यो त्रेतायुगको रामराज्य होइन, कलियुगको कम्युनिष्ट राज्य हो, कर तिर्न तयार हुनुहोस्

प्रयास श्रेष्ठ

राम अयोध्याको राज सिंहासनमा बसेको भोलिपल्ट भरतले राज्यको ढुकुटी देखाउँदै भने ‘दाई तपाईं वनबास गएको १४ वर्षपछि यो राजदरबार र राजढुकुटीको अवलोकन गर्दै हुनुहुन्छ । मैले पिताश्रीले जम्मा गर्नुभएको ढुकुटीबाट एक असर्फी पनि खर्च गरेको छैन । बरु यो राज ढुकुटीलाई १० गुण वृद्धि गरेको छु ।’ रामले मुसुमुसु हाँस्दै भाइ भरतलाई धन्यवाद दिए ।

त्यसको भोलिपल्ट रामले आफ्नो देशका जनताको अवस्था हेर्ने चासो गरे । सबैतिर हेर्दा १४ वर्ष अघि आफू वनबास जानेबेलामा जस्तो थियो जनताको जीवनस्तर उस्तै देखे । त्यसको भोलिपल्ट उनले आफ्नो राज्यमा कर तिर्ने जति सबै जनतालाई राजदरबारमा बोलाए । सबैले ठाने राजाले हामीलाई कर माग्न बोलाएका हुन् । त्यसैले आफुसँग जेजे थियो त्यो बोकेर जनताहरू राजदरबारमा हाजिर भए । राजा रामले दरबारमा हाजिर भएका सबैलाई पालैपालो सोधे, तपाईंहरुको अवस्था के छ ? जीवनयापन कसरी चल्दैछ ? खानलाउन त पुग्छ नि ? कुनै समस्या छ कि ? यो सुनेर जनताहरु अनुत्तरित भए । भावव्यहोल भए । उनीहरु(जनता)को अनुहार हेरेर रामले समस्याको चाल पाइहाले । त्यसै बखत जनतालाई सम्बोधन गर्दै रामले भने, ‘नआत्तिनुहोस् । तपाईंहरूलाई पुगेर उब्रेको मात्रै राजालाई कर तिर्नु, आज उप्रान्त म राजा भइन्जेल आफुलाई खानलाउन खाँचो पारेर, बालबच्चा भोकै राखेर कर तिर्नु पर्दैन । बरु खानलाउन अभाव भए, बस्न समस्या भए मलाई भन्नु ।’ राजा भनेको पिता हो, जनता सन्तान हुन् । पिताको दायित्व सन्तानको लालनपालन गर्नु हो । अब यो राज्यका सम्पूर्ण जनताको सम्पूर्ण दायित्व मेरो हो । उमेर हुने र सक्ने सबैले अनिवार्य काम गर्नु । बुढापाका र रोगीलाई सम्मान गरेर स्याहार–सुसार गर्नु । बालबच्चालाई माया गरेर जिम्मेवारी सिकाउँदै हुर्काउनु ।’ यति भनेर रामले सबै जनतालाई स–सम्मान फर्काइदिए । जनताहरु निकै खुशी भएर हर्सोलासका साथ राजको जयजयकार गर्दै फर्किए । रामले राज्य संचालन गरेपछि उक्त राज्यभर कोही भोकै नाङ्गै भएनन् । संसारभर राम राज्यको नामले प्रख्यात भयो । राजा रामलाई भगवान मान्न थालियो ।

हुनत यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त ।

अहिले नेपालमा चर्को बहसको रुपमा उठिरहेको करको विषयमा यो कथाको प्रसंग जोड्न मात्र खोजिएको हो । कथामा वर्णन गरिए जस्तो यो पहिलको त्रेतायुगको रामराज्य त होइन तर अहिलेको कलियुगको कम्युनिष्ट राज्य भने पक्कै हो । यतिखेर विश्व नै कोरोना महामारीसँग लडिरहेको छ । जीउ, ज्यान, धन सबै सक्ने गरी संसारभर नै फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुतो छैन । कोरोनाबाट आक्रान्त मुलुकमा जनजीवन नै अस्तव्यस्त पार्ने गरी अघि बढेको यो प्रकोप अझै कति परजाने हो कुनै टुंगो छैन । तर यहाँ कोरोना महामारीको रोकथामका लागि भनेर अबलंबन गरिएको सुरक्षाको कवच ‘लकडाउन’ नै देश र जनताका लागि भारी पर्न थालेको छ । कोरोना, कोरोनापछिको लकडाउन र लकडाउनले निम्त्याएको वेरोजगारी समस्याले सर्वसाधारणलाई पिरोल्नु समेत पिरोलेको छ । लकडाउनका कारण बन्द उद्योग, कल कारखाना, व्यापार व्यवसायदेखि बजार सम्मका कारण व्यवसायीहरुलाई मात्र नभएर आम सर्वसाधारणलाई समेत समस्यामा पारेको छ । यस्तो अवस्थामा विहान–बेलुकाको छाक टार्न समेत जनताहरुलाई हम्मेहम्मे परिरहेको छ । तर, सरकार यस्तै अवस्थामा पनि जनतासँग तिरो (कर) उठाउने कसरत गर्दैछ ।

गत चैत देखि निरन्तर जारी लकडाउनले करिब तीन महिना छुन लाग्यो । यी बीचमा सबै घरभित्र थुनिएँ भने, सबै जसो व्यापार व्यवसाय, कल, कारखाना, उद्योग धन्दाहरु बन्द रहे । आम्दानीका स्रोतहरु सुके भने, खर्चहरु बढे । यस्तो अवस्थामा अझ केहिदिन पर लकडाउन बढ्यो भने कसरी बाच्ने भन्ने पिरलो यतिखेर जनतामा छ । अब रोगले भन्दा पनि भोकले मरिने भइयो भनेर जनताहरु त्राहिमाममा छन् । तर यता सरकार भने कर असुलिको डण्डा उठाउँदैछ । मरिस् भने पनि कर नतिरी मर्न पाउँदैनस् भनेजसो गरिरहेको छ ।

यहाँ निर माथिको कथा फेरी एकपटक स्मरण गर्न मनलाग्छ । जब कि राजा रामले आफ्ना प्रजा(जनता)हरुलाई आफुलाई नपुग्ने अवस्थामा राज्यलाई कर तिर्नुपर्दैन, बचेको मात्र कर तिर्नु भनेका थिए । तर यहाँ त सरकार नभएपनि खोजी खोजी सापटी गरेर भनेपनि कर तिर्नुपर्छ भनिरहेको छ । गत २० गते मात्र सरकारले एक सार्वजनिक सूचना जारी गर्दै समय सीमा नै तोकेर करदाताहरुलाई कर तिर्न उर्दी जारी ग¥यो । चैतदेखिको बाँकी तीन महिनाको आय कर, अन्तशुल्क कर मूल्यअवृद्धि कर सबैखाले कर तिर्न सर्वसाधारणमा ताकेता ग¥यो । तर, लकडाउन रहेकै अवस्थामा बन्द व्यापार व्यवसायबाट कर तिर्न नसक्ने भरेर व्यवसायीहरुले हात उठाए । यता सर्वसाधारणबाट पनि सरकारको चर्को विरोध भयो । लकडाउनमा बन्द सटरबाट कर मागियो भनेर चौतर्फी विरोध भयो । अन्ततः चौतर्फी विरोधपछि सरकार पछि हट्न बाध्य भयो । जेठ २५ लाई अन्तिम समय सीमा तोकेर कर ताकेता गरेको सरकारले थप १४ दिन बढाएर कर तिर्ने समय सीमा असार ७ गतेसम्म पु¥याइदिएको छ । तर, अब भने सरकार पछि हट्नेवाला छैन । व्यवसायीहरुले एक महिना, दुई महिना, लकडाउन खुलेपछि भने पनि अब सरकार सुन्नेवाला छैन । कारण चालु आर्थिक वर्षको अन्तिम अन्तिममा सरकार छ । अब त नचाहेर पनि कर तिर्नै पर्ने बाध्यात्मक अवस्था बन्दै छ ।

यसै प्रसंगमा फेरि माथिकै राम राज्य कथनको अर्को पाटोको एक किस्सा सुनाउन मन लाग्यो । यता अयोध्यामा राम राज्य सुरु हुनुभन्दा अघिदेखिनै उता लङ्कामा रावणले शासन गरिरहेका थिए । रावणको शासनमा आफ्ना आफन्त र आफ्ना कूल कुटुम्बकालाई भने सुविधै सुविधा उपलब्ध थियो । अपुग केही थिएन । लङ्का अत्यन्तै समृद्ध थियो । तर लङ्काले उपनिवेश बनाएका सबै भूभागहरूमा हाहाकार हुन्थ्यो । रावणका सैनिकहरू कर उठाउन गएको बेला कसैले कर तिर्न सकेन भने आफ्नो रगत भए पनि दिएर पठाउनु पथ्र्यो । रगत पनि आएन भने प्राणै समेत पनि दिनुपथ्र्यो । रावणले कर तिर्न नसक्ने हजारौँ सन्यासीहरूको रगत संकलन गरेका थिए रे । अहिले हाम्रो सरकारले यस्तै व्यवहार देखाउँदे छ । कतै सरकार उही रावणपथमा नै हिँड्ने प्रयत्न त गरिरहेको छैन ? कोरोना कोरोनापछिको लकडाउनबाट प्रभावित वन्द व्यापार व्यवसायबाट कसरी कर तिर्ने ? कोरोनाका कारण रोजगारी गुमाएका, व्यापार व्यवसाय गुमाएका सर्वसाधारणहरु भोक भोकै मर्दैछन् । तर त्यहि श्रमिक वर्गको प्रतिनिधित्व गर्छु भन्ने कम्युनिष्ट घटक सरकार जसरी पनि कर उठाउछु भन्दै छ ।

हुनत यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त । गरिब, असाहय, वेसहारा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट सरकार पो हो त । अनि अप्ठेरोमा परेका जनताबाट कर नउठाएर के गर्नु त ? त्यसैले मान्य जनवर्ग हो असार ७ गते भित्र नै कर तिर्न तयार हुनुहोस् ।