बर्षाका कारण झापामा ४ घर बिस्थापित

भद्रपुर । गत केही दिन देखि अबिरल रुपमा परेको बर्षाका कारण झापामा ४ घर बिस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका १० सुकुम्बासी टोलका ४ घर परिवार बिस्थापित भएका जिल्ला रेमक्रस सोसाईटी झापा शाखाको बिपद ब्यबस्थापन शाखाका फोकल पर्सन हरिचरण खँडकाले जनाएकाछन् । उनका अनुसार बिस्थपित चार परिवारहरुमा प्रेमप्रसाद उप्रेती, तारा लिम्बु, हरिमाया रिषिदेव र लालु रिषिदेव रहेकाछन् । कनकाइ नदीमा आएको बाढीले कटान गर्दा उक्त चार परिवारको घर भत्काइ बगाएको हो ।

उक्त चार परिवारलाइ उद्धार गरी उच्चस्थानमा सारिएको छ । बिस्थपित परिवारलाइ तत्काल राहत स्वरुप ८ थान त्रिपाल र ४ सेट अखाद्य सामग्री प्रदान गरिएको खँड्काले बताए ।

लगातारको झरीका कारण झापाका खोला नदीहरूमा पानीको सतह बढ्न थालेको छ । झापाका कन्काई, विरीङ्, मेची, रतुवा र निन्दा नदीले बर्षायाममा निकै क्षति पु¥याउने गर्छन्‌। । यस्तै, पश्चिमी सिमानामा रहेको मावा खोलाको कटानका कारण समेत क्षति पुग्ने गरेको छ । यस वर्ष वर्षा शुरुवात भएलगत्तै डुबान र कटानबाट क्षति हुन थालिसकेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वपश्चिम राजमार्ग दक्षिणका अधिकांश क्षेत्रलाई उच्च जोखिमको सुचीमा राखेको छ । जस अनुसार कचनकवल, बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिका जिल्लाका सबैभन्दा धेरै जोखिम रहेका क्षेत्र हुन् । विपद् व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार, यी चार स्थानीय तहसँगै गौरादह, शिवसतासी, भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको आधा भाग पनि उच्च जोखिमयुक्त क्षेत्र हो । ढकालका अनुसार झापामा जोखिम मापनका लागि कन्काई नदीको पानीको बहावलाई विश्लेषण गर्ने गरिएको छ । मैनाचुलीमा रहेको बहाव मापन केन्द्रमा ३.७ पुगेपछि उच्च सतर्कताको अवस्थाको रुपमा लिने गरिन्छ । यस्तै, ४.३ मिटर पानी पुगे पछि भने खतराको अवस्था मान्ने गरिएको छ । यस स्थानमा शनिवार विहानपानीको बहाव भने २.३९४ मिटर रहेको रेडक्रसले जनाएको छ । तर निरन्तर पानी परि रहेकाले यो तह बढ्नसक्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय तहहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिले आह्वान गरेको छ ।

सबैभन्दा बढी जोखिमयुक्त मध्येको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले, अविरल वर्षाका कारण कनकाई नदिमा आएको बाढीले नगरको वडा नम्बर १०, ७, ६, ५ र गौरिगञ्ज गाउपालिकाको केहि भुभाग कटान सुरु गरेको बताएकाछन् । सवै वडामा जोखिममा रहेका परिवारको लगत लिने काम भएको र जोखिमको अवस्था आए उनीहरूलाई स्थानान्तरण गर्न सुरक्षित स्थान पनि पहिचान गरिएको बताए । विगतमा वर्षेनी दर्जनौ परिवार विस्थापित हुँदै आएको वडा नं. १ का जोखिमयुक्त क्षेत्रमा जनप्रतिनिधि र कर्मचारी समेत परिचालन गरिएको उनले जनाए । यस्तै पश्चिमतर्फ रतुवा खोलाको बाढीको जोखिममा रहेका बस्तीमा पनि सतर्कता अपनाइएको उनले जनाएका छन् ।

झापामा तीन वर्षअघि आएको बाढी हालसम्मकै विनाशकारी मानिन्छ । २०७४ सालमा आएको बाढीका कारण झापामा १६ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ताको अवस्था अझै अज्ञात छ ।