पक्षघातले भन्दा सहकारीको ऋणले पिरोलिदै दीपक
भद्रपुर । ६ महिना यताबाट उच्च रक्तचापका कारण शरीर अपाङग भइ ओछ्यान परेका झापा भद्रपुर ९ घोडामाराका ४६ वर्षीय दीपक राजवंशी रोगले भन्दा ऋणको बोझले पिरोल्लिन बाध्य छन् ।
बन्दाबन्दीको समय समेतको चोट खपिरहेको राजवंशी परिवारमा घरका अन्य सदस्य कमाउने नहुँदा सानाकिशान सहकारीको तिनु पर्ने ६६ हजार तिर्न नसकेपछि पटक पटकको सहकारीको तागेताको पीडाले मर्माहत भएका हुन् ।
राजवंशीे आफ्नो घरको वरण्डाभन्दा बाहिर जान नसक्ने भएपछि त्यही उनको सहारा बनेको ६ महिना पार भइसकेको छ ।
विभिन्न व्यक्तिहरूको निजी गाढी चलाएर राजवंशीले आफनो परिवार जसोतसो चलाउदै आइरहेका थिए । पछिल्लो समय उनले भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा कार्यरत डाक्टर गोविन्द कँडेलको गाडी चलाउँदै आइरहेका थिए । काममा जाने वेलामा गत ०७६ माघ २२ गते दिउँसो ११ वजे तिर खाना खादै गर्दा उच्च रक्तचापका कारण ढलेर ‘प्यारालाइसिस’ (पक्षघात) भएको उनको एक भाग नचल्ने अवस्थामा पुग्यो । घटनापछि डा. कँडेललाई यो विषयमा जानकारी गराएको राजवंशीले सुनाए । डा. कँडेलले सिटी स्क्यान लगायत गर्नुपर्ने उपचार एकपटक गरिदिएपनि आराम नभएको उनले सुनाए ।
उनको निवासमा पुग्दा सावा व्याज भुक्तानीका लागि साना किशान सहकारीले पठाएको १५ दिने म्यादको पूर्जी पढिरहेका राजवंशी भक्कानिए । उनले भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट उनले श्रीमती शुशिलाको नाममा ०७५ साउन १ गते १ लाख रुपैयाँ ऋण लिएका रहेछन् । राजवंशीकी श्रीमतीको नाममा लिएको ऋणमा असार मसान्तसम्म सावा ५४ हजार ५ सय ७५ र ११ हजार ४ सय ६० व्याज पुगेको पत्रमा उल्लेख छ ।
विरामी हुनुभन्दा अघि समयमा नै व्याज तिर्दै आइरहेको उनले सुनाए । विरामी परेपछि आम्दानीको कुनै उपाय नभएर व्याज तिर्न ढिलाइ भएको उनले गहभरी आँशु पार्दै आप्mनो पीँडा सुनाए । नुन तेल खान समेत समस्या भएपछि श्रीमती केही महिना यताबाट नजिकै रहेको चिया वगानमा हरियो पत्ति टिप्ने मजदुरी गर्दै आइरहेको उनी बताउँछन् । दैनिक ४ सय जति ज्यालादारीमा काम गरेर नुन तेल खादै आएपनि खर्च अभावमा उपचार गर्न नसकेको उनले बताए । आफन्त साथी भाइले केही रकम सहयोग गरेर भारतको खरैयामा उपचार गरी औषधि खादै आएकोमा लकडाउनका कारण त्यो पनि गर्न नसकेको उनले सुनाए ।
उपचार पाएमा निको हुने आसमा रहेको उनको भनाइ छ । खर्च अभावका कारण बाँकी जीवन ओछ्यानमा नै रोएर दिन रात विताइरहेको उनले भावुक हुदै भने । स्थानीय सरकारले हालसम्म एकपटक पनि चासो नराखेको उनको भनाइ छ । चुनावका समयमा पटक – पटक धाउँने जनप्रतिनिधि चुनाव जितेर गएपछि एक पटक पनि घर नटेकेको उनले गुनासो गरे । उपचारका लागि राजवंशीले सवैसँग अनुरोध गरेका छन् । पारिवारिक अवस्था कमजोर भएका राजवंशीलाई बाबुको सम्पत्तिबाट आमाले ७ धुर जग्गा दिएको र सोही जग्गामा टीनको छानो हालेर बसेको उनले बताए ।
घर वाहेक अरु केही नभएको उनी बताउँछन् । साधारण लेखपढ मात्र भएकोले अन्य कुनै उपाय नभएको उनले सुनाए । दुई छोरा , एक छोरी र श्रीमती सहितको परिवारमा छ । ‘मैले वैँङ्कबाट ऋण लिएको हँु ,तिर्छु पनि तर यस्तो वेलामा आएर भाका पूर्जी दिएकोमा उनले गुनासो गरे ।’ लकडाउनको समयमा सरकारले वैङ्कको सावा व्याजको विषयमा हाल यथावत राख्नु भने जस्तो लाग्छ तर, साना किसान सहकारीले कर्मचारी परिचालन गरेर मानसिक तनाव दिएको उनले बताए ।
वैँङ्कको तागेताले राजवंशी मात्र नभइ हालसम्म २० जना भन्दा बढी ऋणीहरुको घरमा कर्मचारीले भाका पुर्जी वुझाउदै मानसिक तनाव दिइरहेको गुनासो छ । ‘लकडाउनका कारण दोकान खोल्न पाएको छैन’ ‘वेला वखत खोलेपनि ग्राहक आउदैनन ।’ घोडामारा कै फुलकुमारी राजवंशीले बताइन् । वैँङकको पत्रले मानसिक तनाव दिएको उनले गुनासो गरिन् । टेमुना राजवंशीको नाममा ०७५ असोज २८ मा १ लाख रुपैयाँ ऋण लिएको उनले बताइन् । बाँकी सावा ५७ हजार ७ सय ३१ रहेको छ भने असार मसान्त सम्मको तिर्नु पर्ने व्याज ६ हजार ३ सय ७० रुपैयाँको पत्र सहकारीले पठाएको छ ।
कार्यालयले निर्णय गरेका कारण ऋणीहरुकोमा पत्र लिएर हिडेको कर्मचारीले बताउने गरेको निछेपकर्ताको भनाइ छ । हामी त कर्मचारी हौँ, कार्यालयबाट जे आदेश आउँछ पालना गर्नु पर्ने हुन्छ भन्दै पत्र दिने गरेको पीडितहरुको भनाइ छ । कर्मचारीले निर्मला थापा, पम्फा काफ्ले, कल्पना ढकाल चापागाई, राजकुमारी सहनी, दुर्गा पोखरेल, इन्दिरा खतिवडा, मनुकला थापा, भगवती विश्वकर्मा, हेम पोखरेल,सुस्मा राई लगायतका घरमा सहकारीले पहिलो पटक १५ दिने पूर्जी थमाइसकेको जनाएका छन् ।
सहकारीको साउन ५ गतेको वैठकले रकम उठाउन पहिलो पटक १५ दिन, दोस्रो पटक ७ दिन र तेस्रोे पटक ३ दिनको म्याद दिने गरीको निर्णय गरेको जनाइएको छ ।
सहकारीमा ऋणी बढ्दै गएपछि निक्षेपकर्तालाइ जानकारीका लागि मात्र पत्र पठाइएको सल्लाहाकार संयोजक काशीनाथ घिमिरेले बताए । सरकारले घोषणा गरेको २ प्रतिशत व्याज घटाएर पत्र पठाइएको भएपनि पत्रमा कुनै दबाव नदिएको उनको भनाइ छ । ऋण मात्र लाने तर सावा व्याज नतिरेका कारण सहकारी डुब्ने अवस्थामा भएकोले यस्तो गर्नु परेको उनले जनाए ।