झापाका पशुमा “लम्पी स्किन डिजिज” फैलदै
भद्रपुर । झापामा ४० हजार भन्दा बढी पशु “लम्पी स्किन डिजिज” बाट संक्रमित भएकाछन् । यो संक्रमण झापाका १५ वटै स्थानीय तहमा फैलिएको छ । पशुमा खासगरी गाई पशुमा फैलिएको यो संक्रमण बारे, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गंगाराम यादव भन्छन्, “यो वर्ष मानिस, पशुपंक्षी र कृषिमा नयाँ रोग देखियो, मानिसमा कोरोना, पशुपंक्षीमा लम्पी स्किन डिजिज र कृषिमा सलह । यी तीनै रोगको उपचार पत्ता लागेको छैन ।” झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको अनौठो रोगका बारे सोधिएको जिज्ञासाका क्रममा डा.यादवले यस्तो प्रतिक्रिया दिएकाछन् ।
यसैवर्षदेखि झापाका पशु (खासगरी गाई)मा देखिएको अनौठो रोगका कारण पशुपालक कृषकहरु चिन्तित छन् । गोठमा पालेका गाईमा अचानक फोका देखिने, उक्त फोका बढ्दै जाने, फुट्ेर घाउ हुने र जोर्र्नी तथा जीउ सुन्निने गरेपनि उक्त रोग के हो भन्ने किसानले भेउ पाउन सकेका छैनन् । र उपचारको बिधि पनि थाहा पाउन सकेका छैनन् । डा. यादव भन्छन् “कोरोनाको औषधि पत्ता नलागेजस्तै लम्पीको पनि औषधि पत्ता लागेको छैन । त्यसैगरी कृषिमा देखिएको सलहको पनि औषधि पाइदैन । तर यी तिनै रोग संक्रामक देखिएका छन् ।”
पहिला गाईलाई ज्वरो आउने, ज्वरोसंगसंगै खुट्टाका जोर्र्नीमा गाँठागुठी देखिने, विस्तारै सुन्निने र गाँठा फुटेपछि जीउनै सुन्निने अनौठो रोगको समस्या देखिन थालेको अर्जुनधारा–९ निवासी डिल्लीराम दाहालले बताए । ज्वरो आएपछि पशुले खान मन नगर्ने र क्रमश शिथिल बन्दै जाने दाहालले बताए । अधिकांस जसो स्थानीयबासीको गाईमा यो समस्या देखिएको हो । स्थानीयका अनुसार उक्त रोग बढ्दै जाँदा गाईमा ज्वरो आउने, दूध कम आउन थाल्ने जस्ता लक्षणहरु देखापर्छन् । “यस्ता रोग लागेका पशुको दूध खानु हुन्छ कि हुँदैन भन्ने पनि थाहा छैन” अर्जुनधारा–९ का रेनु बस्नेत बताउँछन् “तर दूध र दहीको स्वाद पहिलाको जस्तो छैन ।” उनले भने ।
घरमा पालिएका तथा ब्यावसायिक रुपमा सञ्चालन गरिएका गाई फर्ममा समेत यस्तो रोग देखिएपछि किसान र ब्यवसायी चिन्तित बनेका हुन् । “पहिला गाईमा मानिसलाई निस्कने पानी फोका जस्तो फोका देखियो, त्यो फोका २४ घण्टा नवित्तै शरीरभरी फैलियो” अर्जुनधारा गाउँपालिकास्थित कालिका पीठले सञ्चालन गरेको गौशालाका गौसेवक जयन्त चापागाँईले भने–“त्यसपछि गाईका सबै जोर्र्नी जोर्र्नीमा गाँठा देखियो, अहिले गाँठा फुट्न थालेको छ, यो रोगले भेटेपछि गाई एकदमै कमजोर भएका छन् ।” गौशालाको ११ बढी गाई र गोवंशमा यो समस्या देखिएको उनले बताए ।
पशुमा देखा परेको उक्त रोग लम्पी डिजिज नामक एकप्रकारको भाइरल भएको अर्जुनधारा नगरपालिका पशु सेवा इन्चार्ज पदमबहादुर राईले बताए । झापामा पहिलोपटक यो रोग देखिएको उनले जानकारी गराए । पशुमा अनौठो रोग देखा परेपछि पशुपालक किसान त्रसित भएका बेला राईले यो रोगकै कारण पशु नमर्ने बताए । उनले भने, “त्यो मात्रै रोग लागेर मर्ने संभावना एकदमै न्यून हुन्छ, यसको मृत्यु दर १.५ प्रतिशत मात्र हो ।” तर, अरु रोग थपियो भने भन्न नसकिने उनको भनाइ छ । कुनै–कुनै पशुमा ज्वरो समेत देखिएकाले एन्टिबायोटिक प्रयोग गरिएको उनले जानकारी दिए । उनले लम्पी डिजिजको खास औषधी नभएको बताए ।
झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको यो अनौठो रोग ‘लम्पी स्किन डिजिज’ फैलिएको जिल्लास्थित पशुस्वास्थ्य कार्यालयका प्रमुख डा.गंगाराम यादवले बताए । झण्डै १५ वर्ष अगाडि अफ्रिकन देशका पशुमा देखिएको उक्त रोग भारत हुँदै यो वर्ष पहिलो पटक नेपालमा देखा परेको यादवले जानकारी दिए । यादवका अनुसार भारतबाट पशु वारपार गर्दा नेपाल भित्रिएको हुन सक्ने यादवको अनुमान छ । गत असारको अन्तिम हप्ताबाट देखापरेको लम्पी स्किन डिजिजबारे कार्यालयले ११ दिन अघि गरेको सर्भेक्षण अनुसार ४० देखि ५० हजारसम्म पशु उक्त रोगको जोखिममा रहेको यादवले बताए । उनका अनुसार अहिलेसम्ममा ८ देखि ९ वटा पशुको मृत्यु भएको पाइएको उनले बताए । उनका अनुसार व्यवसायीक ठूला पशुफार्म भन्दा साना पशुपालक कृषकका गोठमा उक्त रोग समस्या भन्दै गएको छ । लामखुट्टे, झिंगा र डाँठले एकबाट अर्र्काे पशुमा सार्न सक्ने एकप्रकारको भाइरल रोग लागेका पशुलाई अन्य पशुबाट अलग राख्ने, गोठ सरसफाईमा ध्यान दिनुका साथै स्प्रे गर्ने जस्ता सावधानी अपनाउन सके रोग कम भएर जाने उनको सुझाव छ । यादवले भने, “लम्पी स्किन डिजिज भएका पशुबाट उत्पादनमा भने ७० देखि ८० प्रतिशतसम्म कमी आउन सक्छ, तर दूध मज्जाले उमालेर खाएमा मानिसलाई केही पनि हुँदैन ।”