कोरोना संक्रमण काल मै विद्यालय सञ्चालन गर्नु कति उचित ?

सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम रहेकै बेलामा बन्दाबन्दी अन्त्य गरेको छ । रोग संक्रमणको जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै २०७६ चैत ११ गतेबाट अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्ने, हवाइ तथा यातायात पूर्ण बन्द गर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेस, मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलरूमा भेला हुन नपाउने तथा मलामी जाँदा २५ जना भन्दा बढी मानिसरू भेला हुन बन्द गर्ने जस्ता निर्णय सहित गरिएको बन्दाबन्दी झण्डै चार महिनापछि यही साउन ७ गते मध्यरातबाट अन्त्य भएको छ । त्रासद मनोदशाले आक्रान्त बनेका बेला आम नागरिकले यसको सामना गर्ने जुक्ति सोचेर जीवनयापनमा नयाँ शैली  अपनाउन त थाले । यस अवस्थामा आइपरेको विपत्ति पक्कै प्राकृतिक हो तर, सामनाको मुख्य पाटो चिकित्सा विज्ञान मान्नु पर्छ । यसकाकारण सामाजिक–आर्थिक–राजनीतिक कम्पनहरू आए भन्दैमा मानवीय स्वास्थ्य जटिलता थप्ने वातावरण निर्माण हुनु हुँदैन । सरकारलाई थाहा थियो, बन्दाबन्दी घोषणा गलत समयमा भएकाले यसको अरू बढी समय सामना गर्न कठिनाइ आइपरेको छ । सोही कारण बन्दाबन्दी त समापन गरियो तर रोग संक्रमण समापन हुने अवस्था निर्माण भएकै छैन ।

यसै अवधिमा नेपालको पूर्वी सिमान्त शहर भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने निर्णय गरेको भद्रपुर नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरेका प्रतिरोधात्मक उपाय बारे अनुगमन गरिनसक्दै अधिकाम्स विद्यालय सञ्चालनमा आएका छन् । नगर शिक्षा समितिका अध्यक्षको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार पूरा गरे नगरेको स्थलगत अनुगमन गरेपछि मात्र सञ्चालित हुनु पर्नेमा यस अगावै सञ्चालनमा रहेका अधिकाम्स विद्यालयले नगर सरकारको निर्णय नमानेको पाइएको अवस्था छ । कोरोना संक्रमण उच्च रहेको सिमावर्ती भारतको विहार र वंगाल राज्यसित सिमाना जोडिएको भद्रपुर नगरमा न्युनतम मापदण्ड पूरा नगरी सञ्चालित विद्यालयमा कोरोना संक्रमण त्रास बढेको छ । यस्ता विद्यालयहरूले शिक्षक, अभिभावक, बाल क्लबलाई समेत बेवास्ता गर्दै आफू खुसी विद्यालय खोलेको पाइएको छ ।

नगर सरकारले शिक्षा सञ्चालनको अधिकार प्रयोग गरी यही साउन ८ गते विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरेको भए पनि नगर क्षेत्रमा साउन १ गतेबाटै केही निजी विद्यालय सञ्चालकहरूले आफूखुसी विद्यालय सञ्चालन गरिरहेका छन् । नगर सरकार छ तर नियम मिच्ने तथा स्वास्थ्य जोखिम बढाएर व्यापारमा लाग्ने संस्थागत विद्यालयलाई कानुनी दायरामा ल्याउने हिम्मत देखिएको छैन । यस खालका गतिविधि विरूद्ध नगर बाल सञ्जालले विरोध गरेको भए पनि सुनुवाइ हुन सकेको छैन । अहिले पनि संघीय सरकारले विद्यालय खोल्न अनुमती दिएको छैन । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण जोखिम कम नभएका कारण विद्यालय सञ्चालन गरिनु नहुने सुझाव दिइरहेका बेला भद्रपुरमा विद्यालय खोलिने निर्णय आउनु कति सहज र उपयुक्त निर्णय हो ? समयले उत्तर देला तर सरकारको नीति र नियम मिचेर व्यापार गर्न खोज्नेहरू कानुनी दायरामा ल्याइनु अहिलेको आवश्यकता हो ।