केपी ओली उर्फ कालीचरणको कविता( होसियार

किरणकृष्ण श्रेष्ठ

मेरा लागि इतिहास लेखिनुको एउटा मुख्य कारण हो, भविष्यमा त्यस्तै परिस्थिति आए सही निर्णय गर्ने बाटो खुलोस् र गल्ती नदोहोरियोस् । दुर्भाग्यवश, नेपाल लगायत प्राज्ञिक पृष्ठभूमि कमजोर रहेका विश्वका कयौं देशमा लेखिनुपर्ने इतिहास कमै लेखिएका छन् । कसैले लेखेर छाडेका भए पनि सत्ताधारीहरूले आफू प्रतिकूल हुने तथ्यहरू नष्ट पारिदिए। कदाचित् नष्ट नभई संग्रह र प्रकाशनसम्म पुगे पनि सम्बन्धित व्यक्तिहरूले पढेनन् । पढ्दै नपढेपछि पहिलेका सही र गलत निर्णयका फेहरिस्त किन चाहियो? अनि किन नदोहोरियोस् गल्ती ?

जो इतिहासको पात्र बन्न लालायित छ, उसले इतिहासको गल्ती नदोहोरियोस् भनेर सजग हुनुपर्छ । र, सजग हुन इतिहासको अध्ययन जरूरी छ । जसरी नयाँ खोजमा जुटेका वैज्ञानिकहरू पुराना खोज अध्ययन गरेर मात्र अगाडिको बाटो तय गर्छन्, राजनीतिक नेताहरूले पनि पुराना गल्तीबाट पाठ सिकेरै अगाडि बढ्ने हो । सायद त्यसैले हो, राजनीतिशास्त्रलाई ’पोलिटिकल साइन्स’ भनिएको। तर, हामीकहाँ पोलिटिक्स ’पोलिटिकल साइन्स’ बन्नै सकेन । यसलाई साइन्स बनाउन, यसबारे जानकार र अध्ययनशील ’साइनटिस्ट’ पनि त हुनुप‍र्यो ।

यो भनिरहँदा मलाई सानो बेला सुनेको विज्ञानसम्बन्धी एउटा कथा याद आयो । तथ्य हो कि मिथ्य थाहा थिएन, तर रोचक लाग्थ्यो यो किस्सा । हाम्रा एक जना गुरूले संसारको सबभन्दा खतरनाक विष ’पोटासियम साइनाइड’ हो भनेका थिए । उनी भन्थे, ’यो पोटासियम साइनाइड भन्ने रसायनको स्वाद थाहा पाउन दुई जना वैज्ञानिकले ज्यान दिए ।’ हामी उनको कुरा बढो चाख मानेर सुन्थ्यौं । उनी अगाडि भन्थे, ’यो यति कडा छ, मुखमा राख्नेबित्तिकै मृत्यु हुन्छ । एक जना वैज्ञानिकले हातमा कागज(कलम लिएर पोटासियम साइनाइड जिब्रोमा छुवाएछन्। उनको तत्काल मृत्यु भएछ । उनले कागजमा ’एस’ जस्तो अक्षर लेख्न मात्र भ्याएछन् । त्यसपछि खैलाबैला मच्चियो, किनकि ’एस’ भनेको ’स्विट–गुलियो’ पनि हुन सक्थ्यो, ’सल्टी–नुनिलो’ वा ’सावर–अमिलो’ पनि हुन सक्थ्यो ।’ गुरूको मुखबाट यो किस्सा सुनेर हाम्रो पनि कौतूहल बढ्यो । सोध्यौं, ’अनि सर ? त्यसपछि के भयो ?’त्यसपछि अर्को वैज्ञानिक अघि बढे । उनी पनि त्यसरी नै हातमा कागज(कलम लिएर तयार भए । उनको काम थियो, ’एस’ पछि दोस्रो अक्षर लेख्ने । उनले मुखमा साइनाइड राख्नेबित्तिकै ’ओ’ लेखे र ढले । त्यस आधारमा साइनाइडको स्वाद एस…ओ बाट सुरू हुने ’सावर’ अर्थात् अमिलो भनेर प्रमाणित भयो ।’ हाम्रा गुरू यो सन्दर्भ जोडेर भन्थे, ’विज्ञान अध्ययन(अनुसन्धानको महत्व र फाइदा यही हो । फेरि(फेरि कसैले साइनाइडको स्वाद पत्ता लाउन त्यसलाई सेवन गर्नु पर्दैन । पहिले सेवन गरेर ज्यान दिएका दुई वैज्ञानिक ’सहिद’ तुल्य छन् । फेरि पनि कसैले त्यसै गरे मुर्ख भनिने छ र उनीहरूको कदमलाई आत्महत्या ।’

यो लकडाउन बेला मैले डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास ’सेतो बाघ’ दोहो‍र्याएर पढेँ । खासमा पढेको होइन, अडियो बुक सुनेको । खगेन्द्र नेपालीको ओजिलो आवाजमा । यो उपन्यासमा जंगबहादुरको चित्रण जस्तो भए पनि उनलाई नेपाली इतिहासका सबभन्दा क्रुर प्रधानमन्त्रीका रूपमा लिइन्छ । कसैले उनलाई उदार, नयाँ नेपालका सूत्रधार पनि भन्लान्, तर त्यो इतिहासका पन्नामा बसेर गर्ने बहस हुन् । जुन महत्त्वाकांक्षा र हिंस्रक शृंखलाका खुड्किला चढेर उनी प्रधानमन्त्री बने र आफ्नो परिवारको हित हुने गरी सत्ता कब्जा गरे, त्यही शृंखलाको फलस्वरूप उनी आफूले चिताएजस्तो पशुपति आर्यघाटमा मर्न पनि पाएनन् । काठमाडौंबाहिर रौतहटको एकान्तबासमा उनको ज्यान गयो । उनका जेठा छोरा र जेठा नाति त्यस्तै षड्यन्त्रको शिकार भए । राणाकालीन इतिहासको यो अध्याय हाम्रा अहिलेका नेताका निम्ति ठूलो सबक बन्न सक्छ, उनीहरूले इतिहासको गल्ती नदोहो‍र्याउने हो भने । तर, हाम्रा नेता या अध्ययनै गर्दैनन्, या त बुझ्नै चाहँदैनन् । यो पनि हुनसक्छ, उनीहरू बुझेका कुरा पनि सत्तामा पुगेपछि सबै बिर्सन्छन् । वा, आफू ड्राइभिङ सिटमा बसेपछि बस पनि हवाईजहाजजस्तै उड्छ भन्ने भ्रम पो पलाउँछ कि !

मध्यकालमा सत्ताप्राप्तिका लागि गरिने रक्तपात अहिलेको कालमा कम सुनिन्छ । संसारका केही अप्रजातान्त्रिक देशमा बाहेक प्रजातान्त्रिक भनिने मुलुकहरूमा रक्तपातपूर्ण हिंसा बन्द भइसके । तर, याद गर्नुस्, रक्तपात बन्द भएको हो, हिंसा होइन । व्यक्ति हत्याको सिलसिला बन्द भएको हो, तर चरित्र हत्याको क्रम जारी छ । कुनै व्यक्तिलाई आफ्नो बाटोबाट पन्छाउनुपरे साम(दाम प्रयोग गरेर चरित्र हत्या गर्नु राजनीतिको अभिन्न अस्त्र बनेको छ । वर्तमानलाई इतिहाससँग दाँज्दा यस्तो लाग्छ, नेपालको राजनीति जंगबहादुरकै सेरोफेरोमा घुम्दै छ । मौका पाउनेबित्तिकै कांग्रेस र कम्युनिस्टहरूले खेल्ने खेल पनि डायमण्ड शमशेरको ’सेतो बाघ’ को नयाँ संस्करण मात्र हो जस्तो लाग्छ । जहाँ समय र पात्र त फरक छन्, थिम र प्लट दुरूस्तै ।

राणाभित्र शमशेर र जंग खलकरूपी विभाजन कांग्रेस(कम्युनिस्टमा पनि प्रस्टै देखिन्छ । प्रधानमन्त्रीका आकांक्षीहरू रोलक्रमवाला राणाजस्तै पालो ढुकेर बसेका छन् । अगाडिकोलाई छिर्के हानेर लडाउन पाए आफ्नो पालो पहिला आउला भनेर दाउ पनि हेर्दै छन् । यी नेताहरू सबै भाइखलकलाई भाग पु‍र्याउन सहमत देखिन्छन् । नयाँ पुस्ताका आकांक्षीका लागि सम्भावनाको ढोका बन्द छ । यत्रो संघर्षपछि प्राप्त गणतन्त्र र देशको भविष्य दाउमा राखेर नेताहरू राजनीतिको फोहोरी खेलमा मग्न छन् । त्यो पनि यस्तो बेला, जब सारा विश्व कोरोना महामारीसँग जुधिरहेको छ । यो घृणित खेलले क्षणिक लाभ भए पनि दीर्घकालीन हित गर्दैन भन्ने थाहा पाउन धेरै होइन, केही पुस्तक पढे पुग्छ ।

जिन्दगीको उत्तरार्धमा कालो वर्णका सोमप्रसाद ब्राह्मणलाई गोरो देख्ने र जंगलमा सेतो बाघ देख्ने जंगबहादुरको मानसिक नियति प्रजातन्त्रपछिका धेरै दिवंगत नेताहरूले भोगे होलान् । मर्नुअघि ब्रह्मनालमा पछुताउनुभन्दा जिउँदो हुँदै आफ्नो काम र कदमबाट इतिहास रच्ने मौका धेरैले गुमाए । आफू त गए, देशलाई झन् अन्धकारमा धकेलेर गए । नेताहरूले चाहने हो भने सही काम गरेर इतिहासको सुपात्र बन्ने मौका अझै छ नेपालमा । किनकि, हामीकहाँ प्रजातन्त, लोकतन्त्र, गणतन्त्र जे भने पनि जनताको तन्त्र संस्थागत हुन बाँकी छ । त्यो संस्थागत गराउने अभिभारा नेताहरूकै हो । हुन त नेपालमा धेरै ऐतिहासिक घटना लेखिएकै छैनन् । तर, जति छन्, त्यतिले अहिलेका राजनीतिक खेलाडीहरूको चरित्र र नियत बुझ्न केही मद्दत पक्कै पुग्छ । गत २०।३० वर्षमा प्रकाशित लेखरचना र किताबका पन्ना पल्टाउने हो भने पनि हामीले आफ्ना प्रधानमन्त्रीका आकांक्षीहरूको सकारात्मक र नकारात्मक चरित्र थाहा पाउन सक्छौं । यस क्रममा प्रकाशित राजनीतिकर्मी, कर्मचारी, सैनिक, प्रहरी, व्यापारीका आत्मकथा मात्र पढे पनि हाम्रा राजनीतिक पात्रका चरित्र चित्रण गर्न सहयोग हुन्छ । प्रहरीको स्केच आर्टिस्टले सुनेको भरमा बनाउने चोरको मुहारचित्र जस्तो । पूरा सफा नभए पनि चिन्नसम्म सकिने । बजारमा उपलब्ध पुस्तकमा बिपीको ’जेल जर्नल’, सुधीर शर्माको ’प्रयोगशाला’ देखि अवकाशप्राप्त सेना प्रमुख रुक्मांगद कटवाल, अवकाशप्राप्त प्रहरी प्रमुख अच्युतकृष्ण खरेलका आत्मकथा र हालै प्रकाशित दुर्गा सुवेदीको ’विमान विद्रोह’ र केआर खुम्बूको संस्मरणात्मक आत्मकथा ’छायाको लस्कर’ ले हाम्रा अहिलेका नेताको विगत र वर्तमान बुझ्न सहयोग पु‍र्याउँछ । अच्युतकृष्ण खरेलको आत्मकथा सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री तथा पुस्तक अध्येता हरि शर्माले भनेको म बारम्बार सम्झन्छु, ’म पुस्तक लेखियोस् र पढियोस् भन्ने सोचको मान्छे । इतिहासको कालखण्ड बाँचेका र भोगेकाले त झन् लेख्नुपर्छ भन्छु । आफ्नो कथा लेख्नु भनेको आफूले देखे(भोगेको कुरा आफ्नो दृष्टिकोणबाट बताउने हो । दृष्टिकोण सबैको एकै हुनुपर्छ भन्ने छैन । पोखराको महेन्द्रपुल बस्ने र नौडाँडा बस्नेले माछापुच्छ्रे हिमाल देखेजस्तै हो यो । महेन्द्रपुलबासीले माछापुच्छ्रेको एउटा मात्र चुचुरो देख्छ, नौडाँडाकाले दुइटा । उनीहरू दुवै गलत छैनन् । दुवैले देखेको हिमाल माछापुच्छ्रे नै हो । खाली उनीहरू उभिएको धरातल फरक हो ।’

माथि उल्लिखित पुस्तकमध्ये दुर्गा सुवेदीको ’विमान विद्रोह’ किन्न छुटेको रहेछ । लकडाउनमा पसल खुल्ने कुरै भएन । तर, पिर छैन, त्यो पुस्तक हालै ’थुप्रै डटकम’ ले इबुकमा उपलब्ध गराएको छ । त्यतै किनेँ, फोनमै पढेँ । मान्छेले जमानाअनुसार सुविधा उपभोग गर्न जान्नुपर्छ । जमाना कहाँ पुगिसक्यो, फेरि सम्झिन्छु हाम्रो प्रधानमन्त्रीको ’रोलक्रम’ मा भएका नेताहरू र कल्पना गर्छु उनीहरू आफ्नो कथा छाप्न लेटर प्रेसमा अक्षर कम्पोज गर्न कर्मी खोजिरहेको अवस्था । फेरि सोच्छु, मानिसको सोच समयअनुसार किन परिवर्तन हुँदैन ? फेरि सोच्छु, मानिसको सोच किन यति छिटो परिवर्तन हुन्छ ? क्रान्तिबाट उदाएका नेताहरूमा सत्तालिप्साको भूत चढेको देख्छु र नमज्जा मान्दै केआर खुम्बूको संस्मरण ’छायाको लस्कर’ मा उल्लिखित त्यस बेलाका भूमिगत क्रान्तिकारी नेताले कालीचरण नाम राखेर लेखेको कविता ’होसियार’ सम्झिन्छु ।

होसियार होऔं साथीहरू !

हाम्रो लामो बाटो

टेढोमेढो र अनकन्टार छ

सीधा र कुप्रा तिखा–तिखा काँडाहरूले भरिएको छ

उपद्रयाहा जंगली जनावरहरू

आफूलाई सारा जंगलभरको राजा सम्झन्छन्

होसियार !

कहीँ तिनीहरूले खान नपाऊन्

र थकाइले निराश बनाउन नपाओस्

प्यासै प्यास लामा–लामा मरुभूमिहरू पार गर्नुछ

हुरी, आँधी, बादल झरीहरूमा

अग्ला–अग्ला हिउँले पुरिएका चिप्ला डाँडाहरूलाई पार गर्नुछ

होसियारीसाथ कदम चलाउनुपर्छ

थकाइ भोकतिर्खा, डरत्रास र निराशाहरू

यस यात्राका दुश्मन हुन्

यिनीहरूले हरेक पलपलमा

खतराको घन्टी बजाइरहेछन् !

होसियार होऔं !

आफ्ना पदहरूलाई राम्ररी टेक्दै

विचलित नभई हजारौं कठिनाइका पहाडहरूलाई पार गर्नुछ

दृढ होऔंं

अन्तिम लक्ष्यसम्म पुग्न

होसियार होऔं! साथी हो!!

होसियार होऔं!!!

– कालीचरण, विराटनगर (१४–४–२०३०)

यो कविता ४७ वर्षपछि कवि कालीचरण उर्फ हालका हाम्रा प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओली र अहिले रोलक्रममा रहेका सबै नेतागणमा समर्पण गर्छु ।