कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्ष लाग्ने अनुमान

काठमाडौं । कोरोना महामारीले मानव समुदायलाई अत्याईरहेका बेला विश्व स्वास्थ्य संगठन (WHO) का महानिर्देशकले यो भाइरस नियन्त्रणमा आउन अझै दुई समय लाग्ने अनुमान गरेको बताएका छन् । महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बिगतका महामारीको उदाहरण दिँदै भनेका छन्– “सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको थियो, कोरोना भाइरस नियन्त्रणमा आउनेमा पनि यस्तै आशा गर्न सकिन्छ ।’ महानिर्देशकको आशा छ, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने छ । उनले ‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ’ भनेका छन् । कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा उनले जोड दिएका छन् ।

यता नेपाल सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने निर्णय गरेको छ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन तथा हङ्कङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट यात्रु ल्याउने तयारी सरकारले गरेको हो । सरकारले यसअघि नै दैनिक पाँच सयभन्दा यात्रु नबढ्ने गरी नियमित तथा उद्धार (चार्टर) अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका प्रकाशन गर्ने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नेपाल सरकारको निर्णय अनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान सुरु गर्न लागिएको हो । पीसीआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन पाइने छैन । नियमित उडानबाट आउने यात्रुले जहाज चढ्नु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यस्तै कम्तीमा सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्ने गरी होटल बुकिङको प्रमाणसमेत पेस गर्नुपर्नेछ । यसैगरी कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ । नियमित उडानबाट आउने यात्रुको सात दिने होटल क्वारेन्टाइनको खर्चसमेत टिकट बुक गर्दाकै बेला सम्बन्धित यात्रुबाट लिनुपर्ने व्यवस्था गरिएको छ । होटल क्वारेन्टाइनको खर्च भुक्तानी गर्ने दायित्वसमेत सम्बन्धित एयरलाइन्सले गर्नुपर्ने जनाइएको छ । पीसीआर परीक्षण नगराएका, होटल बुकिङ नगरेका वा अन्य सर्त पूरा नगरेका कुनै यात्रु नियमित उडानबाट ल्याइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई कारबाही गरिने समेत जनाइएको छ ।