दक्षिणी सिमानाबाट अबैध रूपमा भारतीय नागरिकको प्रवेश रोकिएन
झापा । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण अहिले नेपाल ‘लकडाउन’ मा छ । लगडाउनको तेस्रो हप्ता चलिरहँदा पनि झापाका दक्षिणी सिमानाबाट अबैध रूपमा भारतीय नागरिकको प्रवेश रोकिएको छैन । नेपाल–भारत सीमा पनि बन्द गरिएको छ । भारततर्फ पनि ‘लकडाउन’ छ । नेपाल–भारत सरकारले नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीको उचित व्यवस्थापन गर्ने सहमति गरेका छन् । सीमा बन्द भएका कारण औपचारिक आवतजावत रोकिएको छ । तर, खुला सीमा भएको भारतबाट विभिन्न बहानामा अझै पनि भारतीय नागरिक नेपाल भित्रिइरहेका छन् । दक्षिण झापाका विभिन्न खुला सीमाबाट भारतीय नागरिक लुकेर नेपाल प्रवेश गर्ने गरेका छन् । खासगरी सीमा क्षेत्रमा नेपालतिर खेती गर्न भन्दै भारतीय प्रवेश गर्ने गरेका हुन् । दक्षिणी झापाका विभिन्न गाउँपालिका भित्र सयौं विगाह जमिन भारतीयले ठेक्का लिएर खे ितगनेृ गरेका कारण खेती हेर्ने बाहनामा नेपालतिर प्रवेश गर्ने क्रम नरोकिएको स्थानीय बताउने गर्दछन् । पूर्वमा मेचिनगरदेखि पश्चिममा गौरिगञ्जसम्मका सिमा क्षेत्रमा खेती गर्ने भन्दै भारतीय प्रवेशको क्रम रोकिएको छैन ।
गौरीगन्ज गाउँपालिका–१ स्थित महाभारा, झोडा लगायत दक्षिणी क्षेत्रमा मात्र दुई सय बिघा बढी नेपालतर्फको खेती भारतीयले गर्छन् । नेपाल प्रवेशमा रोक लगाइएको समयमा पनि उनीहरू ओहोरदोहोर गरिरहेको स्थानीयको भनाइ छ । मेची खोलाका कारण टापु जस्तै बनेको भारतको किसनगन्ज जिल्लाका जनता, पल्सा, डाकुपाडालगायत क्षेत्रका कृषक खेती गर्न नेपाल आउने गरेका हुन् । त्यहाँका करिब १५० परिवारले दुई सय बिघाभन्दा बढी नेपाली जमिनमा खेती गर्दै आएको गौरीगन्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
भारतीय सीमा सुरक्षा बल र नेपालका सशस्त्र प्रहरी बललाई झुक्याउँदै उनीहरू खेतमा काम गर्न दैनिक नेपाल आइरहेका छन् । ‘हामी त नेपालमै खेती गरेर र यहाँ उब्जाउ भएको बेचेर घर चलाउँदै छौँ, हाम्रो त खाने आधार अरू केही पनि छैन,’ लकडाउनको समयमा महाभाराको खेतमा भेटिएका किसनगन्ज पल्साका मन्सुर अलीले भने, ‘अहिले खेतीमा पानी हाल्ने वेला भएको छ । पानी र औषधि हाल्न पाइएन भने मकै मर्छ । एक सिजनमा पाँच लाख खर्च गरेको छ । मकै र्मयो भने त हामी पनि मरे हुन्छ ।’
अलीले नेपालतर्फ २० बिघा खेती गरेका छन् । नेपालीलाई ठेक्का बुझाएर उनले वर्षौँदेखि खेती गर्दै आएका छन् । यसरी नेपालतर्फ खेती गर्न आउनेहरू सुरक्षाकर्मी नभएको वेला राति तथा बिहानै आउने गरेका छन् । नेपाल–भारत सीमामा हलक्कै बढेको मकैबारीमा लुक्दै उनीहरू प्रवेश गर्छन् ।
‘खेती छ भन्दा एसएसबीले त खासै केही भन्दैन । तर, नेपालका प्रहरीले गाली गर्छन्,’ भारत गोलरी बस्तीकी पार्वती बस्कीले भनिन्, ‘आएर पानी र औषधि हाल्न पाइएन भने त मकै मरिहाल्छ । धेरैचोटि राति आएकी छु । कतिपटक मकैबारीबाट लुकेर पनि आएकी छु ।’ भारतीयले लगाएको नेपाली खेतीमा अहिले मकै हुर्किएका छन् । अहिले विषादी छर्कने र पानी लगाउने वेला हो ।
नेपालतर्फ खेती गर्न भारतीय नागरिक दैनिकजसो आइरहेका छन् । लुकेर तथा रातको समयमा भए पनि दैनिक एक सयको हाराहारीमा भारतीय नागरिक आउने गरेको स्थानीय बताउँछन् ।
‘खेतमा नआउनुको त विकल्पै छैन । कि त हामीलाई मार्दिनुर्पयो कि त खेतमा काम गर्न दिनुप¥यो । लुकेर भए पनि दिनमा एक सयजनाजति आउँछौँ । हुल बनाएरचाहिँ हिँड्दैनौँ,’ भारतबाट आएका रहमान मन्सुरले भने, ‘प्रहरीलाई भन्दा केही गर्दैनन् । तर, नेपालीले नै आउन दिँदैनन् । यहाँ नआओ, तिमीहरूको रोग सर्छ भन्दै गाली गर्छन् ।’
दैनिकजसो सयौँ भारतीय नागरिक आउने–जाने गरेपछि स्थानीय त्रसित छन् । सीमामा सुरक्षाकर्मीको कमी हुँदा भारतीयहरू आँखा छलेर आएको स्थानीयको भनाइ छ । दिउँसोभन्दा रातको समयमा आएर खेतमा काम गर्ने गरेको उनीहरू बताउँछन् । ‘उता (भारत) तिर कति धेरैलाई भेटेको छ रे ! सीमामा थोरै मात्र प्रहरी छन् । सधैँ भारतीय आउँछन् । कतै रोग त सर्ने हैन भन्ने डर छ,’ गौरीगन्ज–१ का ईश्वर माझी भन्छन्, ‘अहिलेसम्म भारतबाट आएका देख्यौँ भने हामी आफैले खेदाउँदै आएका छौँ ।’
गौरीगन्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले भर्खर मात्र महाभारामा बिओपी राखेका कारण सीमा सुरक्षामा सहज भएको बताए । उनले लकडाउनका समयमा भारतीयलाई छिर्न नदिएको दाबी गरे । तर, खेत–खेतमा भारतीय भेटिन्छन् । उनीहरू सुरक्षाकर्मीकै अगाडि काम गरिरहेका छन् । राजवंशीले मकैबारी नै मकैबारी भएकाले आँखा छलेर आएको हुन सक्ने बताए । ‘हामीले कडाइ गरेका छौँ । देख्ने गरी त आउन पाउँदैनन् ।’ उनले भने, ‘तर, आँखा छलेर आएका हुन सक्छन् । खेतमा आउनैपर्ने बाध्यता पनि छ । तर, हामीले देख्ने गरी आउन दिएका छैनौँ ।