गौंथलीको बाऊ र रामदुलारीको बिरोध पनि गणतन्त्रको बिरोध अरे ?
—व्यंग्यनारान पाँडे—
गौंथलीको बाऊ आफूलाई आफ्नो सानो-साँगुरो चलखेल गर्ने गाउँवृत्तका सबैले ‘आजको सरकारी पार्टी खलकको कमरेड’ मानिदिउन् र उनी जे भन्छन् त्यही सदर गरिदिउन् भन्ने घनघोर इच्छा भएका बेकामे फुइँवाज, सुद्धिबुद्धिहीन, स्वार्थी, सिक्सिको लाग्ने किसिमका थाङ्ने र स्वार्थका लागि जतिसुकै नाङ्गिन पनि सक्ने लवस्तरा-लिच्चड बूढा हुन् भन्ने म लगायत यस गाउँ-टोलका केटाकेटीदेखि बूढा-पुराना सबैलाई थाहा छ । वर्तमान सरकारी पार्टीका एक हुल बड्का नेताहरूले राणाकालीन सिंहदरवारका उपल्ला-तल्ला सिंहासनमा बिधिपूर्वक चढाइ गरेयता त झन गौंथलीको बाऊ र उनी मार्काकाहरूको उफ्रीपाफ्री खपी नसक्नु बन्दै गइरहेको छ । तर, उनीहरू, बाहेककाले चूपचाप सहिराख्नु परेको छ । गौंथलीको बाऊहरूको बुझाइमा अहिलेको ‘सरकारी खलक’—को कमरेड हुनु भनेको सर्वाधिक फलदायी, सर्वाधिक नाफादारी र खाइजिलोदेखि धनार्जन गर्ने सर्वाधिक सुरक्षित एवम् स्वेच्छाचारी व्यवसाय हो ! गौंथलीको बाऊ यही व्यवसायका अगुवा पात्र भएकाले होला उनका बकमफुसे हाँक, अहंकार र भुस्याहा कुतर्कहरूमध्ये कुनै सानोभन्दा सानो विमति कसैबाट फुस्कियो भने उनी त्यसलाई लोकतन्त्र-गणतन्त्रको विरोधी भन्दै हल्ला गर्छन् । केही गर्दा साध्य नहुने गौंथलीको बाऊ, समाजका सबै शिष्ट वर्गका लागि, ‘भालुको कन्पट’ नै सिद्ध भइसकेका छन् यो राणाशाही निर्मित सिंहदरवारभित्रबाट शासित हाम्रो गाउँको नेपालमा ! स्थानीय सरकार र प्रदेश सरकार त कहाँ छ कहाँ ! शायद संविधानको किताबभित्र भत्ता-सुविधा उग्राउँदै निदाइरहेका होलान् र गौंथलीको बाऊले जस्तै सपनामा आनन्दसँग संघीय लोकतान्त्रिक गणतन्त्र ‘गर्दै’ होलान् ! ….
उनले अलिक हच्के जस्तो भएर भने— “धेरै खर्च गरिन । अल्कति लितिक्क हातमा निकालेर हात मोलेको परसस्ती फिँज भइगो अनि तेस्सैले मुखलाई पनि सपिसेन पुगो ।”
गौंथलीको बाऊ मुख्य सडकबाट मेरो घरतिर आउने बाटो लाग्दालाग्दैदेखि मेरो आँगन टेक्न आइपुग्दासम्म मैले उनका बारेमा निकै कुरा खेलाएँ मनमनमा । मुख्य सडकबाट मतिर आउने बाटो लागेपछि बाटाका डिलमा पलाएका निगुरोका मुन्टा टिप्तै झोलामा हाल्दै आइरहेका थिए उनी र निकैबेर लागेको थियो ।…. मेरो आँगनको मूल गेटबाट भित्र छिरेपछि मात्र उनले म बसिरहेको बरण्डातिर हेरे अनि भिरिरहेको थोत्रो झोला (एयर व्याग) हातमा उतारेर सरासर बरण्डामा आएपछि सो झोला मेरो अधिल्तिरको टी-टेबलमा राख्तै भने — “मलाई पेसापले सारै चेपिरछ । यो व्यागको एछिन् हेरचाअ गर्देऊ हए । यस्मा माथि हाइकमानमा ठ्याँस्न कलेसन गरेका भीआइपी न भीआइपी खाल्का सर्खारी रिपोटिन छन् ।”…..अनि हतार-हतार शौचालयतिर जाँदै भन्दैथे—“लेटिन त किल्लेरली सफ्फा होला नि ? आफ्लाई अन्किल्लेरली लेटिनमा एक्कै थोप्पो पेसाप झरोस् न एक पित्को टोइलेट होस् । खानदानी हेबिट एस्तै हुन्छ ।”…. अनि अरु पनि के-के भनिरहेका थिए ।
उनी त्यता लागेपछि मैले उनको झोला नछोइकन हेरें । उहिलेकालमा खासगरी लाहुरेहरू र हुनेखानेहरूले भिर्थे यस्तो झोला । बादलका तरेलीहरूका बीचमा हवाई जहाज उडिरहेको चित्र माथिल्तिर र तल्तिर अंग्रेजीमा AIR BAG लेखिएको यस्तो झोला नीलो रेस्किनको हुन्छ । उनको यो झोला पनि नयाँ हुँदा नीलै थियो होला । तर अहिले ध्वाँसो, बहुरंगी कत्ला र धुलो-मैलो, विभिन्न आकार-प्रकारका छिटा लचेप्रै लागेकाले नीलो भुइँरंग ठाउँ-ठाउँमा मात्र देखिन्थ्यो । AIR BAG लेखिएको मुन्तिर शिकारु अक्षरमा पोरपराइटर कम्रेट याच. के. कान्तिकारी लेखिएको रहेछ । गौंथलीको बाऊको नाम हरिकान्तको अंग्रेजी सट्कट् एच. के. होला र कान्तिकारी उनको राजनीतिक थर वा गोत्र होला भन्ने मैले अनुमान लाएँ र म एक्लै हाँसें । झोलाको मुखको चेन बिग्रिएर नलाग्ने भएको, ठाउँ-ठाउँमा थोते भएको र ठाउँ-ठाउँमा सिलाइ उध्रिएको प्रस्ट देखिन्थ्यो । व्याग भिर्ने फिता चुँडिएकाले होला त्यसको सट्टामा ब्यागको दुई किनार छेडेर साइकलको ट्युब छिराई गाँठो पारेर बनाइएको रहेछ ।….
म उनको ब्यागको प्रकृति यसरी हेर्दैथें, उनी टोपीले मुख र हात पुछ्तै आएर मेरो अघिल्तिरको कुर्सीमा बसे अनि हात सुङ्दै भने— “हन एस्तो दाम्मी मग्मग सुघन्दी बास्ना आउने साबुन तपइँले किन टोइलेट गर्ने लेटिनमा राख्या हँ ? तेस्तो हाई किलास साबुन अरु बट्टा पनि छन् भने एउडा मलाई पनि दिए हुने नि । तो साबुन तपइँकाँ अस्ति आउने मामाहर्ले लेराइदेका होलान् होइन ?”
मैले सोधें— “कुन साबुन थियो त्यहाँ ?”
उनले अनुहार लालची बनाउँदै भने— “ती क्या त, हिन्दी सोनिमाकी बिउटीतम् डान्सरनीले कम्बर भाँचेर डानस गरेको फोटो जइसो अथ्वा इन्र भग्वानकी अफ्सराको मूर्तिमा जइसो कम्बर बाङ्गोटिङ्गो भको बट्टाबड लितितिति निक्सिने साबुन ।”
मैले हाँस्तै सोधें— “कि तपाईंले हर्पेक भनेको हाँ ? तपाईंले त्यसैले हात-मुख धोएर आउनु भयो कि क्या हो ?”
उनले अलिक हच्के जस्तो भएर भने— “धेरै खर्च गरिन । अल्कति लितिक्क हातमा निकालेर हात मोलेको परसस्ती फिँज भइगो अनि तेस्सैले मुखलाई पनि सपिसेन पुगो ।”
मैले भनें— “हातमुख पोलेन ? त्यो त पाइखाना सफा पार्ने औषधि पो हो त ? कहाँ हात र मुखमा लगा’को त ? हत्तेरिका !”
उनी एकछिन् स्तब्ध भए झै भए र भने— “हमेरू आजका कम्रेटहर्का हाताँ, बर्खामा हिलो तान्दा-तान्दा गर्या गोरुका काँध जइसै ठेलैठेला छन् । हामेर्का अन्भार र थुतुना लबस्तर्याइँ गर्दा ठ्याम्-ठ्याम् खाका थाप्पड र भ्वाक्-भ्वाक् लागेका बक्सिन्ले लाटो भइसक्या छन् अनि के खान पोल्छ केइले पनि ? खाइखेली ख्याक नभउन्जेल र लाज, घिन, शर्म, मोराल्टी, ज्यान्टिलन्यास, अनदलाली पर्बिर्ति, त्याक, इमान इत्तेदि अनेकथरि गिजिङमिजिङ डिस्टपिङ कुराहरू दिमाखको किड्नीमा निमिट्यान्न नपारुन्जेल अैलेको मोडन पोल्टिकलमा सर्खारी पोल्टिस्यान भइँछ त ? तेति कुराको करेक् ज्ञान नभउन्जेल म पनि तपइँ जइसै काङरेस र राज्जाबादीकै पिछेलग्गु कन्दने-कउडे नै त थें नि, कुरो बुज्यौ त ? घुस-कमिसिनका रुप्पे र भस्टचारी-ठगीबड आउने रुप्पे चोखा र टेसिला हुन्छन् क्या। मैले एसो भन्नुको तात्पर्जे के भन्लाउ भने तेस्ता रुप्पेमा आफ्नु रगत-पसिनाको गन्द पिटिस्सै हुँदैन, आफ्ना बाएक अरुको गनाए गनाओस् त ! ए पाँडे भाइ, म जइसो एस्पीरेन पोल्टिस्यान सोएम धाई-धाईकन तपइँकाँ आइदिराखेका चानसमा तपइँले हामेर्को रानीतिक गर्ने पोल्टिकल किन नसिक्या हँ ?”
मेरो टाउको गर्माउन थालिसकेको थियो र मैले खिस्स दाँत मात्र देखाएँ ।
उनैले उनको शायद मकहाँ आउने विषय उप्काउँदै भने— “हामेर्ले उत्रो सङ्गर्स नारेर लेराको यो लोतान्तिक गनतन्त्रको मेरै छेत्रको एरिआमा बिरोद हुन थालेको लच्छिन् देख्नुपर्दा सुर्ताले निन्रा लाग्न छाडिसको हओ पाँडे भाइ । म यो चइँ कुरा गरेर मुनपेट चाइँनेकेरे किलिन पार्न पो आइरथें ।”
मैले छोटो प्रश्न राखें— “ कसले किन बिरोध गर्यो ?”
उनले, एकछिन् आँगनतिर घोरिएपछि, भने— “मेरी वाएफ रामदुलारी इन्जिन्यार सेवारामज्युकाँ करिभन डेढ मैनादेखुन ढुक्कै बसेर ती इन्जिन्यारकी वाएफको अप्सेनमा झन्नै का.मु. इन्जिन्यार्नीको नोक्री गर्दैछिन् भन्ने कुरो सार्भजनिक चर्चामा आइसक्या तपइँलाई एटुजेठ थाई छ । इन्जिन्यारले मेरी रामदुलारीको सोतन्त्र जोतभोग गरेसि रामदुलारीले पनि अर्जिनिल इन्जिन्यार्नी ब्राबर इन्जिन्यारको सादन-सम्पत्ति भ्याएसम्म भोग-चलन गर्नु नसोभाभिक होइन । अस्तिका दिन पारिका सुरच्छाकर्मी मिला’र चाइँनेकेरे समस्तीपुर भइँसाटोलाबड रुपाली, राम्लखनी, बउली र छोट्की नामका चाडी बेहार्नी एता छिरेछन् र मकैबारीको बाटो मेची किनारका आफन्तकाँ बस्न पुगेछन् । उँधेरु घडी छाप खइनी फेक्टरीमा काम पाउन आका अरे । ती आएसि थानीए दोचारे जनानाहर्ले रामदुलारी र मेरो एगेनेसमा अघाउन्जी चर्चो गरेछन् ।…. ‘रामदुलारी अैले हामेरकै जातका इन्जिन्यारकाँ बस्छे, उनै इन्जिन्यारको खाइन्-पाइन् भोग्छे, लाली-पाउडर र साडी-स्यान्डिल ला’र उनै इन्जिन्यारको चिप्लो कार-गाडी चढ्ने, इन्जिन्यारले उल्लाई जति चाइयो उति खर्च-बजेट दिन्छन्, इन्जिन्यार्नी लक्डाहुन्ले बेहार भागलपुरमै थुन्या ट्याममा उस्को ठाम रामदुलारीले लेकी छे’….. इत्तेदि एगेनेसी कुरा काटेछन् । फेरि मेरा बारेमा पनि भनेछन्— “गउँथलीको बाऊ भन्र चिनिने हरिकान्त नारान झत्ते मान्छे रामदुलारीले एस ठामका लागि हस्बेन बनाकी छे । हरिकान्त पनि डेल्लीका डेल्ली माछा-मासु खाने भइरछ । उल्लाई पनि जाघौ इन्जिन्यारले रुप्पे पेल्छ । ती दोडालाई ठेगान….”
मलाई वाक्क लाग्यो र उनलाई ओभरटेक गर्दै भनें— “हन तपाईंले त लोकतान्त्रिक गणतन्त्रको विरोध यतातिर पनि हुन थाल्यो पो भन्न थाल्या होइन ? कहाँ त्यो नाम सुन्दै नाक थुन्नुपर्ने रामदुलारी भन्ने बिहारबाट यता चरेर कमाउन आएकी फोहोरी आइमाई र आफ्नो विरोधको कुरा गन्थनाइराख्या ?”
उनले चर्केर भने— “म जइसो एस क्षेत्रको एरिआमा गनतन्त्रको पोल्टिस गरिराख्या, गनतन्त्रकै पत्रकार गरिराख्या, गनतन्त्रकै मिस्कट भासाबिद गरिराख्या पर्तिस्टित ब्यात्तितो र मेरी वाएफ रामदुलारीले इनिजन्यार सेवारामले ठेक्दारहर्बड पर्सेन पाको दउलतमा मोज-मस्ती गरेको बिरोद गर्दा त्यो लोतान्तिक गनतन्त्रको बिरोद होइन्त अनि ? कस्तो बाङ्गो-बाउँठो कुरो गर्छौ हउ तपइँ !”
मैले पनि चर्केर उनको अनुहारैनेर दुवै हात लम्काएर लोपार्दै भनें—“इइइस्, व्यक्ति-व्यक्तिले अर्काको सम्पत्तिमा विलास भोगेको देखिंदा आलोचना हुन्छ त लोकतन्त्रमा । त्यस्तो आलोचना र चर्चालाई राजनीतिक अर्थ लाउन कसरी मिल्छ ?”
उनी जुरुक्क उठे र मतिर झम्टिन खोज्दै भने—“तपइँ को होउ मिल्दैन भन्ने ? हामेरू बौमतको सर्खारी नेताले जे भन्छौं तेइ नमिलेर हुन्छ ? बौमतको नेताले जे भन्छौ तो राज्जा सिरिपान सर्खार मउसुपको हुकुम जइसै हुन्छ । लाखेस् न, तपइँ पनि एगेनेसकै पाटमा रछौ भन्ने मैले सपिसेन बुजें । तपइँलाई म मेरो पाओर नचर्खाइ काँ छोडुँला र अब्ब चइँ तपइँका ग्र-दशा बिग्रे । एति बुज ।”….
उनी झोला टिपेर हिंड्न तम्सेका थिए, मैले झोला थुत्त तानेर आँगनमा फ्याँकिदिएँ र उनको कठालो समाएर घँचेट्तै लगेर आँगनको गेटबाहिर गलहत्याइदिएँ अनि आँगनबाट झोला पनि टिपेर त्यतै फ्याँकिदिएँ । उनको झोलाबाट निगुरो निस्केर नगरपालिकाको सो बाटोको हिलोमा असरल्ल छरिएबाट बटुल्दै-सुरुबालमा हिलो पुछ्तै झोलामा हाल्दैथे चुपचाप। र, मैले त्यो दृश्य हेर्दे र अट्टहासको हाँसो हाँस्तै भनें— “सरकारी रिपोटिङ छन् झोलामा भन्या होइन अघि ? सरकारी रिपोर्टिङ कसरी निगुरोमुन्टे भए हँ ? देखियो त मेरो चइँ पाओर ? म भनेको जनता हुँ क्या जनता ।”…..
हिलोमा पोखिएको निगुरो झोलामा समेटेपछि मतिर नफर्की उनी लुसुलुसु बाटो लागे ।….