कोरोना संक्रमण जोखिम र झापाको भेला
नेपालमा संघीय सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी पालना गर्न आचारसंहिता सहित निर्देशन जारी गरेको नियममा अत्यावश्यक काममा बढीमा २५ जनासम्म भौतिक दुरी कायम गरेर भेला हुन पाउने छुट दिएको छ । तर, झापामा कोरोना नियन्त्रण गर्ने समितिले नै बृहत भेलाको आयोजना गरेको खवरले भने सनसनी छाएको छ । संघीय सरकारको निर्णयमाथि धज्जी उडाउने काम प्रदेश मन्त्री, राज्यमन्त्रीकै नेतृत्वमा भएको खवरले प्रश्नचिन्ह खडा भएको छ । यस भेलाले नेपाल सरकारको निर्णयलाई धज्जी उँडाएको नागरिक प्रतिक्रियालाई सामान्य ठान्दै आयोजक हिडिरहेको अवस्था छ । यस प्रकरणसित शक्ति र पहुँच हुनेहरूसित राज्यको नीति नियम तथा कानुन नै डराउने हो ? प्रश्न उठिसकेको छ ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । प्रदेश नम्बर १ का दुई जना मन्त्रीको उपस्थितिमा जिल्ला कोरोना रोकथाम समिति झापाले १ सय ३५ जना भन्दा बढी सहभागी गराएर बैठक बसाएको थियो । पूर्वी नेपालको काँकरभिट्टा स्थित सीमा नाका भारतको पानीट्याङ्कीमा रोकिएका नेपालीलाई नेपाल ल्याउने तयारीका सम्बन्धमा शनिवार जिल्ला समन्वय समिति झापाको सहभाहलमा भएको बैठकमा १ सय ३५ भन्दा बढीको उपस्थिति रहेको थियो । सामाजिक दुरीका लागि एक व्यक्तिबाट अर्को व्यक्ति बीच कम्तीमा ३ फिटको अन्तर हुनु पर्ने मापदण्ड तय भएको भए पनि यस भेलामा खाँदाखाँद बसिएका दृष्यहरूले नीति नियम एकातिर भेलाजुलुस अर्कोतिर प्रष्टिएको छ ।
१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्की र समाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका अधिकांश प्रदेश संसद सदस्य, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, एसपी कृष्ण कोइराला, सशस्त्र प्रहरीका एसपी रमेशकुमार थाक्सु लगायतका सुरक्षा निकायमा प्रमुख, सरकारी कार्यालयका प्रमुख, स्वास्थ्य क्षेत्रका व्यक्ति, उद्योगी, व्यावसायीका प्रतिनिधिरूको सहभागिता थियो । भेला जम्मा गर्नु अगाडि आयोजकले पनि नीति, नियम बिर्सिए भने प्रमुख अतिथि, विशिष्ठ अतिथि हुँदै सहभागिता जनाउन आउने सवैले बन्द कोठाको साँगुरो हल होइन खुल्ला चौरीमा बसेर छलफल गर्नु पर्छ भन्ने हिम्मत समेत गर्न भ्याएनन् । अरुलाई आदर्शको पाठ पढाउने मन्त्री तथा नेताहरू र प्रहरी प्रशासनका नेतृत्वकर्ताले आफैँलाई चुकाइ दिएका छन् ।
बुद्धशान्ति गाउँपालिका बाहेक सबै गाउँ र नगरपालिकाको सहभागिता रहेको भेलामा दुई वटा गाउँका अध्यक्ष बाहेक सवै गाउँ र नगारपालिकाका प्रमुख सहभागी थिए । हलको एउटा बेञ्चमा तीन जनासम्म खाँदिएर बसेको दृष्यले सहभागीहरूलाई कुरीकुरी लगाइरहेको भान हुन्थ्यो । भेला समन्वयमा खटिएका जिल्ला समन्वय समितिका कर्मचारीका अनुसार एक सय ३५ भन्दा बढीले रजिस्ट्ररको उपस्थितिमा हस्ताक्षर गरेका छन् । हल बाहिरका सुरक्षाकर्मी र अन्यको विवरण खोज्ने हो भने संख्या अझ बढी हुन सक्ला । यदि त्यस भीडमा खाँदिएका मध्ये कुनै एक जनामा कोरोना संक्रमण भएको रहेछ भने अन्यमा सर्दैन त ? कि ठूलाबडाका भेला या भीडमा कोरोनाको सर्ने शक्ति नासिने हो ? सर्वसाधारण चित्तबुझ्दो जवाफ खोजिरहेका छन् ।