दोलन हुन्छ भन्नुहुन्थ्यो । उहाँले आफ्नो किताबमा पनि त्यो लेख्नुभएको छ । अहिले यसो विचार गर्दा बिपीले ऊ बेलामै अन्दाज गरेको कुरा पो हुँदै छ कि भन्ने लाग्छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा चढाउ र बढाउ प्रवृत्तिको रजाइँ छ त्यसले चाहिँ महामानव बिपीको सपना पूरा गर्दैन कि भन्ने लाग्छ । बिपीसँग बसेका दिनहरू सम्झँदा अहिले राजनीति गर्नेहरू देशको लागि हैन आफ्नो लागि मात्रै सोचेको जस्तो लाग्छ ।

गोविन्दराज जोशीः— बिपी प्रजातन्त्रको लागि लड्नेहरूका लागि, लडिरहेकाहरूका लागि प्रेरणाका स्रोत हुन् । उनी विचारका प्रवद्र्धक, एउटा सिद्धान्त निष्ठ राजनीतिज्ञको रूपमा मैले स्मरण गरेको छु । उहाँले गरेको संघर्ष, त्यागको मूल्यांकन आजको राजनीतिक परिपाटीले सम्मान गर्न सकेन । उहाँको त्यागले नै आजको राजनीतिक व्यवस्था आएको भनेर बिर्सनु हुँदैन । अहिले नेतृत्वमा रहनेहरूले बिपीको समाजवाद नारा मात्रै बनाए, कार्यान्वयन र पालनाबाट भड्किए ।