एउटै भवनमा द्रुत सरूवा रोगी र अन्य रोगीको उपचार संभव छ ?
विकासका लागि दीर्घकालीन सोच कसैले अगाडि सार्छ भने उसले विज्ञ समूहको स्थलगत अध्ययन तथा पर्यावरणीय प्रभाव अनुगमन गरेपछि काम अगाडि बढाउँछ । यस्तो कार्यमा परियोजना स्थलका सर्वसाधरणले अगाडिबाटै परियोजना वारेमा जानकारी पाउने व्यवस्था हुन्छ । तर, नेपालका विकासका हरेक काम अनुमान, स्वार्थ, दाउपेचका भरमा गरिने परम्परा अहिलेसम्म जीवित भएकै कारण दीर्घकालीन विकास अल्पकालमै विलय भइरहेका प्रस्तै उदाहरण छन् । अझ संघीय शासन प्रणालीमा स्थानीय सरकार जति भरपर्दो र विश्वासिलो सरकार अन्य सरकार हुन सक्दैनन् । संघीयता कार्यान्वयनमा आएको ५ वर्षे अवधिमा संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई अहिलेसम्म पनि सरकारी हैसियत दिन नसक्दा विकासका काममा विवाद सिर्जना भइरहेका छन् । पछिल्लो पटक भद्रपुर स्थित मेची अञ्चल अस्पताल भित्र कोरोना उपचार केन्द्र बनाइँदा अन्य उपचार सेवा विस्तारै विस्थापित हुन थालेका छन् । यस्तो अवस्था आउँछ भनेरै स्थानीय नागरिकले अन्यत्रै कोरोना उपचार केन्द्र बनाउन पटक पटक नेतृत्व तहलाई अनुरोध गरेका थिए तर स्थानीयको आवाज दवाएर अस्पताल भित्रै अन्य रोगीको उपचार गर्ने वार्डलाई नै कोरोना रोगी राख्ने केन्द्र बनाइयो । एउटै भवनभित्र अन्य रोगी र द्रुत सरूवा रोगी राख्ने सरकारी निर्णयले उपचार सेवा प्रभावित पार्ने अवस्था आएको हो । यस अवस्थालाई दीर्घकालीन सोचविनाको विकास मान्न सकिन्छ ।
प्राविधिक अध्ययन अनुसन्धानविना एउटै भवनमा महामारीको रूपमा विश्वभर फैलरिहेको कोभिड १९ उपचार कक्ष बनाउन जिल्ला समन्वय समितिले गरेको सिफारिस कार्यान्वयनमा आइपुग्दा गरिबको उपचार स्थल मेची अस्पतालमा अन्य रोग लागेका रोगी पस्न नसक्ने अवस्था निर्माण भइसकेको छ । प्रदेश सरकारको उत्तराधिकारी रहेको जिल्ला समन्वय समिति नेतृत्वले अस्पताल रहेको क्षेत्रका स्थानीय बासिन्दाले अञ्चल अस्पतालभन्दा अन्यत्रै व्यवस्थित रूपमा कोरोना उपचार केन्द्र बनाउन गरेको अनुरोध राजनीतिक रङ छेपेर सुरक्षाका दृष्टिले पनि संवेदनशील छ नभइ आइसुलेसन कक्षलाई कोरोना उपचार केन्द्र निर्माण गरिदा सर्वसाधरणको सेवा प्रभावित हुने अवस्था आएको हो । कोरोना संक्रमितबाट उत्पन्न हुने फोहोर व्यवस्थापनका लागि उचित प्रवन्ध छैन । अन्य उपचार गर्न आउने नागरिकलाई कोभिड संक्रमण हुन नदिने उच्च स्तरीय सेवा प्रवाह गर्न सक्ने अवस्था अवस्था पनि छैन । घेरावारा छैन । कोरोना उपचार भइरहेको अस्पताल परिसरसित बालबालिका, सुत्केरी महिला, एच.आइ.भी. संक्रमितको उपचार गर्ने जस्ता संवेदनशील उपचार केन्द्रहरू रहेका छन् ।
न्युन आर्थिक अवस्थाका अधिकाम्स नागरिकको प्रमुख उपचार केन्द्र रहेको मेची अस्पतालको हाल सञ्चालित भवन जीर्ण तथा साँघुरो छ । यही भवन भित्र कोरोना अस्पताल बनाइएपछि मेची अस्पतालमा सेवा लिन आउने मानसिकता रोग थपिने डरमा रूपान्तरण भइरहेको छ । यहाँ कोरोना रोगीबाट अन्य रोगीमा संक्रमण फैलन नदिने न्युनतम मापदण्ड विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा नीतिसित मिल्ने सुरक्षा सावधानी समेत पालना गर्न सक्ने साधन र श्रोत पयाप्त छैनन् । अस्पताल आसपास घर भएका हजारौं नागरिक कोरोना संक्रमण त्रासले विस्थापित हुने चिन्तामा परिरहेका छन् । अर्कातिर गरिब र विपन्न परिवारका व्यक्ति सरकारी अस्पतालका सेवा विस्थापित भएर पैसाका कारण निजी अस्पताल पुग्न नपाई मर्ने दिन आउँदै छ । ठूलाठालु, धनी र सम्पन्नका लागि यस अस्पतालको सेवा त्यति जरूरी छैन होला तर, विपन्नले अस्पतालको मुख हेरेर मर्नु परे पनि यही अस्पतालको ढोकाभित्र प्रवेश गर्नु पर्ने सत्यलाई बिर्सनु हुँदैन । सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता सम्वेदनशील क्षेत्र ५० मिटर दुरी भित्रै पर्दछन् । यी सवै स्वास्थ्य उपचारका आधारभूत स्थल हुन् । भद्रपुर नगर क्षेत्रमा रहेका अन्य भवनहरू अस्पताल बन्न योग्य विकल्पका रूपमा हुँदा हुँदै सर्वसाधरणको उपचार दिइरहेको अस्पताल भवन नै किन कोरोना उपचारका लागि रोजियो त ? रोग संक्रमणले पार्टी, जात, वर्ग र धर्मको आधारमा विभेद गर्दैन । औषधीको आविष्कार समेत नभएको द्रुत सरूवा रोग उपचार गर्ने अस्पताल अन्य रोगीको उपचार स्थलसित जोडिनु हुँदैन भन्ने विश्वव्यापी मान्यता पनि ख्याल गर्नु पर्ने थियो । यी सवै पक्षको अध्ययन गर्ने हो भने कोरोना विशेष उपचारका लागि मेची अस्पतालको भवन उपयुक्त हुनै सक्दैन ।