एम्बुलेन्स विरामी बोक्न कि यात्रु ओसार्ने व्यापार गर्न ?

नेपालमा संघीय सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन घोषणा गरेको दुई महिना पूरा भयो । यस अवधिमा अति आवश्यकीय कार्य बाहेकमा सवारी साधन पूर्ण बन्देज भएका छन् । यस बन्देजको आसय एक स्थानको मानिस अर्को स्थानमा गएर कोरोना संकमणमा सहभागी नबनोस् भन्ने हो । तर पछिल्लो समय अति आवश्यकीय सवारीको साधन एम्बुलेन्स बिरामी बोक्ने भन्दा एक स्थानबाट अर्को स्थानमा यात्रु ओसार्ने काममा दुरूपयोग भइरहेको छ । खासगरी पैसा र पहुँच हुनेहरू जति पनि मूल्य चुकाएर एम्बुलेन्सलाई दुरूपयोग गरिरहेका छन् । हुन त सडकमा गुड्ने कुनै पनि सवारी साधनको चेक जाँचका लागि पर्याप्त प्रहरी परिचालित पनि छन् । तर, अहिलेसम्म कमै एम्बुलेन्स मात्र यात्रु ओसारेको आरोपमा पक्राउ परेका घटनाले पनि सही जिम्मेवारी सडकमा निर्वाह भइरहेको छैन । बिरामी परेर एम्बुलेन्स बोलाउँदा सुरक्षा कवच नभएको भनेर कतिपय स्थानमा विरामी लिन नगएका घटना ताजै छन् । विभिन्न संस्था वा ट्रस्टका नाममा सञ्चालित अधिकाम्स एम्बुलेन्स सेवा भावले भन्दा केही व्यक्तिले व्यापार गर्ने मनसायले दुरूपयोग गरिरहेको सत्य प्रष्ट देखिने गरेको छ तर, अनुगमन र निगरानी गरेर कारवाहीको दायरामा ल्याउने जिम्मेवार निकाय बेखवर बस्दा एम्बुलेन्स सेवा नै बदनाम बनिएको हो ।

अहिलेको अवस्थामा धेरै श्रमजीवि मानिसहरू लकडाउनका कारण काठमाण्डौ उपत्यका छाडेर आफ्नो घर फर्कन पाएका छैनन् । कयौंले त पैदल यात्रा समेत गरेर आफ्नो गाँउ फर्किने क्रममा सडकमा सास्ती पनि पाएका छन् । तर, पैसावालहरू हरेक दिन निर्वाध एम्बुलेन्समा घर आइरहेका घटनाले विभेदमा राज्य संयन्त्र दौडिएको हो कि भन्ने प्रश्न उब्जिएको छ । आफ्नो गाँउ घर फर्किऔं भने सरकारले देशभरी नै लकडाउन लगाएको छ । घर नजाऔं त यहाँ के खाएर बस्ने ? छटपटीमा परेका सर्वहारा थुनिएका छन् भने मन लागे बस्ने मन नलागे हिड्ने सोच पालेका पैसावालहरू एम्बुलेन्समा सरर यात्रा गरिरहेका छन् । पछिल्लो समय एम्बुलेन्स रमाइलो गर्न घुमफिरका लागि समेत दुरूपयोग हुने क्रम बढेको छ । हुन त सडकमा सवारी चेकजाँचका लागि खटिएका सुरक्षाकर्मीहरूले विरामी बोकोको सवारी साधन भनेर एम्बुलेन्समाथि कडा निगरानी नगरेका कारण पनि हुन सक्छ चालक तथा कर्मचारीहरूले यस साधनको चरम दुरूपयोग गरेका हुन् । दुरूपयोग गरेर एम्बुलेन्स सेवालाई बद्नामी गर्नेहरू कारवाहीको दायरामा नल्याइएसम्म यस्तो अपराध गर्न छोड्ने छैनन् ।

न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमण त्रास जसरी जनमानसमा बढाएको छ त्यसैगरी आन्तरिक रूपमा एम्बुलेन्स दुरूपयोग रोकिन नसकेको कारणले रोग संक्रमण जोखिम अधिक बढोत्तरी हुँदै छ । पछिल्लो समय भारतीय सीमा नाकाबाट लुकीछिपी आउने मानिसको संख्या बढ्दै जाँदा कोरोना सर्ने त्रास स्थानीयमा बढ्दो रहेको छ । केही मोटरसाइकल, गाडी ग्यारेजका मानिसहरू पैसा लिएर मानिस वारपार गर्ने अवैध व्यापारमा लागेको आरोप लागिरहँदा नेपालबाट घरेलु मदिरा, गाई गोरू भारततिर लैजाने र भारतमा अलपत्र परेका भनिएका नेपाली नेपाल ल्याउने गिरोहको सकृयता हराएको छैन । यस्ता कार्यले अन्तरदेशीय कोरोना संक्रमणको त्रास जति खतरनाक छ त्यो भन्दा खतरनाक संक्रमण आन्तरिक संक्रामक बन्ने कारक एम्बुलेन्स मार्फत यात्रु ओसारपसार हुन सक्छ । विशेष गरी राजधानी काठमाण्डौबाट एम्बुलेनसमा मान्छे ओसार्ने व्यापार कोरोना संक्रमण बढाउने जनस्वास्थ्यघाती कदम हो । यसखालका कार्यले सेवाको खोलमा कालो व्यापार गर्नेहरू बलवान देखिएका छन् । यदि राज्य संयन्त्र जनताको स्वास्थ्य सुरक्षामा जिम्मेवार छ भने कोरोना सार्न उद्धत्त एम्बुलेन्स यात्रु व्यापार रोक्न अनुसन्धान गरी छिटो भन्दा छिटो कारवाहीको दयरामा ल्याइनु पर्छ । जसका लागि पैसा र पहुँचको चाकडी बर्दीधारीले तुरुन्तै रोकेर नीति र नियमसित चल्न सक्ने अवस्था निर्माण गरिनु पर्छ । होइन भने सडकमा आम नागरिकले एकै स्वरमा गरिरहेको प्रश्न – एम्बुलेन्स विरामी बोक्न कि यात्रु ओसार्ने व्यापार गर्न ? यसको जवाफ दिन सक्नु पर्छ ।