विश्व प्रेस स्वतन्त्रता दिवस

पत्रकार महासंघद्वारा विशेष डिजिटल संवाद

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज विशेष डिजिटल संवाद कार्यक्रम गरेको छ । कार्यक्रका प्रमुख अतिथि एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन तथा अन्तर्रािष्ट्रय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गरे । “पत्रकारको मुख थुन्न सकिएला, आँखामा पट्टी बाँध्न सकिएला तर मस्तिस्कलाई थुन्न सकिँदैन,” शर्माले भने । उनले पत्रकारको पेसागत सुरक्षामा सुधार हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए । उनले लोकतन्त्रप्रति प्रतिप्रतिबद्ध सरकार प्रेससँग सहिष्णु हुन नसकेको बताए । उनले सञ्चारमाध्यमलाई टेवा दिनुपर्नेमा सरकारको नियत त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले जनाताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्नेमा राजनीतिक मुद्दालाई बढी प्राथमिकता दिएको बताए ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले हाल नेपालको पत्रकारिता क्षेत्रमा नितिगत असुरक्षा बढ्दै गएको बताए । उनले लोकतन्त्रपश्चात् पनि प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने विडम्बना रहेको बताए । उनले हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अझ पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा चुनौती थपिएको पनि बताए । नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पूर्वज तथा अग्रज पत्रकारको योगदालाई सम्झिने दिनका रुपमा रहेको बताए । उनले पत्रकारको पेसागत चुनौती र सरकारी ज्यादति बढेको भन्दै त्यसको निराकरणमा महासंघ र सञ्चारकर्मी केन्द्रित हुनुपर्ने धारणा राखे । त्यस्तै महासंका पूर्वअध्यक्ष शिव गाँउलेले नेपाली पत्रकारिता क्षेत्रमा कानुनी बन्देज र प्रेसप्रतिको असहिष्णु गरी दुई खाले चुनौती थपिएको बताए । त्यसका लागि सबै एकजुट भई लड्नुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारितामार्फत भएका अभिव्यक्तिलाई सरकारले नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको बताए । उनले पत्रकारितामा बहुलबादलाई स्थान दिँदै प्रेसलाई लाञ्छनाबाट मुक्त गर्नुपर्ने बताए । महासंघका महासचिव रमेश विष्टले महासंघले सार्वजनिक गरको प्रतिवेदनले पत्रकारिता क्षेत्रको सुरक्षामा सन्तोषको अवस्था नदेखिएको बताए ।