गौंथलीको बाऊले बेसारोमाइसिनद्वारा कोरोना भगाउने अरे ?

— व्यंग्यनारान पाँडे —

पहेंलो रंग जताततै पोतिएर राघिनासे भएका गौंथलीको बाऊ पहेंलपुर फुर्के झोला बोकेर हतार–हतार मेन रोडबाट मेरो घरतिर आउने बाटो लग्दालाग्दै देखेर म एक्लै एक रील हाँसे । उनलाई त्यस्तो देख्ता शायद मेरो अभ्यन्तरले मलाई भन्यो होला–“यिनले आज एकाबिहानै कुनै कौडे–कन्दनेहरुसँग यिनको कमरेडी धक्कु फर्माए होलान् र यिनको स्वरुप नै बद्लाएर ढँटुवारे बनाई धपाइए होलान् कि इण्डियातिरको कुनै बेसार–अदुवाको पोके तस्कर झ्वाँकी बिहारीलाई ‘कमरेडी पत्रकार गरेर’ झार्न खोज्दा झडप भएर यिनको यो दशा भो कुन्नि । तित्राको मुखै बैरी !”……

गौंथली बाऊ सरासर आएर मेरो बरण्डा उक्लिने सिँढी चढ्दै गर्दा म फेरि अर्को रील हाँसे । तर, उनका हकमा मेरो हाँसो मारवाडीको बिहेमा पढ्काएको बन्दुक झैं भयो– ‘ब्ल्याङ्क फाएर’। अर्थात्, मेरो अट्टहासको पर्वाह नै नगरी मेरो अघिल्तिर आएर बसे अनि भिरिराखेको झोला निकालेर आफू बसेको कुर्सीको खुट्टामा जतनसँग अड्याएपछि इस्टकोटको खल्तीबाट एउटा मुठ्ठी भरको पोको निकालेर दुई घुँडाका बीचमा चेपेपछि के भन्न आँट्तैथे, मैले मिहिन हाँसो घोल्दै भनें –“हन के हो हौ यस्तो ? लुगा पनि पहेंलो, हातहरु पनि पहेंलै, ओठ–गाला र नाकहरुमा पनि पहेंलै ! कतै पहेंलो रंगले मात्र खेल्ने होली खेलेर आएको कि कुनै समरस्वाँठ इण्डियनसित झडप भो ? यो उहिलेको कृष्णप्रसाद भट्टराई, भरतबाबु र द्रोणाचार्य आदि त्यागी नेताहरुले बोक्ने ब्राण्डको फुर्के झोला पनि पहेंलै छ ।”

उनलाई बोल्नै नदिई उनको कठालो र किल्किले समेत झ्याप्प समाएँ मैले अनि उनको हातको पोको खोसें, झोला पनि हातमा लिएँ र घचेट्तै–घचेट्तै गेट बाहिर लगेपछि झोलाको बेसार उनको टाउकोबाट ह्वास्सै खन्याइदिंदै भनें–“महाठगहरु ! मान्छेको स्वरुपमा पशुहरु ! जनताका शत्रुहरु !”

“लु हेर त ! म उँघेरुभन्दा कम त्यागी नेता हूँ त ? मैले नै उँघेरलाई एस्तो झोला बोक्न सिकाको थेँ भन्ने हिस्टोरीको एउडै पन्ना तपइँहर्ले पल्टाका भा त थुक्क !” ….. भन्दै उनी चिरिक्क चर्किए र फेरि सहज हुँदै भने– “म याँ के सोद्न र आवसेक सजेक्सीन– सुजाउका साथसाथै कोर्ना भाइरोस लगार्ने कस्तो अचुक राम्बाण ओखति घरैमा उपलब्ध गराउन आइराख्या उपलच्छेमा काँ झोलातिर कुरा घुराइराख्या ?”…..

म के भन्न आँट्तैथेँ, उनैले उछिन्दै भने –“तपइँलाई कोर्ना भाइरोसको सङ्कर्मनले गाँजेर ट्यान्सिन दिया छैन भन्र ढुक्क होउलाउ र टोकौला नि भरे राती नै कि भोलि बेहानै जिब्रो । तर, म छुँदाछुँदै काँत्रिनु पर्दैन । ….. अस्ति हामेरको गाउरउशाली बौमतको सर्खारी पाटीका हेड अदच्छे एबङ हामेरको नेपका सर्खारका पर्दानमन्त्री केप्पी ओली मउसुपबड हामेरको पर्तिनिदिसबा र रास्टेसबामा कोर्ना भाइरोसको ओखति के हो र के–के खाँदा सो– उक्त भाइरोसको दुम्मु पनि टोट्टल दगुर्दे भाग्छ भन्ने हुकुम भको त सुनेकै होउलाउ । तेस्सै ट्यामदेखुन् टेनिङ गरेर चाइँनेकेरे मैले पनि हामेरका हेड मउसुपबड हुकुम भका ओखती बेत्‍तै हिन्ने डाग्डरी थाल्या हूँ । कुरो पस्ट भो होला नि अब त म आज के गर्दै याँ आइपुग्या छु भन्ने ? जन्ताको सोस्थेमा सम्बिर्दि लेराउने त हामेरको पाटीको आदरस्ता, कर्तब्बेता र धर्मता हुँदै हो क्यारे ।”

उनले उठाइरहेको आजको विषयले निकै ठेट्ने मज्जा दिएको भावमा मैले भनें– “साँच्ची कोरोना भाइरस साधारण रुघा–खोकी जस्तै मात्र हो भनेर प्रधानमन्त्री ओलीले अस्ति मात्र प्रतिनिधिसभा र राष्ट्रियसभामा रोस्टमहरुबाट भनेको सुनेको थिएँ मैले । तर त्यो रुघा–खोकी जस्तै साधारण विमार कोरोना भाइरस निको पार्ने औषधि पनि भनिएको थियो, त्यो चाहिँ भुसुक्कै बिर्सेछु मैले । ती औषधि के–के पो हुन् ?”

अमिलो परेर उगाल आएको ताँबाको थाल झैं घिनलग्दा दखिने दाँत देखाएर खुशी हुँदै उनले भने– “हामेरको ओरिपरि उपलब्द बेसार, अदुवा र हामेरका घरमा तताको तातो पानी नि । हामेरको अदच्छे र प्रमम् डब्लिङ रेस्पस्निबिलिटिकको अइभारा बोकिबक्सिनु भका हामेरका ओली मउसुपबड हुकुम भइबक्सिनु भको सो– उक्त राम्बाण ओखतिको नामलाई इन्टरन्याटका फेसुकहर्ले अंग्रेजीको इँलिसमा टाँचलेसुनसम्म त गरिसके भनेसि हामेरु कम्रेटहर्‌का लागि भामट गउरउको विषय भाको छ क्या पाँडे भाइ, भाम गउरउको टपिक भइरछ ।”

मैले रमाइलो मान्दै सोधें–“तपाईंहरुको पार्टीका हेड माने प्रमुख अध्यक्ष र तपाईंहरुको नेकपा सरकारका प्रधानमन्त्रीका दिव्य आयुर्वेदिक ज्ञानले कथेका ती औषधिहरुका नाम कसरी ट्रान्सलेट भएका छन् त दाइ ?”

उनले उच्चारण गर्न उत्ति ढङ्ग नपारे पनि सुनेरले अनुमान गर्दा बुझिने गरी आँखा भाँच्तै भन्न थाले–“सर्भपर्थम् बेसारको बेसारोमाइसिन, सर्भदित्तिए लसुनको लसुनाजोल, सर्भतिर्तिए अदुवाको अदुवाजोलोक्सिन, सर्भचउयो ज्वानुको ज्वानोलिन र सर्भपाँचउँ तातोपानीको तातोपानीलिन सिरप । इ पान्टा ओखति चइँ हामेरको पाटीका हेड अदच्छे एबङ हामेरको नेपका सर्खारले अभिस्कार गर्‌या यो बिस्स– सन्सारमै सर्भपैला अभिस्कार भको कोर्ना भाइरोस धपाउने ओखति हुन् । अनि मैले थप अभिस्कार गर्‌या आर्को ओखति चँइ सुर्ती र खोर्सानीको ढुटोको सट्कट् सुरखोर्साफम हो । इ छवडै ओखतिका नाम लिन बिस्स सन्सारकै मान्छेलाई इजिलो भओस् भन्‍र मैले त्याँ पअअअर झोडा गाम्को बोडिङका सरलाई आदा बदल खुदीको घाँटी पोल्ने दारु र एक हाप बोइलारको झोलाइलो मासु खिला’र अङरेजीको इँलिसमा टाँचलेसन गराको कागत पनि बोक्ने गर्‌या छु । के गर्नु, यो गनतन्त्रको राजीतिक पोल्टिसको झ्याउलोले, आफ्ले जानेको इँलिस धैरैपए चइँ स्वात्त बिर्साइगो पढ्के । लेख्‍न त झ्यान हात थर्थर काँपेर सक्तै नसक्ने भइरछु आच्कल !”…

उनले खल्तीबाट एउटा कागजको टुक्रो निकालेर दिए । त्यसमा अंग्रेजी क्यापिटल अक्षरमा लेखिएको रहेछ – BESAROMYCINE–210MG., LASUNOZOLE–250MG., ADWAZOLOXINE-100MG., JUWANOCILIN–50MG., TATOPANELIN SYRUP–500MG., SURKHOSAFORM–1000MG.

म एकपल्ट दह्रो हाँसे र सोधें–“डक्टर एच.के. नारान चाहिँ तपाइँ आफै माने डाग्डर हरिकान्त नारान, होइन त ?”

उनले फुरुक्क पर्दै भने–“अन्त के त ? भएँ नि म डाक्डर । अस्ति सूर्जे ग्रनको साइतका दिनदेखुन् अर्ताथ हामेरको विकराम सम्बत्को सन् दुई हज्जार सतात्तर साल आखाड सात तारिकको डेटदेखुन् मेरी वाएफ रामदुलारी पनि डाग्डरनी रामदुलारी भ’र मख्ख छिन्, आज माङलबार….. आज तीन दिन भो, उन्को भइँमा खुट्टा छैन ।”

म फेरि घोर्ले स्वर निकालेर हाँसे र के सोध्न आँट्तैथें, उनैले भने– “हुन ता बेसारोमाइसिन र मैले अभिस्कार गर्‌या यो पोकाको ओखति नै कोर्ना लगार्ने मुख्खे इन्पोरट्यान हुन् । अरु अन्ने भनेका सेकिन इन्पोरट्यान हुन् । हामेरले झन्नै केप्पीत से तुङ मानेका अदच्छे एबङ पर्दानमन्त्री मउसुपबड अगिल्ले हट्टाभित्र पर्तिनिदिसबा र रास्टेसवाका मान्नीए साम्सतहर्‌का मुखिन्जी हाक्काहाक्की– अप्ठ्यारो नमानी माजै मुखाड भासन भनिबक्सनु होइबकिँदै– ‘….. यो कोबित नायन्ट्यानको कोर्ना भाइरोस नाथे त ठण्डीको चिसो लागेर हुने सिम्पुल रुगा– खोकीको सल्दी जइसै त हो नि । यो बेथा लागो भने एक फाँको बेसार मुखाँ फाँकेर तातोपानीले ख्वात्त निल्नुपर्छ र बेस्मारी हाच्छिउँ काड्नुपर्छ, काँडो झिक्या झ्याँइ च्वाट्टै निको हुन्छ । धामी–झाँक्री र ओजा–बिज्वा बोला’र अक्कास बाँदुँ–पत्ताल बाँदुँ मनाउँदै ढ्याङ्रो ठोकाउँदा अथ्वा आच्कलका अङरेजी मेड्सिन खा’र निको पार्न नसक्ने कोर्नाको बेथा मूला त, बेसारको फाँको तातोपानीले निल्नुपर्छ र हाच्छिउँका हाच्छिउँ काड्नुपर्छ, काँ भाग्छ काँ नि…..’ भने जइसो हुकुम मर्जी भाको तपइँहर्‌ले पनि सुनेकै होउलाउ । मउसुप सर्खारबड उस्तो हुकुम मर्जी भइरँदा हामेरका थर– गोत्रे कम्रेट मान्नीए महोदएहर्‌ले सम्सदको दर्बारै थर्किने गरी आफ्आफ्ना कुर्सीका हात राख्‍ने र निन्‍रा लागे तेसमै मुन्टो राखेर मस्त निदाउने काठका चउडा फल्याक हर्कबडाइँ गर्दै ठट्टाउँदा ती फल्याकका काँटी–किला कति ढिला भए होलान् कति । कति त छेउमा चकै पनि होलान् । तो अभूतपूर्वक द्रिस्से टिबी र इन्टरन्याटको फेसुकमा ख्याल रमैला थे त ? तपँइहेरु अकम्रेट भकाले…..”

उनी विषयान्तरतिर मोडिन थालेको बुझेर मैले ओभरटेक गरें–“अनि तपाइँको पुख्यौली नेतामार्का फुर्कादार झोलामा तपाइँको ‘डाग्डरी व्यापार’– को बेसार रहेछ भन्ने त्यसको पहेंलपुर अवस्थाबाटै प्रष्ट छ । यो खल्तीबाट निकालेर अघि नै घुँडामा च्याप्नु भएको पोलिथिन झोलामा चाहिँ के छ नि ?”

उनले फ्याट्टै भने–“हन मैले अभिस्कार गरेको हाच्छिउँ काड्ने ओखति नि । हामेरको अदच्छे एबङ प्रमम् ओली मउसुपबड बेसार फाँको मारेर निलेसि हाच्छिउँ गर्नु मात्तै हुकुम भो, हाच्छिउँ कडाउने ओखति हुकुम भा’थेन र मैले मेरो पर्खर पर्तिबा र इन्टल्याक्चोल खुबिलिटिले बनाको हाच्छिउँ कडाउने जौडे ओखतिको हो यो पोको चइँ ।”

मैले फेरि सोधें–“नेपालमै पाइने जडीबूटीबाट बनेको हो ?”

उने एकछिन् मेरो अनुहारतिर अलमल्ल परेर हेरेपछि भने–“हएट्, उइलेका बूढापाकाहरु ‘आफ्ले जान्या ओखति बनाउने जरीबूटीका नाम आर्कालाई भनो भने तो जरीबूटीबड बन्ने ओखतिले मदौरो निको हुँदैन हए’भन्थे । हुन ता उँधेरका ट्याममा कमिनिस थेनन् र सिबिलाइच कुरा नजानेर तेसो भन्या हुन् कि । हुन ता मैले उदारोमा मरेकाटे बेत्ने होइन ।….. किन्नेले हाताहाती किनेर मैले रुप्पे हातलागी गरिसकेसि किन्ने निको भओस् कि अनिको भओस्, नो मत्लप, होइन्त ?”

मैले भनें–“हो त । भन्नोस् न ।”

उनले कैरन लाए–“बेहारीको साँस्किर्तिक निसा खैनी हो । आच्कल म पनि रामदुलारीको हस्बेन र बेहारीको बड्का जवाइँ भका नाताले गर्दाउँदी ओठाँ खैनी च्याप्न थालिरछु । र, हामेरकै बजारमा खैनी खाने पत्ता सुर्ती बेत्ने बेपारीको म पर्मानेन् गाहाकी भका नाताले तेस्काँड सुर्तीका डाँक्ला र सुर्ती राख्‍ने बोराका फेदमा औटोभ्याटिक भेला हुने सुर्तीकै टुटाफुटा धुलो–थेग्रो गोरु मोलाई दलाली गरेर पइँतीस रुप्पेमा किनेर लेराएँ । अनि उइले–कैलेदेखुन् मेरो भान्साको भर्सेलीमा राखेको खोर्सानी राख्‍ने काठको थोत्रो हर्पे घोप्ट्या’र टक्टकाएँ । राम्रा–राम्रा खोर्सानी छानेर तेस्बड बियाँ, खोस्टा, भेट्ना, मरेका साङलाका पखेटा र बिस्टा, माकुराका खुट्टा र हाडखोड इत्तेदि ग्यान्जेभ्यान्जे सप्पै, बजारबड लेराको सुर्तीका परिकारमा मिस्कट गरेर फलामे ओख्लीमा फलामे मुस्लीले कुट्तै च्या छान्ने चालीमा चालेर चाइँनेकेरे दुई दिन ला’र ढुटो रेड्डी गरें । बास, यो बिक्तैछ राम्रइ ।”

मैले सोधे फेरि–“त्यत्ति आधा झोला बेसार र यत्ति सुर्तीको ढुटो कसरी बेच्नु ? कति दाम लिनु ? यस्तो पनि……”

म बोल्दाबोल्दै उछिनेर उनले भने–“अरुले बेत्ता पो बेसार त, हामेरु कम्रेटले बेत्ता यत्राको बेसार ? हामेरले हामेरका झोलामा हालेर बेत्न हिन्नासाथ येइ बेसार औटोभ्याटिक बेसारोमाइसिन ओखति भइहाल्छ कोर्ना निको पार्ने । उसरी नै यो पाको मेरा चइँ हातमा भउन्जेल–रउन्जेल सुर्ती र खोर्सानीको ढुटो होइन, एब्दमै अल्कति स्वाँक्क नाकबड तान्नासाथ तेस दिसभरिलाई हाच्छिउँ पगार्ने सुरखोर्साफम नामको ओखति हो । तपइँ अकभ्रेटहर्‌ले तडिका र ट्याउटिस जान्या भा पो ! ….. एक मुठ्ठी बेसारको एक डोच हुन्छ । एक डोच बेसारको मेनिमम पान्छ चम्चा हुन्छ– मेरो ठूलो मुठ्ठीमा कम्ता जान्छ ? तो एक डोचको मूल्ले म अन्भार हेरेर चालीस देखुन् पइँचालीससम्म लिन्छु । यो सुरखोर्साफम दुई अम्लाको चिम्टीले एक चिम्टीको पनि उसरी नै पन्‍रदेखुन् बीस रुप्पे लिँदैछु । झोडा–देहाततिर इ दोडा ओखतिको कम डिमान छ ? तेस्सै अम्रिकान– रुसियातिर कडोर सङ्कर्मित भई लाखाँ मरिसक्ता हामेरकामा बल्ल दश हज्जार पनि नपुग्या हो ? हामेरले इ एस्ता ओखति अभिस्कार गर्न चाइँनेकेरे सिम्मदर्वारदेखुन् याँ मेरा घरसम्म ‘कुरा’ कथेर– कथुरेर चाइँनेकेरे हामेरका जनतालाई कोर्नाबड स्यानो केजाति गर्‌या छम् ? तपइँहेरु त आबा न चाबा । र त दुक्ख पाउँछौं ।”

उनी बिच्चमा ठालू पल्टिएर सधैं झैं बम्किए र बिच्चमा मलाई उत्तेजित गराए । र, मैले पनि कड्केरै भने –“बेसार, अदुवा, लसुन, जुवानो र तातोपानीले नै कोरनाको समस्या समाधान हुँदैथ्यो वा हुन्थ्यो भने तपाइँले सधैं ‘नेपका सर्खार’ भन्ने गरेको सरकारले दश अर्ब रुपैंया केभा किन खर्च गर्‌यो त ? कि ‘काले–काले मिलेर खाउँ भाले’ मै देशको ढिकुटीबाट दश अर्ब झ्वाम हो  हँ?”

उनी जुरुक्क उठेर मेरो छेउमा आउँदै दुवै आँखामन्तिरको छाला तल्तिर ताने अनि भने–“इ यो चइँ झ्वाम । एत्रो खाओ न सामान्ती– बुर्जुआका खलकले । एत्रो चइँ…..”

उनलाई बोल्नै नदिई उनको कठालो र किल्किले समेत झ्याप्प समाएँ मैले अनि उनको हातको पोको खोसें, झोला पनि हातमा लिएँ र घचेट्तै–घचेट्तै गेट बाहिर लगेपछि झोलाको बेसार उनको टाउकोबाट ह्वास्सै खन्याइदिंदै भनें–“महाठगहरु ! मान्छेको स्वरुपमा पशुहरु ! जनताका शत्रुहरु !” अनि गेटभित्र पसेपछि सुर्तीको ढुटो पर्खालबाहिर छरछार पार्दे भनें–“नामुद फटाहा !”…….