झापाका बहु वर्षे आयोजना अलपत्र

भद्रपुर । विकास निर्माणमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा अघिल्लो सरकारका पालामा निर्माण सुरू भएका दर्जनौ बहु वर्षे आयोजना दुई वर्षयता अलपत्र परेका छन् ।

झापा सदरमुकाम दक्षिणको उन्नति प्रगतिमा महत्वपूर्ण भूमिका निभाउने सडक, सिञ्चाइ, सामुदायिक भवन खानेपानी आयोजना, विद्यालय भवन लगायतका दर्जनौं आयोजनाका लागि सरकारले पठाउनु पर्ने रकम दुई आर्थिक वर्षयता निकासा नगर्दा अलपत्र परेका हुन् ।

यस वर्ष पनि सरकारले अधिकाम्स आयोजनाका लागि वजेट नपठाएपछि काम सुरू भएका दर्जनबढी आयोजना कामविहिन भएर अलपत्रमै थन्किने भएका छन् । आर्थिक वर्षको सुरुवातमा बजेट नपठाएको सरकारले अब बन्दाबन्दीको बाधा देखाएर वजेट नपठाउने निश्चित भएपछि प्रगतिको चाहना राख्ने स्थानीयमा पीडाको भारी थपिएको छ ।

रकम पनि नपठाउने र स्थानीयका पीडा पनि नसुन्ने निरन्तरताका कारण नागरिकमा निरासा उत्पन्न हुन पुगेको छ । गएको निर्वाचनमा तत्कालिन संसद समेत रहेका काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ को विकासमा बेवास्ता गरेको हल्ला मच्चाएर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले बाजी मारे तर, निर्वाचित भएपछि लिङदेन अलपत्र आयोजना हेर्न समेत गएका छैनन् ।

सिटौला पराजित संसद भएकै कारण आफ्नो बोली बिकाउन सक्ने अवस्थामा छैनन् । जसको असर जनसरोकारका रूपमा रहेका आयोजनामा परिरहेको छ ।

यस्तै पीडामा परेका भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अलपत्र भवन हेरेर दशक यता पीडित बन्दै आइरहेका छन् । भारतीय दुतबासको आर्थिक सहयोगमा निर्माणाधीन झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको भवन रकम निकासा रोकिएको बाहानामा ठेकेदारले अलपत्र अवस्थामा छाडिदिएपछि विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य भएका थिए ।

 

३२ कोठे दुई तले विद्यालय भवन निर्माण अवधि सकिएको समयावधिमा निर्माण सुरू गरी अधुरो छाडेर एक वर्षदेखि निर्माण कम्पनीको ठेकेदार सम्पर्कविहीन बनेपछि अधुरो भवनमा जोखिम मोलेर विद्यालयमा पठनपाठन भइरहेको थियो ।

विद्यालय व्यवस्थापन समितिले नगर सरकारदेखि संघीय संसदसम्मलाई भवन निर्माण सम्पन्न गराउन निर्माण ठेकेदारलाई कानुनी दायरामा ल्याउन हार गुहार गरे पनि हालसम्म काम हुन सकेको छैन ।

सरकारी पक्षबाट आश्वासनका भारी वर्षे पनि काम सुचारू गराउने आँट नपाउँदा शिक्षक विद्यार्थी जोखिम मोलेर अधुरो भवनमा पठनपाठन गरिरहेका छन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीले १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट समेत बञ्चित हुनु परेको छ ।

 

भद्रपुर सरकारले बालमैत्री नगर घोषणाको तयारी गरिरहँदा आधारभूत अधिकार भित्र पर्ने विद्यालय भवनको अलपत्र अवस्थाले प्रश्न उठाइ रहेको छ । निर्धारित समय भन्दा ४ वर्ष बढी समयमा पनि भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । शुद्ध पिउने पानी र शुलभ शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको प्रवेशद्वारसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।

 

वि सं २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावसले नेपाल सरकारको मातहत रहेको पुर्वाधार विकास मन्त्रालय मार्फत चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

२०६७ सालमा ३ करोड ८६ लाखमा ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए । ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले पूरा काम नगरी अधुरो छाडेको कारण समस्या परेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले दुखेसो पोखे ।

 

तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरू भएको विद्यालय भवनको निर्माण कार्य दुइ वर्षयता ठप्प रहेको छ । ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि नव यौवनाहरूका लागि सुरक्षित प्रेम प्रणय स्थल बन्ने गरेको विद्यालय आसपासका स्थानीयको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अधुरो भवनमा अनुकूल वातावरण नहुँदा समस्या परेको विद्यार्थीको गुनासो छ । विद्यालयको कक्षा कोठाहरूमा झ्याल, ढोका र घेरावारासमेत छैन । कक्षा भित्र बसेपनि बाहिरको दृष्यले पढाइको ध्यान भङ्ग हुने गरेको उनीहरूको गुनासो रहने गरेको छ ।